
९ कात्तिक, काठमाडौं । सरकारले तीन दिनमा दुई कलाकार पक्राउ गर्यो । मंगलबार दुर्गेश थापा र बिहीबार र्यापर भिटेन । उनीहरुमाथि सरकारको अभियोग थियो- संस्कृतिमाथि प्रहार गरेको । अश्लील गीत गाएको ।
दुर्गेशले तिहार गीत सार्वजनिक गरेको तीन महिनापछि सरकारलाई लाग्यो- यसले बितायो !
भिटेनले ७ जून २०१९ मै युट्युवमा गीत राखेका थिए- हामी यस्तै त हो नि ब्रो ! यो गीत एक करोड ९० लाख पटक हेरिसकिएको थियो । बिहीबार मात्र सरकारलाई लाग्यो- भिटेनका शब्दले त समाजलाई बित्यासै पार्यो ।
र्यापर भिटेनमाथि अश्लीलता फैलाएको मुद्दा लगाएर प्रहरीले हिरासतमा कोच्यो । सामाजिक सदभाव खल्बलाउने निर्क्यौल गर्यो र भिटेनलाई पक्राउ गर्यो । भलै उनी तारेख धाउने गरी शुक्रबार छुटेका छन् ।
भिटेन पक्राउँसँगै सिर्जनामाथिको बहसको आयतन बढ्दै गएको छ । एकथरीले भनेका छन्, शासकले सिर्जनाको ठेक्का लिने होइन । अर्कोथरीले भनेका छन्, समाजमा अश्लीलता फैलाउने जो कोहीलाई यसैगरी कानूनको दायरामा ल्याउनुपर्छ लगाउनुपर्छ, सरकारले राम्रो काम गरेको छ ।
प्रगतिशील साहित्यकार आहुतीको ट्वीट छ- भिटेनलाई मुद्दाको दुस्साहस या कलाकार दुर्गेश थापामाथिको अपमान- कला सिर्जना र कलाको कालसापेक्षताको छेउटुप्पो नबुझेका आदिम मानसिकताका शासकहरुको आत्मरतिमय प्रहसन मात्र हो । तिनीहरु अन्ततः हास्य पात्र बन्नेछन् । न्यायप्रेमीलाई निद्रा तोड्न यस काण्डले साउती भने गरेकै छ !
मार्क्सवादी साहित्यकार आहुतीमाथि अर्का साहित्यकार पूर्ण इन्फादा यस्तो प्रश्न तेर्स्याउँछन्- ‘दाइ त मार्क्सवाद बुझेको र त्यसैमा विश्वास गर्ने मात्र होइन व्याख्याता र ज्ञाता भनेर कहलिएको मान्छे । सामाजिक विकृति र अश्लील कुरा त मार्क्सवादले स्वीकार्दैन जस्तो लाग्थ्यो । कि नव मार्क्सवादले यस्तो विकृतिलाई पनि स्वीकार गर्छ दाइ ?’
आहुतीमाथि पूर्ण इन्फादाको थप प्रश्न छ, ‘तपाईँका परिवार र सन्तानलाई दुर्गेश र भिटेनका गीत सुन्न र हेर्न प्रोत्साहित गर्न सक्नुहुन्छ ? नत्र विरोधका लागि विरोधको संस्कृति त्याग्नुहोस् । विरोध गर्नुपर्ने ठाउँमा चाहिँ चुँसम्म गरेको सुनिँदैन त दाइ ? कतै एनजीओ र आईएनजीओको प्रभाव देखिन थालेको त होइन नि हजुरमा ?’
पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाउनु अनि दुर्गेश र भिटेनहरुलाई समाउनु ठीक हो कि छैन भन्ने बहस आफ्नै ठाउँमा छ । तर, त्यस्ता गीतमाथि सरकारले नियन्त्रण गर्नु ठीकै हो भनेर मान्ने हो भने अरु पनि अश्लील र सामाजिक सदभावविरोधी गीतहरु छन्, जसलाई सरकारले अहिलेसम्म छुट दिँदै आएको छ । के यी सबै गीतमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ ?
कस्ता गीत गाउने भन्नेबारे सरकारले खटन-पटन गर्ने हो भने अरु पनि त्यस्ता गीत र गायकहरु छन्, जसले समाजमा मनपरी ढंगले गीत गाइरहेका छन् ।
उदाहरणका लागि हेरौं त्यस्ता गीतहरु-
गोजीमा गाँठ भाको… पोइल जान पाम् !
सत्तासीन दलबाट राष्ट्रियसभा सदस्य कोमल वलीले तीजको पवित्र संस्कृतिलाई बिटुलो बनाउँदै भनेकी छिन्-
पोइला जान पाम
अहिलेको सालैमा
पोइला जान पाम ।
****
लाली जोवन सुम्पिएर आफै अघि सर्दा
मै सम्हाल्छु भन्ने एउटा निक्लिएन मर्द
मनमा आँट भाको, गोजीमा गाँठ भाको
यत्तिको मर्द भेटिएन कोई…
****
शीरमा लाउने शीरै फूल हातमा लाउने बाला
राम्रा केटा कोही छौ भने यो जोवन सम्हाल
कोमल वलीले तीजजस्तो हिन्दुको पवित्र पर्वमा डिस्कोमा नाचौँ भनेकी छिन् । डिस्कोमा पक्कै पनि दूध खाने प्रचलन छैन होला, रक्सी नै खाएर नाचिन्छ होला । के अब संस्कृतिको जगेर्नाका लागि गायकहरुलाई समाउँदै युट्युबबाट गीतहरु हटाउने हो भने गायिका एवं सांसदको तक्मा भिरेकी कोमल वलीको गीत युट्युबमा राखिरहन मिल्ला त सरकार ?
कुमार बस्नेतलाई के गर्ने ?
लोक गायक कुमार बस्नेत भिटेन भन्दा कम्ता छैनन् । कुमार बस्नेतले भिटेनलेभन्दा कडा दिएका छन् । भिटेनलाई समात्ने हो भने बस्नेतलाई त झन् छोड्नै मिल्दैन ।
के यो सरकारले कुमार बस्नेतका गीतहरु सुनेको छैन र ?
कलियुगको बेलैमा जोसमा हुन्न होस्
उनकै छोरी तरुनी हामीलाई केको दोष
नहेरौं नि हेरौं लाग्ने उनको लाली जोबन
राम्री केटी देख्दाखेरि नहेर्ने चैं को छन् ?
आमा चाहिँले आफ्नी छोरी सधैं सानी ठान्छिन्
छोरी भने जर्सी गाईको बाछी जस्ती भा’छिन् ।
जसले सक्छ उसले खान्छ बजारको काउली…
****
पल्लोघरे ठूले झ्यालढोका थुन्
आजकालका ठिटा उत्ताउला हुन्
धुरीमा चढेर कराउलान्
दिउसै छोरी हराउलान्
लैबरी लै लैबरी लै लै लै…
****
डल्ली मगर्नी हो सुन मयाँ
बोल्न मन लाग्दैन हो पीर पर्यासी
ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा
अहिले बद्री पंगेनी लोक दोहरी गीत प्रतिष्ठानका अध्यक्ष छन् । उनका गीतले पनि समाजलाई पक्कै विकृत बनाएको हुनुपर्छ । उनले ‘ससुरालीमा’ बोलको गीत सार्वजनिक गरेको दशक बढी भयो । त्यही गीतबाट बद्री पंगेनी र सिन्धु मल्ल नेपाली सांगीतिक आकाशमा स्थापित भएका थिए । तर, उनको गीतले त यस्तो पो भन्छ-
ससुराली गैरहन्थेँ दिनका दिन
साली माग्दा सासूले लखेटिन्
ससुरालीमा,
ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा
घरमा श्रीमती हुँदाहुँदै साली माग्ने गीत गाउने बद्री पंगेनीलाई चाँहि पक्राउ नगर्ने सरकार ? कानुनले एकभन्दा बढी बिहे गर्न नपाउने भनेको छ ।
ईश्वरलाई तँ भन्ने नारायण गोपालका गीत के गर्ने ?
स्वर्गीय नारायण गोपालको गीतमा पनि सेन्सर लगाउने हो कि ? नारायण गोपालले आफ्ना गीतहरुमा मदिरा सेवनलाई प्रोत्साहन गरेका छन् । ईश्वरलाई नै तँ भनेर सम्बोधन गरेका छन् ।
रहरै रहरमा पिएँ,
विवश भएर पिएँ
दुःखमा पिए, सुखमा पिएँ
पिउँदिन पिउँदैन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोटि्टन थालेछ …
****
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रोपेर तेस्तो कसरी लतारीस् ?
स्वर्गीय बुद्धिकृष्ण लामिछानेको ‘तिम्रो र मेरो मायाको डोरी बेरौं कि फनफनी’ गीतलाई पनि सेन्सर गर्नु पर्ला कि सरकार ! त्यस्तै विधान श्रेष्ठलाई पनि नपक्रिने पनि कुनै कारण छैन । वहुविवाहलाई नै यसरी ठट्टा गरेका छन् :
पालुङटारको गोरुले सल्यान टारको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो…
धर्मेन्द्र सेवानको गीतले त अझै समाजमा विग्रह नै ल्यायो होला । उनले गीतको अन्तरामा भनेका छन्
‘आफ्नो पोइलाई बासी मकै
नाठो पोइलाई रोटी…।’
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा ज्यू, ‘के यी गीत परिवारसँगै बसेर हेर्न सकिन्छ र ?
हेर्नुस् त प्रकाश सपुत र पि्रति आलेको ब्याटल- टू कस्तो छ :
प्रकाश : फेसन हेर्दा फुच्ची केटी, उमेरले चाहिँ आन्टी ।
आज सबले बजाउने हो, भेट भो साझा घण्टी
आयो तेरो सर…
प्रिति : सम्झिँदा नि लाग्छ राजै ए भूपू स्वामी राजै
हली राम्रो नहुनाले गैरी खेत त बाँझै
आयो तेरो मिस…
प्रकाश : थाहा छ मलाई मेरो हो कि तेरो थियो कारण
लाखौं कोसिस गर्दा पनि छैन गर्भधारण
प्रिति : न त दिनमा घर बस्थ्यो, न त राति जाग्थ्यो
छर्नेले बिउ नछरेसी फल कसरी लाग्थ्यो ?
नयाँ पुस्ताका पुस्ताका भिटेन, प्रकाशदेखि मेलवादेवीसम्मले समाज बिगार्ने गीत गाएका छन् भनेर समाउने हो भने राम थापाको ‘ठोक न मादल ठोक’देखि ‘कति बस्छौ माइतीकै कौसीमा’ सम्मलाई सेन्सर लगाउनुपर्ने हुन्छ ।
कविता गजल उस्तै छन्, स्ट्यान्डअप कमेडी… । के अब सरकारले यी सबको मुखमा बुझो लगाउने ? जसरी पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’लाई हटाइएको थियो, त्यसरी नै ठेगान लगाउने कि ? जीवन शर्माको गीतलाई फेरि किन बज्न दिने ? उनलाई पनि जेल हाल्ने कि ? उनले त ‘देशै जान थाल्यो टुक्रा-टुक्रा गरेर…’ भन्दै संघीयताविरोधी गीत गाएका छन् ।
हुँदाहुँदा नेकपा डबलकाे हैकममा अब सुन्दर र कुरूप एवं श्लील र अश्लील कला छुट्याउने,कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिस? पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई सिकार तुल्याए त पुलिस सरले! गाँठ्ठे,अाेली राज त पुलिस राजकाे पर्याय पाे हाे कि! यसै भन्दैछन् त गाेकुल धूप!
— Khagendra Sangroula (@belakoboli) October 25, 2019
देशमा गणतन्त्र आइसक्दा, दुई तिहाइ कम्युनिष्टको सरकार हुँदा पनि ‘अझै नि निरंकुश शासन ढल्या छैन है’ भन्ने बद्री पंगेनीको गीतलाई किन सेन्सर नलगाउने ?
अब रामेश-रायनहरुको गीतमा पनि अंकुश लगाउनुपर्छ सरकार ! समाज भत्काउनेहरुलाई कारवाही गरेर सभ्य समाजको निर्माण गर्ने सरकारको महान सुरुवातको विरुद्धमा यस्तो लेख्नेलाई फेरि के गर्ने ? आभाले यसरी ट्वीट गरेकी छिन् :
‘नाङ्लो ठट्याएर हात्ती तर्साउने सरकारको षड्यन्त्र बुझिनसक्नुको छ । भिटेन र दुर्गेशहरुको चिन्ता नगर अब हरेकले आफ्नो चिन्ता गर । ए गीत गाउनेहरु, कलम चलाउनेहरु, अभिनय गर्नेहरु, समाचार छाप्नेहरु, हरेक सृजनामा तल्लिन एक-एकहरु कतै यो निरंकुशता तिमीहरुलाई होसियार त भनिरहेको छैन ?’
खगेन्द्र संग्रौला अझ बढी मच्चिएका छन्, ‘हुँदाहुँदा नेकपा डबलको हैकममा अब सुन्दर र कुरुप एवं श्लील र अश्लील कला छुट्याउने, कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिस ? पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई सिकार तुल्याए त पुलिस सरले ! गाँठ्ठे ओली राज त पुलिस राजको पर्याय पो हो कि ! यसै भन्दैछन् त गोकुल धुप !’
राष्ट्रिय मानवअधिकार अयोगकी एक सदस्यले समेत उस्तै प्रतिक्रिया दिएकी छिन् । उनको ट्वीट छ, ‘गीत पनि सोधेर गाउनुपर्ने गायकले, लेखक वा रचनाकारहरुले अनुमति लिएर लेख्नुपर्ने । कसैलाई चित्त बुझ्दैन भने नसुने हुन्छ । तर, र्याप-र्याप नै हो । अभिव्यक्ति स्वतन्त्रता मजाकै भयो ।’
फेरि गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले किन यस्तो ट्वीट गरे होलान्, ‘डियर गभरमेन्ट ! देअर इज हियुज डिफरेन्स विट्वीन रेपर एण्ड र्यापर । प्लिज चेन्ज योर प्रायोरिटी । फ्री भिटेन ।’
अब तारादेवीका यस्ता गीतलाई बरु खुब प्रमोट गर्ने पो हो कि ?
तिम्रा पाउहरुमा म सधैं झुकिरहन्छु
तिमी उठाइरहुँ माया र आशिष थपिरहु
तिमी भरिरहुँ सिउँदो, म नुहिरहन्छु…।
प्रतिक्रिया 4