Comments Add Comment

महाराजगञ्जस्थित जुवाखालबाट २५ पक्राउ, साढे २ करोड बढी बरामद

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल छ । त्यसपछि प्रहरीले आवश्यक तयारी गरी आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो ।

छापा मार्ने टोलीमा संलग्न प्रहरीहरु त्यतिबेला छक्क परे, जतिबेला जुवा खाल भनिएको ठाउँ मिनी क्यासिनो जस्तै थियो । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए ।

जुवाको खाल काठमाडौं महानगरपालिका वडानम्बर ३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा थियो । महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश लम्साल नेतृत्वको टोलीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । गौतमले २४ जना मानिसहरुलाई कोठामा राखेर मिनी क्यासिनो बनाई जुवा खेलाइरहेका थिए । त्यहाँबाट प्रहरीले जुवाको खालबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद भयो ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए । पक्राउ पर्नेहरुमा ‘क्यासिनो किङ’ भनिने गुण्डा नाइके बलराम सापकोटा ‘बले’लगायत छन् ।

*यसअघि प्रकाशित समाचारमा पक्राउ व्यक्तिको नाम अन्यथा पर्न गएकाले सच्चाइएको छ । स्रोतका कारण गलत सूचना सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छौं ।सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment