Comments Add Comment
राजपुर बम काण्ड :

‘आलमका मान्छेहरुले चार दिन बन्धक बनाए, बयान फेर्ने कागजमा सही गराए’

२५ कात्तिक, रौतहट । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्ध जिल्ला अदालत, रौतहटले थुनछेक बहस भइरहँदा मुद्दामा दुई जना साक्षी बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर अदालत पुगे ।

१२ वर्ष पहिले भएको विस्फोटमा मृत्यु भएका भनिएका ओसी खख्तरकी श्रीमती अमना खातुन पनि बयान फेर्न चाहेको निवेदनसहित शुक्रबार नै अदालत पुगेकी थिइन् । आफ्ना श्रीमान् ओसी अख्तरको विस्फोटबाट मृत्यु नभएको, वैदेशिक रोजगारीमा गएको र रोजगारीबाट नफर्किएको उनको दाबी थियो ।

उनलाई पाँच कठ्ठा जमिन र पाँख लाख दिएर होस्टाइल गराएको गाइगुइँ चलेपनि न त आलमको मानिसहरुले यसलाई स्वीकार गरेका छन् न अख्तर परिवारले ।

सोमबार फेरि बम विस्फोटका घाइते भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया मुसा चौक घर भएका गौरीशंकर चमारले आफू विस्फोटमा परेर नभइ २००१ मा  स्टोभ पड्किएर घाइते भएको भन्दै निवदेन लिएर पुगे ।

तर ढाँटे कुरा काटे मिल्दैन भने झै आलामलाई बचाउने प्रयास २४ घन्टा पनि टिकेन । होस्टाइल चाहेको निवेदन निवेदन लिएर अदालत पुगेका गौरी शंकरले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको बताएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोट भएको र मृतक तथा घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा रौतहट २ का सांसद मोहमद अफताव आलम पक्राउ परेका छन् । उनीविरुद्ध विस्फोटक पदार्थ, न्यानमुद्दा र ज्यानमार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।

यो पनि पढ्नुहोस बेला न कुबेला आलम जोगाउने खेला !

मुद्दामा भारत सीतामढीका गौरी शंकर चमारलाई घटनाको साक्षीका रुपमा प्रस्तुत गरिएको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम बिष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि तरंग सिर्जना भएको थियो ।

यद्यपि अनलाइनखबरसँग कुराकानी गर्दै गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीप राखेर लगेको र बन्धक बनाएर राखेको बताएका छन् ।

प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईँको नाम ?

गौरीशंकर राम

घर ?

सितामढी, विहार ।

के गर्न आउनु भएको ?

हिजो आएको थिएँ । नौसादले लिएर आएका हुन् ।

कसले लिएर आए ?

भारतमा दुई जनासँग थिए । त्यससपछि नौसादले यहाँ ल्याएर घरमा थुनेर राखे ।

कहाँ, कसको घरमा ?

मन्त्रीजीको घरमा । १२/१ बजेको समय थियो, मोटरसाइकल आयो र त्यसमा राखेर मलाई अदालतको गेटमा झारिदिए । डीएसपी सा’ब त्यही थिए, मैले मेरो अपहरण भएको सुनाएँ । मलाई गाडीमा राखेर एसपी कार्यालय लगियो ।

म बम विस्फोटमा घाइते भएकै होइन भनेर अदालतमा निवेदन दिएको होइन र ?

डरत्रारमा परेर हो ।

के भएको थियो ?

म घरमा थिए, गाडी लिएर चार जना आए । केही कुरा गर्नुछ भने । गाडीमा राखेर सिमर लगे । चार दिनसम्म बन्धक बनाए । केही कागजमा सही गराए । मेरो आधार कार्ड पनि लगे । सितामढीबाट केके कागज बनाएर ल्याए थाहा छैन, त्यसमा पनि हस्ताक्षर गराए ।

हिजो मलाई गाडीमा ल्याएर पटेलचोकमा छोडे । यताबाट गएका मोसाद आलमसहित तीन जनाले उनीहरुले ल्याए ।

उनीहरुले किन बन्धक बनाए ?

त्यो त मलाई थाहा छैन । तर हाम्रा मानिसलाई फसायौं । जति पैसा चाहिन्छ, दिन्छौं । उहाँलाई निकालिदेऊ भने ।

कति दिन्छु भने ?

उनीहरुले भने जति माग्छौं, त्यति दिन्छु ।

केही लेनदेन पनि भयो ?

मैले मागेको पनि छैन, एक पैसा दिएका पनि छैन । खानापानी दिन्थे र घरमा बन्द गरेर राख्थे ।

शरीरमा यो घाउ कसरी लाग्यो त ?

राजा इँटा भट्टामा काम गर्थेँ । पैसा लिन गएको थिएँ । केही दुरीमा थिएँ । बम पडि्कयो । मलाई लाग्यो ।

पैसा लिन कहाँ गएको ?

अफतावको घर बनाएको थियो । त्यहीँ गएको ।

कहिले जानु भएको ?

त्यही ११/१२ बर्ष पहिले ।

कहाँ थियो बम ?

राजपुर

यो घाउ त स्टोभ पडि्कएर लागेको भनेको होइन त ?

यो झुट हो । जब यहाँबाट उपचारका लागि सितामढी गएँ, बच्नका लागि स्टोभ पडि्कएको भनेर झुट बोलेँ । उनीहरुले अहिले त्यही भन भनेका छन् ।

अदालतमा पेश गरेको कागजचाहिँ के हो त ?

यो जबरजस्ती गराइएको कागज हो ।

नक्कली कागज ?

नक्कली कागज हो । नगरेको भए मलाई मार्न पनि त सक्थे नि ।

अहिले पुलिसको संरक्षणमा हुनुहुन्छ । त्यहाँ कुनै दबाव त दिइएको छैन नि ?

छैन । एकदम ठीक छ ।

यो पनि पढ्नुहोस इँटाभट्टा जलाएको भनिएका व्यक्ति वैदेशिक रोजगारीमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment