Comments Add Comment

विदेशबाट सुनचाँदी ल्याउँदै हुनुहुन्छ ? भन्सार फेरि बढ्यो है !

२६ कात्तिक, काठमाडौं । सरकारले विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढाएको छ । चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो ।

बैंकहरुले आयात गर्दा मात्र होइन, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा पनि अब बढी महसुल तिर्नुपर्ने छ । पछिल्लो समय सुन नेपालबाट अवैधरुपमा भारतर्फ जान थालेपछि भन्सार महसुल बढाउनु परेको अर्थ मन्त्रालयको भनाइ छ ।

विदेशबाट नेपाल फर्कने नेपालीले ५० ग्रामसम्म सुनका गहना महसुल नतिरी ल्याउन सक्नेछन् । त्यसभन्दा माथिको गहनामा महसुल तिर्नुपर्छ । सुन नै बोकेर आउनेहरुले भने कुनै पनि परिमाणमा भन्सार तिरेर मात्र ल्याउन सकिने प्रावधान आर्थिक ऐन, २०७६ ले गरेको छ । सरकारले यो ऐनलाई संशोधन गर्दै सुनको महसुल बढाएको हो ।

यस्तो छ बढेको महसुल

प्रावधान भन्सार महसुल रु. (पहिले) भन्सार महसुल रु. (अब)
सुन, पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय ७ हजार ५ सय
सुन ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय ८ हजार ५ सय
सुनका गहना, ५० ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय ८ हजार ५ सय
सुनका गहना, १ सय ५० ग्रामभन्दा बढी थप १ सय ग्राममा प्रति १० ग्राम ९ हजार रुपैयाा १० हजार

स्रोत : अर्थ मन्त्रालय

विदेशबाट नेपाल आउने यात्रुले १ सय ग्रामभन्दा बढी सुन र १ सय ५० भन्दा बढी सुनका गहना भन्सार तिरेर पनि साथमा ल्याउन पाउँदैनन् । तोकिएको परिमाण भन्दा बढी सुन र सुनका गहना बोकेर आएमा जफत हुन्छ ।

विदेशी यात्रुको हकमा आफ्नो साथमा ल्याउन पाउने ५० ग्रामसम्म सुनको गहना र १ सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी धरौटीमा समेत राख्न सकिने प्रावधान छ । उनीहरुले आफ्नो साथमा भएका सुनका गहना भन्सार विन्दुमा घोषणा गरी धरौटी राखेर लिन सक्छन् ।

सरकारले व्यापारिक प्रयोजनमा भित्रने सुनको भन्सार महसुल समेत बढाएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो सुनमा प्रतितोला १५ सयका दरले भन्सार महसुल बढाइएको हो । पहिले ५ हजार प्रतितोला रहेको भन्सार महसुल अब ६५ सय रुपैयाँ पुगेको छ । चाँदीमा भने यसअघि प्रतितोला ५६ रुपैयाँ रहेकोमा अब बढेर ७५ रुपैयाँ प्रतितोला भन्सार महसुल लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment