+
+
Shares

कुल पूजा भनेको के हो ? किन गर्नुपर्छ ?

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ वैशाख २८ गते १३:४२

कुलपूजा भन्ने शब्द हाम्रो सनातन परम्परामा प्रचलित धार्मिक कर्मकाण्डहरू मध्ये एक हो । कुल अर्थात् पुर्खा, वंश, वंशज, पितृहरू वा पूर्वजहरू प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत धार्मिक क्रिया नै कुल पूजा हो ।

हरेक कुल / वंशको कुलदेवता / देवी हुन्छन् जसले वंशको रक्षा गर्नुहुन्छ । कुल पूजा गर्दा ती देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ र यसले स्वास्थ्य, समृद्धि र कुलको कल्याण हुनेछ भन्ने जनविश्वास रहेको छ । “कुल पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य होइन, यो हाम्रा पूर्वजहरू प्रति कृतज्ञता, कुल संरक्षण र जीवन मूल्यहरू प्रति प्रतिबद्धता पनि हो ।”

कुलपूजा विशेष गरी वैशाख पूर्णिमा र मार्गशीर्ष धान्य पूर्णिमामा गर्ने गरिन्छ, धान्य पूर्णिमा धानबाली थन्क्याउने, नयाँ बाली विभिन्न परिकार बनाएर कुललाई चढाएर मात्र खान सुरु गरिने भएकाले धान्य पूर्णिमा भनिएको हो ।

वैशाख पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा, उभौलीपर्वको रूपमा विभिन्न जाति तथा समुदायले आ-आफ्नो परम्परा अनुसार मनाउने गर्दछन् । प्रायः वैशाख शुल्क पूर्णिमा अधिकांश समुदायले कुल पूजा गर्ने गर्दछन् । कतिपय जात / वंश र परम्परा अनुसार यो वार्षिक, अर्धवार्षिक वा परिवारको विशेष अवसरमा पनि गर्ने गरिन्छ।

परम्परागत रूपमा वैशाख शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आफ्ना पितृ, बाजेबज्यै, पुर्खाहरूको आत्माको शान्तिका लागि, आफ्नो वंशको निरन्तरता, समृद्धि र कल्याणको कामना गरि कुलपूजा, गोठधूप, देवाली आदि गर्ने चलन रहेको छ ।

सनातन मान्यता अनुसार प्रत्येक व्यक्तिले “पितृ ऋण” बोकिरहेको हुन्छ, जुन यस्ता पूजाहरूबाट तिर्ने विश्वास गरिन्छ । हामी आज जुन अस्तित्वमा छौँ भने त्यो हाम्रा पूर्वजहरूको कारणले नै हो र तिनीहरूलाई सम्झनु हाम्रो धर्म पनि हो ।

हरेक कुलको रक्षक देवी-देवता हुन्छन्, तिनको पूजा र आराधनाले वंशमा सुख, सुरक्षा, र समृद्धि आउँछ भन्ने मान्यता छ साथै पूजाबाट सन्ततिले आफ्नो संस्कार र कर्तव्यप्रति झुकाव साथै वंश, थर र परम्पराको संरक्षण हुन समेत टेवा पुर्याएको हुन्छ । अर्को कुरा सबै परिवार मिलेर एक ठाउँमा पूजा गर्दा आपसी सद्भाव र आत्मीयता समेत बढ्ने भएकाले सामाजिक दृष्टिले पनि उत्तिकै महत्त्व रहेको छ ।

कुलदेवता वा कुलदेवी आफ्नो थर, गोत्र, जात, समुदाय या परिवार विशेषका आआफ्ना फरक कुलदेवता हुन्छन् । कुनै परिवारमा भैरव, कुनैमा काली, विष्णु, व्यास, मष्ट, नारायण, शिव वा अन्य देवी-देवता कुलदेवता हुन्छन् । कुलदेवताको पूजा प्रायः घरको पूजा कोठा, कुनै रूख वा बारीमा रहेको कुल स्थानमा गर्ने गरिन्छ भने केही परिवारमा कुल देवताको मन्दिर वा निश्चित थान नै हुन्छ ।

सामान्यतया कुनै पनि कुलहरूको पूजा हुने ठाउँमा मूर्ति राख्ने गरिँदैन, त्यहाँ कुलको अदृष्य स्वरूपको मात्र पूजा गर्ने गरिन्छ । तसर्थ कुलदेवता वा कुलदेवीको कुन रुपमा पूज्ने भन्ने निश्चित नभएकै कारणले सबैले भिन्न भिन्न कुल मान्ने गरेको पाइन्छ ।

कुल पूजाको एकरूपता र निश्चित विधान छैन, त्यसैले आफ्नो परम्परा र ठाउँ अनुसार पूजाको विधि पनि फरक फरक रहेको छ । कसैले तान्त्रिक विधिबाट पूजा गर्छन् भने कसैले वैदिक विधिबाट पूजा गर्दछन् । वैदिक विधि शान्त र प्रायशः हिंसारहित हुन्छ भने तान्त्रिक विधिबाट पूजा गर्नेहरू केही भिन्न हुन्छन् । कोही पूजाको समयमा ‘शरीरमा कुल चढेर’ काम्ने समेत गर्दछन् ।

कुलको आशीर्वादले नौ वटा लक्षणले युक्त हुन्छ भनेर कुलदीपिकामा भनिएको छ-

“आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम् ।
निष्ठा वृत्तिस्तपो दानं नवधा कुललक्षणम् ॥”

नौवटा गुण वा लक्षणहरू जुन एक कुल (वंश, परिवार)लाई गरिमामय, सभ्य र आदर्श बनाउँछन्, पहिलो आचार (आचरण) – शिष्ट, मर्यादित र नैतिक व्यवहार । दोस्रो विनय (नम्रता) – अहंकाररहित, नम्र र सम्मानजनक स्वभाव। तेस्रो विद्या (ज्ञान)-शिक्षित र बौद्धिक चेतनायुक्त हुनु । चौथो प्रतिष्ठा (सन्मान) – समाजमा राम्रो प्रतिष्ठा र इज्जत हुनु ।

पाँचौँ तीर्थदर्शन (धार्मिक भ्रमण) – पवित्र स्थलहरूको दर्शन र धार्मिक आस्था । छैटौँ निष्ठा (समर्पण) – सत्य, धर्म र कर्तव्यप्रति अटल विश्वास। सातौँ वृत्ति (धार्मिक/नैतिक जीविका) – शुद्ध, नैतिक र मर्यादित जीवनयापनका साधन। आठौँ तप (संयम र साधना) – आत्मनियन्त्रण, साधना र आध्यात्मिक अभ्यास र नवौं दान (परहितमा अर्पण) – दया, उदारता र सहायताको भावना हो ।

यी लक्षणहरूले आफ्नो कुनै पनि कुल, व्यक्ति वा परिवारको सच्चा गौरव निर्माण गर्छन् भन्ने सन्देश यस श्लोकमा स्पष्ट छ । कुल घरान भनेको पनि यिनै नौवटा लक्षणहरूले युक्त हुनु हो । अस्तु ।।

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?