+
+
Shares

कुकुरको काज किरिया, जब सन्तान जसरी हुर्काएको कुकुरको मृत्यु भयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसीपुर, मानपुरका शशीधर पौडेलले आफ्नै सन्तान जस्तै पालेको कुकुर रमीको मृत्युपछि ९ दिनसम्म विधिवत् काज किरिया गरेका छन्।
  • रमीलाई नहरमा खसेपछि तीन दिनपछि मात्र मृत अवस्थामा भेटिएको थियो र शशीधरले आफ्नो आमाबुबा गुमाएको भन्दा बढी पीडा भएको बताए।
  • श्रद्धाञ्जलि सभामा आसपासका कुकुरहरूलाई खीरलगायत खानेकुरा खुवाइएको र छिमेकी तथा आफन्तहरूले समवेदना व्यक्त गरेका थिए।

आफ्नै सन्तान जसरी पालेको कुकुरको मृत्यु भएपछि तुलसीपुर, मानपुरका शशीधर पौडेलले विधिवत् काज किरिया गरेका छन् ।

९ दिनसम्म किरिया बसेर कुकुरलाई उनले भावपूर्ण श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि सभामा आसपासका कुकुरहरूलाई खीरलगायत खानेकुरा खुवाए । समवेदना व्यत्त गर्न छिमेकी तथा आफन्तहरू भेला भए ।

कुकुरको मृत्युशोकमा किरिया बसेर यसरी श्रद्धाञ्जलि दिएको सम्भवत यो पहिलो घटना हो ।

घरमा पालिएको कुकुरप्रति किन यस्तो श्रद्धाभाव जाग्यो ? किन उसको मृत्युमा परिवारमा शोक छायो ? कथा मार्मिक छ ।

कुकुरको नाम हो, रमी । घरमा उनलाई रमी कान्छा भनी बोलाउने गरिन्थ्यो । घरमा ल्याउँदा ऊ ७ महिनाको थियो । जापानी स्पिट्ज जातको कुकुर शशीधर पौडेलले काठमाडौंबाट झिकाएका थिए । कुकुरलाई उनले आफ्नो सन्तान जसरी खुवाए, हुर्काए ।

कुकुर आज्ञाकारी र मायालु थियो, जे भने पनि मान्ने र बुझ्ने । शशीधर घरबाट कतै जान लागेमा आँखाभरी आँसु बनाउथ्यो । ‘म मासु ल्याइदिन्छु, बस्दै गर है भनेपछि चुप लागेर बस्थ्यो’ शशीधर सुनाउँछन्, ‘म जहाँ गएपनि पछ्याउन खोज्थ्यो ।’ राति घर फर्कंदा पाँच सय मिटर टाढै रमी उनलाई लिन आइपुग्थ्यो र मोटरसाइकलको पछाडि बस्थ्यो।

रमीलाई दिनमा एक पटक मोटरसाइकलमा राखेर २०–२५ मिनेट घुमाउनैपर्थ्यो । ‘कुनै दिन घुमाएन भने रिसाएर खानै नखाने, बोलाउँदा पनि नआउने’ शशीधर भन्छन्, ‘धेरै फकाइफुल्याइ गर्नुपर्थ्यो ।’

शशीधर कतै जाँदा उसले पछ्याउथ्यो र पर्खेर बसिरहन्थ्यो । घरमा मान्छे नभएको बेला उसैले रुँघेर बस्थ्यो । त्यस्तो बेला अपरिचित मान्छेलाई घरमा आउन दिँदैनथ्यो । खान, नुहाउन, घुम्न सबै मान्छेले जसरी बुझेर गर्थ्यो ।

केही दिनअघि शशीधर पिठो र तोरी लिन गएका थिए । रमीले उनलाई केही टाढासम्म पछ्याए । पछि शशीधर घरमा फर्कँदा रमी थिएन । उनीहरूले सबैतिर सोधीखोजी गरे । पछि थाहा भयो, रमी फर्कँने क्रममा नहर नजिकै अरु कुकुरले घेरा हालेर टोकेछन् । त्यही त्रममा रमी नहरमा खस्यो । नहर करिब एक किलोमिटर जति सुरुङजस्तै भएकाले त्यहाँ फसेपछि निस्कन गाह्रो थियो ।

शशीधरको परिवारले तीन दिनपछि मात्र रमीलाई भेट्यो, हिलोमा गाडिएको अवस्थामा । त्यसबेलासम्म रमी निष्प्राण भइसकेको थियो । ‘मलाई आफ्नो आमाबुबा गुमाएको भन्दा बढी पीडा भयो’ शशीधरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?