Comments Add Comment

बेला न कुबेला आलम जोगाउने खेला !

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमसहित ११ जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दुई जना साक्षीले अभियुक्तको पक्ष लिने संकेत गरेका छन् । सोमबार आलमको थुनछेक बहस चलिरहेका बेला घट्नामा परेर घाइते भएका गौरीशंकर राम चमार आफ्नो बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर अदालत पुगे ।

भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया मुसा चौक घर भएका गौरीशंकर आलमविरुद्धको मुद्दाका जाहेरीकर्ता समेत हुन् ।

प्रहरीले शारीरिक तथा मानसिक यातना दिएर बयान लिएको र आफ्नो छातीका लागेका बमका छर्रा नभई भान्सामा काम गर्नेक्रममा स्टोभ पड्किएर घाइते भएको गौरीशंकरको जिकिर छ ।

यो मुद्दामा उनीसहित छ जना वादी छन् ।

२०६४ चैत २७ गते अफताब आलमका काकाको शेख इद्रिसको घरमा भएको विस्फोटमा घाइते भएपछि इट्टा भट्टामा हत्या भएको भनिएका मध्येका एक ओसी अख्तरकी श्रीमती अमना खातुन पनि बयान फेर्न चाहेको निवेदनसहित शुक्रबार नै अदालत पुगेकी थिइन् । खातुनले आफ्ना श्रीमान् ओसी अख्तरको विस्फोटबाट मृत्यु नभएको, वैदेशिक रोजगारीमा गएको र रोजगारीबाट नफर्किएको दाबी गरेकी छन् ।

अदालतले भने दुबै निवेदन दर्ता गरेन । कानूनका जानकारहरूका अनुसार यस्तो निवेदनको कानूनी हैसियत हुँदैन ।

जिल्ला अदालत रौतहटका एक अधिकारीकाअनुसार थुनछेकका बेला यस्तो निवेदन लिएर आउनु भनेको वैमौसीबाजा भने जस्तै हो । उनी भन्छन्, ‘साक्षीले अभियुक्तको प्रभावमा परेर पठाउने निवेदन वा अडियो रेकर्डले थुनछेक बहसमा केही अर्थ राख्दैन ।’

प्रमाण ऐन, २०३१ मा साक्षी परीक्षणको व्यवस्था छ । साक्षी परीक्षणका क्रममा साक्षीहरूलाई बोल्ने अवसर दिइन्छ । ऐनको दफा ४८ मा भनिएको छ, ‘प्रचलित नेपाल कानूनका अधिनमा रही अदालतले निर्धारित गरेको क्रम अनुसार साक्षी पेश गरिने र बाइनेछ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्ती पनि प्रमाण संकलन र बयानका क्रममा विधि र प्रक्रियाको पुरापुर पालना हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रमाणहरू विधिगत प्रक्रियाबाटै प्रवेश गराइन भने त्यसले कानूनी हैसियत प्राप्त गर्दैन ।’

मुद्दा प्रभावित पार्न आलम पक्षले गरेको बयान ‘फेराउने’ प्रयास कानूनी रुपमा भने कमजोर रहेको एक पूर्वमहान्यायाधीवक्ता भन्छन् । उनी भन्छन्, ‘थुनछेकका लागि अदालतमा पुगेको मिसिल नै पर्याप्त छ ।’

तर जसलाई मुद्दाको बलियो प्रमाणको रुपमा पेश गरिएको छ, उ आफैं होस्टाइल भएको अवस्थामा न्यायाधीशले कुनै पनि निर्णय गर्नुअघि एक पटक सोच्न बाध्य हुन्छन् ।

नजिर भन्छ–साक्षीलाई निर्णयको अधिकार छैन

जुनसुकै मुद्दामा साक्षी होस्टाइललाई अपराधीले आफू जोगिने हतियारको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ । तर कानूनले साक्षीको बयानलाई मात्रै अन्तिम सत्य मान्दैन । न साक्षीलाई दोषी वा निर्दोष घोषणा गर्ने अधिकार हुन्छ ।

साक्षीलाई आफूले देखे, सुने, बुझेको कुरा मात्रै बयान गर्ने अधिकार मात्रै भएको नजिर छ । सर्वोच्च अदालतको पूर्ण इजलाशले २०३३ सालमै यस्तो नजिर स्थापित गरिसकेको छ ।

‘साक्षीहरूले आफ्नै ईन्द्रीयले अथवा आँखा, कानले वा इसाराले देखे, सुने, बुझेको कुरामात्र भन्न पाउने हो’ तत्कालिन प्रधानन्यायाधीश रत्नबहादुर विष्ट र न्यायाधीश धनेन्द्रबहादुर सिंहको इजलाशको फैसलामा भनिएको छ, ‘वारदात गरेको हो होइन भनी इन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्ति गर्न पाउने कर्तव्य होइन ।’

आफैंविरुद्ध अमना खातुन

अमना खातुनको २०६५ बैशाख २८ गतेको बयानअनुसार उनका श्रीमान शेख अख्तरलाई शेख सेराजले जवरजस्ती मोटरसाइकलमा राखेर साँसद मोहमद अफताब आलमको काकाको घर (बम विस्फोट भएको घर)मा लिएर गएका थिए ।

बम विस्फोटनमा ओसी अख्तर लगायतका मानिसहरूको मृत्यु भएको र उनीहरूको शवलाई मोहमद अफताब आलमले ट्याक्टरमा हालेर इँट्टा भट्टामा लगेर जलाएको र शेख सेराजले मृतकको स्विटर दिएर पठाएको अमनाको बयानमा उल्लेख छ ।

अहिले आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको भन्ने निवेदन बोकेर हिँडेकी अमना खातुनले दुई वर्ष पहिले भने आफ्ना श्रीमानको मृत्युदर्ता प्रमाणपत्र माग गर्दै निवेदन दिएकी थिइन् । अमनाकै निवेदनको आधारमा २०७४ असोज १६ गते ओसी अख्तरको मृत्युदर्ताको प्रमाणपत्र बनेको थियो, जसमा मृत्यु भएको स्थान राजपुर फरदहवा वडा नम्बर ४ लेखिएको छ ।

वम विस्फोट भएको घर पनि राजपुर फरदहवा वडा नम्बर ४ नै हो । जबकी अमनाको घर साविक सरुअठा गाविस वडा नम्बर ९ मा पर्छ ।

आलमको बचाउ निवेदन बोकेर हिँडेका गौरीशंकर राम चमारले प्रहरीलाई दिएको बयान यस्तो छः

रामले सोमबार अदालतमा बुझाएको निवेदन

२०६४ चैत २७ गते बेलुकी अन्दाजी साढे ६ बजेको समयमा घट्नास्थल राजापुर फरदहवा शेख इद्रिशको गाई वस्तु बाँध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरू थिए । र सो गोठघरभित्र १५–१६ जना मानिसहरू बसेका कुरा गोठघरको ढोका खुल्ला भएको कारण देखेको हुँ ।

अचानक वम विस्फोट भई ठूलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरूले मेरो दुबै कान, घाँटी, छाती आदिमा गम्भिर चोट लागी रगत समेत बगेको, विस्फोटमा परी २–४ जना मानिसको मृत्यु भएको र धेरै जना मानिसहरू घाइते भई जोड जोडले रुँदै कराउँदै गरेको देखेको हुँ ।

सो बम विस्फोटनमा परी मेरो दुबै कान चुडिएको, घाँटी र छातीमा समेत बमको छर्रा लागी म घाइते भएकोमा, आफू बाँच्नका लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दुरीमा दक्षिण आईसकेपछि म पूर्ण रुपमा बेहोश भई जमिनमा लडेको ।

त्यसपश्चात १५–२० दिनपछि होसमा आउँदा भारत विहार राज्यको सितमढीस्थित सदर अस्पतालमा वेडमा भर्ना भएको रहेछु । पिसाब नलीमा, नाकमा र मलद्वार समेतमा पाइप लगाइएको र मेरो अनुहारको भागमा, घाँटीमा छाती समेतमा पट्टि बाँधेको अवस्थामा म रहेको थिएँ ।

म सँगै मेरी आमा मरनी देवी रहेकी थिइन् । मलाई यहाँ कोकसले उपचारका लागि ल्याएको भनी आमाले बच्चा रामको ससुरा रौतहट जिल्लाको जिगडीया बस्ने बद्री रामले ल्याएको हो भनी आमालाई सोध्दा मलाई बताउनु भएको थियो ।

सोही अस्पतालमा मसँगै इट्टा उद्योगमा काम गर्ने मेरै गाउँको अन्दाजी वर्ष ३०–३२ को नरेश राम, अन्दाजी वर्ष ४०–४२ को बिकाउ राम समेत सोही अस्पतालमा उपचार गरेको अवस्थामा देखेको हुँ । पछि निजहरूसँग बुझ्दा हामी पनि सोही बम विस्फोटनमा परी सख्त घाइते भएका हौं भनी बताएका थिए ।

तथ्य पत्ता लगाउने अवसर

अदालतले दर्ता नगरे पनि चर्चा ल्याइएको दुबै साक्षीको कथित निवेदनले घटनाको अनुसन्धानमा बल नै पुग्ने पीडितको पक्षमा बहस गरिरहेका एक वकिल बताउँछन् । उनका अनुसार यो निवेदनबाट थप प्रमाण खुल्ने आधार तय भएको छ ।

अमना खातुनले दाबी गरे जस्तै ओसी अख्तर वैदेशिक रोजगारीका गएका हुन् भने त्यो कुरा पत्ता लगाउन गाह्रो छैन । अख्तरको गएको भनिएको देश, लैजाने म्यानपावर कम्पनी वा एजेन्ट, राहदानी, भिसा, अध्यागमनको अभिलेख हेरेर त्यो कुरा सजिलै पत्ता लगाउन सकिन्छ ।

१२ वर्षपछि आफ्ना श्रीमान वैदेशिक रोजगारीमा गएको दाबी गरेकी अमनाले मृत्यु दर्ताको प्रमाणपत्र किन मागिन् त्यो पनि छानविनको विषय बन्ने ती वकिल बताउँछन् । उनी भन्छन्, ‘अनुसन्धान राम्ररी गर्ने हो भने साक्षी होस्टाइल गराउन आलमले केके अपराध गरे त्यो पनि खुल्नसक्छ ।’

गौरीशंकर रामले ढाँटेको हो कि होइन भन्ने कुरा उनलाई उपचारका लागि लिएर जाने बदी राम, सँगै उपचार गराएका नरेश राम, बिकाउ राम र सिढामढीका अस्पतालको अभिलेख हेर्दा प्रस्ट हुने देखिन्छ ।

कानूनअनुसार साक्षीलाई जवाफ नदिने अधिकार पनि छैन । ऐनको दफा ४७ मा भनिएको छ, ‘कुनै साक्षीले अदालतमा सोधिएको कुनै प्रश्नको जवाफ दिएमा सो जवाफले आफूलाई सजायको भागी बनाउन सक्छ भन्ने आधारमा यस्ते प्रश्नका जवाफ दिन इन्कार गर्न पाउने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment