Comments Add Comment

पूर्वराजाको चेतावनीः परिवर्तनकारी शक्तिलाई नै अप्ठ्यारो पर्नसक्छ

१२ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् ।

कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने बताए ।

‘जुनसुकै परिवर्तन हुँदा दुईटा महत्वपूर्ण कुरा हुुनुपर्छ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहले भने, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’

भाइटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरेका छन् ।

लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।

तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment