Comments Add Comment

प्रधानमन्त्री फर्किँदा उड्न ठीक्क परेको जहाज रोकियो, यात्रुको विरोध

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा पनि केहीबेर उडान अवतरण बन्द गरिएको छ । प्रधानमन्त्री ओली ७ कात्तिकमा अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो ।

आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा आन्तरिक टर्मिनलका हवाई यात्रुहरुसमेत मर्कामा परे । यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाए । स्थिति असामान्य भएपछि प्रहरी नै बोलाउनु परेको थियो ।

काठमाडौंबाट भद्रपुर उडान भर्न लागेको एसएचए ९४१ कलसाइनको विमानका यात्रुहरु भीभीआईपी उडानका कारण दुःख पाएको भन्दै ओर्लिएर विरोध जनाएका हुन् । यात्रुहरु विमानमा राखेर रनवेतर्फ जान लागेको विमानलाई रोकेर विमानस्थल प्रशासनले विमानको इन्जिन बन्द गराएपछि आफूहरुले बिरोध जनाएको एक यात्रुले बताए ।

‘घटना सामान्य’

यता विमानस्थल प्रशासनले भने ‘नोटाम’ जारी गरिएको समयमा भीभीआईपी उडानलाई असर नपरोस् भनेर केहीबेर विमान उड्न रोकिएको र घटना सामान्य भएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको फिर्ती सवारी क्रममा भीभीआईपी मुभमेन्ट प्रभावित नहोस् भनेर श्री एयरलाइन्सको विमान रोकिएको थियो । विमानस्थलले पहिल्यै नोटाम जारी गरिसकेको र घटना सामान्य भएको उनले बताए । ‘आफूहरुलाई रोकिएको भन्दै यात्रुहरुले असन्तुष्टि जनाएर विमानबाट ओर्लिएको मैले सुनेँ, थप बुझ्दै छु,’ तिवारीले भने ।

श्री एयरलाइन्सको हवाई जहाज उड्नका लागि ठीक्क थियो । यात्रुहरुलाई बोर्डिङ पास दिएर हवाई जहाजतर्फ पठाइयो । यात्रुहरु बसिसकेपछि पाइलटले इन्जिन पनि स्टार्ट गरे । तर, भीभीआईपीको आगमन भन्दै नउड्न निर्देशन आयो । त्यसपछि पाइलटले हवाई जहाजको इन्जिन बन्द गरे ।

कुर्दाकुर्दै हैरान भएका यात्रुहरु आक्रोशित भए । उनीहरु जहाज उडाउन विमानका कर्मचारीलाई आग्रह गर्थे, तर माथिको आदेश भन्दै कर्मचारीहरु धैर्य गर्न आग्रह गर्थे । यसैक्रममा हवाई जहाजका कर्मचारी र यात्रुहरुबीच तँ-तँ र म-म भयो ।

भीभीआईपीको उडानको बेला सुरक्षालाई कारण देखाउँदै आकाश नै बन्द गरिएको यो पहिलो घटना भने होइन । प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान गर्ने बेलामा पनि केहीबेर उडान-अवतरण रोकिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको बेलामा पनि पटक-पटक अन्य उडान-अवतरण रोकिएका छन् । यसबाट यात्रुहरु मर्कामा पर्दै आएका छन् ।

अन्य देशका सरकार वा राष्ट्रप्रमुख आगमनको बेला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द गरिन्छ । हालै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा र फर्किँदा करिब तीन घण्टासम्म उडान-अवतरण रोकिँदा यात्रुहरु मर्कामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment