Comments Add Comment

त्रिपुरेश्वर मन्दिरमा चढाइयो १० पाथी चामलको भात

२६ कात्तिक, काठमाडौं । थापाथलीबाट दाहिनेपट्टि मोडिने बित्तिकै देखिन्छ सेतो रंग लगाएको हिरण्य नर नारायण मन्दिर । मन्दिर छिर्ने बाटोको छेवैमा थापाथली ट्राफिक प्रहरी । त्यही बाटो पछ्याउँदै जादाँ अगडि देखिन्छन् पुराना घरहरु ।

घरको छाना भत्किएको बीचमा एउटा मन्दिर वरिपरि फोहोरै फोहोरको थप्रो । राष्ट्रिय अपाङ्ग संघ रहेको भवनको पछाडिबाट एउटा बाटो भेट्टिन्छ । काठहरु कुहिएर त्यसै लथालिङ फालिएका छन् । लस्करै बनाइएका बेवारिसे टहरोमा रात विताउनका लागि ओछ्याउने लुगाहरु राखिएका देखिन्छन् ।

छेउमा टुकुचा खोला, जहाँबाट ह्वासै दुर्गन्ध आइरहने । स–सानो मन्दिर वरिपरि केही युवाहरु चुरोट तान्दै गफमा व्यस्त देखिन्थे । टुकुचा खोला तरेपछि सानो गल्ली छन् । टहरो अगाडि बागमती खोलाछेउ मै तरकारी खेती । बुइँगल भएका घरहरु । त्यही बाटो पछ्याउँदै जाँदा भेटिन्छ त्रिपुरेश्वर महादेवको मन्दिर । मन्दिर भुकम्पले भत्किएकाले बनाउने काम भइरहेको छ । फलामका पाइपहरु प्रयोग गरेर पुननिर्माणका लागि मन्दिरलाई बाहिरपट्टिबाट वरिपरि घेरिएका छन् । इँटा भने वरपर छरपस्ट छन् । केही कामदारहरु ढुंगा घोटिरहेका छन् । कोही भने काठको काममा व्यस्त छन् । कोही माटो मुछ्दैछन् त कोही गाह्रो लगाउँदैछन् ।

मन्दिरको मूल पुजारी भने आज अर्थात मगंलबार कात्तिक शुल्क पूर्णिमा भएकाले महादेवलाई मध्यान्हमा भात चढाउनका लागि पुजाको तयारी गरिरहेका थिए । अन्य पुजारीहरु केराको पात ल्याउँदै थिए त कोही पानी ल्याउँदै थिए ।

छेउमा ठूलो खड्कुलोभरी भात पाकिसकेको थियो । भातसँगै सबै थरीको तरकारी दाल, पिँडालु, आलु, मुला लस्करै राखिएको थियो । हरेक वर्ष पूर्णिमाको दिन यसरी नै मन्दिरका मूल पुजारीले महादेवलाई खड्कुलो भरीको भातसँगै विभिन्न थरीका तरकारी चढाउने गर्दो रहेछन् । अन्य मन्दिरमा बोका, हाँस, कुखुराको बली स्वरुप रगत भोग दिइन्छ भने यहाँ भात चढाइने प्रचलन रहेछ । वर्षमा एक पटक मात्रै यसरी १० पाथी चामलको भात पकाएर चढाउने गरिने मन्दिरका मुल पुजारी विश्वनाथ भट्टले बताए । अरु दिन सामान्य थोरै भात महादेवलाई चढाउने गरिएता पनि पूर्णिमाको दिन भने विशेष भएकाले १० पाथी नै पकाएर चढाउनु पर्ने उनले बताए ।
महादेव मन्दिरलाई १० पाथी चामलको भात चढाएको हेर्न केही स्थानीय जम्मा भएका थिए । पहिले पहिले महादेवलाई भात चढाएको हेर्न ठूलै भिड हुने पुजारीले बताए ।

महादेवलाई चढाएको भात केहीले प्रसादको रुपमा उक्त भात लिएर जाने पुजारीले बताए । प्रसाद स्वरुप ल्याएको भातलाई आफूले पकाएको भातमा मिसाएर खाने प्रचलन रहेको विश्वनाथले बताए । केहीले भने चढाएको भातलाई जाँड बनाउन लिएर जाने गरको उनले बताए । पछिल्लो समय यो प्रचलन हट्दै गएको उनले बताए ।

त्रिपुरेश्वर महादेवको मन्दिरमा हरेक वर्ष कात्तिक पुर्णिमाको दिन १० पाथी भात चढाउने गरिन्छ भने अन्य दिनमा थोरै मात्र भात पकाएर महादेवलाई चढाउने गरेको भट्टको भनाइ छ । अन्य मन्दिरमा फलफुल, नरिवल, बोका, हासँ परेवा लगायतको रगतको भोग दिने प्रचलन रहेपनि यहाँ भने भात चढाइने उनले बताए ।

वि.सं. १८०७ सालमा रणबहादुर शाहको मुत्यु पश्चात उनको सम्झनामा उनकी श्रीमती ललिता त्रिपुरा सुन्दरी शाहले वि.सं. १८१८ मा त्रिपुरेश्वर महादेव मन्दिर बनाउन लगाएकी थिइन् ।

यो चलन ललिता त्रिपुरा सुन्दरी शाहको पालादेखि भात चढाउने चलन चलेको भट्टले बताए ।
हरेक वर्ष कात्तिक पूर्णिमाको दिन महादेवको मन्दिरमा भात चढाउन लाग्ने खर्च भने गुठी संस्थानले बेहोर्ने गरेको छ । मन्दिरमा लाग्ने खर्च एकैपटक ठेकेदार मार्फत सामान खरिद गरेर दिइने गरेको मन्दिरका पुजारी भट्ट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment