+
+
Shares

जेनजी पुस्तामा लोकप्रिय ‘प्रिन्सेस ट्रिटमेन्ट’ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिन्सेस ट्रिटमेन्ट सामाजिक सञ्जालमा लोकप्रिय ट्रेन्ड हो, जसमा पुरुषले महिलालाई राजकुमारीझैँ विशेष व्यवहार गर्छन्।

सामाजिक सञ्जालमा अनेकन् कुराहरूको ट्रेन्ड आइरहन्छ । ती मध्येले ठूलो जनसंख्यालाई प्रभाव पार्छ । यसमध्ये कति केही बेरमै हराएर जान्छ । त्यस्तै ट्रेन्डहरूमध्ये हालै चर्चा रहेको ट्रेन्ड हो-प्रिन्सेस ट्रिटमेन्ट ।

यो प्रेम सम्बन्धसँग सम्बन्धित छ । जोडीहरूसँग सम्बन्धित छ ।

सामान्यतया: यो नाम महिलाहरूसँग सम्बन्धित छ । उनीहरूलाई सामान्य भन्दा बढी प्राथमिकता दिइनु, हेरचाह गर्नु प्रिन्सेस ट्रिटमेन्टको आधारभूत कुरा हुन् । खासमा यो एउटा रोमान्टिक सम्बन्धलाई बुझाउने शब्द हो । एउटा पक्षलाई अर्को पक्ष (खासमा पुरुषले महिलालाई)ले राजपरिवारको सदस्य जसरी व्यवहार गर्नु नै प्रिन्सेस ट्रिटमेन्ट हो ।

अर्को शब्दमा भन्नुपर्दा, पार्टनरले सम्बन्ध टिकाउन धेरै नै प्रयास गर्छ । योजनाहरू बनाउँछ । तिनलाई पूरा गर्छ । जोडीलाई फूल किन्दिन्छ । मन पर्ने कुराहरूलाई दिएर बारम्बार चकित पारिरहन्छ । उसको हरेक जसो काम गरिदिन्छ । भनौं, सोच्दै नसोचिने तरिकाहरू अपनाएर आफ्नो जोडीलाई प्रेम गरिरहेको छु भन्ने भान दिन्छ । सामान्य प्रेम सम्बन्धहरूमा भन्दा कयौं गुणा जोडीलाई ध्यान दिन्छ ।

यदि यी कुराहरू सम्बन्धमा हुन्छ भने त्यो नै प्रिन्सेस ट्रिटमेन्ट हो ।

प्रिन्सेस ट्रिटमेन्ट किन यति लोकप्रिय ?

परी कथाहरूमा जस्तै राजकुमारीलाई ध्यान दिइनुपर्छ भनेर वकालत गर्ने प्रिन्सेस ट्रिटमेन्ट सामाजिक सञ्जालमार्फत लोकप्रिय भइरहेको छ । ‘ब्रिजर्टन’, ‘द बकनियर्स’ र ‘द गिल्डेड एज’ जस्ता पुराना टिभी कार्यक्रमहरूमा धनीमानीहरूको प्रेम सम्बन्ध देखाइएको छ । त्यहाँ पार्टनरहरूले एकअर्कालाई भद्र व्यवहार गरेका छन् । जुन कुरा जेनजी पुस्ताको नजरमा पर्छ । उनीहरूले त्यसबारे अनेकन् पोस्टहरू सञ्जालमा हाल्न थाल्छन् । जसले गर्दा एक प्रकारको डेटिङ ट्रेन्ड जस्तो बनेको अवस्था छ ।

कतिपयले यसलाई ‘ओल्ड स्कुल रोमान्स’ पनि भनिरहेका छन् । यसको कारण भनेको यो धेरै अघिदेखि हुँदै आइरहेको कुरा भयो । तर त्यस्तै गर्दा जोडीहरूले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि एउटा ट्रेन्ड बनेको अवस्था छ ।

फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा यसबारे खोज्दा प्रशस्त पोस्ट भेटिन्छ । जहाँ महिलाहरूलाई राजकुमारीलाई जस्तै विशेष व्यवहार गरिएको छ । यसमा बिहानै ओछ्यानमा कफी ल्याइदिने, फूल दिने, रेस्टुराँको पैसा तिरिदिने, कारको ढोका खोलिदिने, हात समाउने, जुत्ताको तुना लगाइदिने जस्ता गतिविधिहरू पर्छन् ।

सम्भवत: त्यहीँ कुरा बिस्तारै फैलिँदै प्रिन्सेस ट्रिटमेन्ट ट्रेन्ड बनेको हो । तर यो जति लोकप्रिय हुँदै गइरहेको छ, यहाँ एक प्रकारको बहस/विवाद पनि सिर्जना भइरहेको छ ।

प्रिन्सेस ट्रिटमेन्टमा विवाद

कहिलेकाहीँ ट्रेन्डहरू ज्यादा नै बढी जाने पनि गर्छ । यो नितान्त व्यक्तिगत कुरा हो । कतिपय अवस्थामा ट्रेन्ड फलो गर्दा नराम्रा घटनाहरू पनि घटेका छन् । सोही कुरा प्रिन्सेस ट्रिटमेन्टसँग पनि जोडिएर आएको हो ।

पार्टनरलाई राजकुमारी जसरी ट्रिट गर्ने बहानामा केही जोडीहरू चरम सीमामा पुगेका छन् । जसले अन्तिममा गएर सम्बन्धलाई नराम्रो बनाइरहेको छ । फेरि सबै प्रकारका मान्छेलाई यही ट्रेन्ड मनपर्छ भन्ने पनि छैन । कतिपयलाई झ्याउ लाग्न सक्छ, तर उसको पार्टनरले भने ट्रेन्ड फलो गरौं भनेर दबाब पनि दिइरहेको हुन सक्छ । अथवा कतिपयले पार्टनरलाई नियन्त्रणको रूपमा प्रयोग गर्न यो ट्रेन्ड फलो गरिरहेका हुन सक्छन् ।

त्योसँगै कतिपयले सञ्जालमा देखाउन प्रिन्सेस ट्रिटमेन्ट गर्ने तर व्यवहारमा नराम्रो व्यवहार गर्ने खालमा पनि हुन सक्छन् । अथवा राजकुमारी जसरी व्यवहार गर्नु मात्र प्रेम हो भन्ने खालका प्रश्न पनि आउँछ ।

तर यति हुँदाहुँदै‌ हेल्थी प्रिन्सेस ट्रिटमेन्टको कुरा पनि आइरहेको छ । यसमा भने आफ्नो हैसियत अनुसार पार्टनरलाई ट्रिट गर्ने गरिन्छ । दुवैले एकअर्कालाई सम्मान गर्छन् । प्रिन्सेस ट्रिटमेन्टलाई केवल प्रेम हो भन्ने सोच र भौतिकवादभन्दा धेरै टाढा लैजान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?