+
+
Shares

डिजिटल डिटक्स : लगातार मोबाइल फोन हेर्ने बानी कसरी छाड्ने ?  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिजिटल डिटक्सले मोबाइल फोन र सामाजिक सञ्जालबाट केही समय टाढा रहन प्रोत्साहन गर्छ जसले मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
  • विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या करीब ४ अर्ब ६० करोड छ र दैनिक औसत ६ घण्टा ४० मिनेट स्क्रिन हेर्ने गरिन्छ।
  • डिजिटल डिटक्स एपहरूले फोनको स्क्रिन समय नियन्त्रण गरी प्रयोगकर्तालाई फोनबाट टाढा रहन मद्दत गर्छन्, जस्तै \'फोरेस्ट\', \'अफटाइम\', र \'स्टे फ्रि\'।

तपाईंसँग मोबाइल फोन छ र खाली समय पनि छ । तर तपाईंले गोजीमा रहेको फोन निकालेर चलाइरहनुभएको छैन भने के होला ? सायद खाली समयमा फोन नचलाउने भन्ने कुरा अहिले कल्पना गर्नपनि गाह्रो हुने भैसकेको छ ।

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अनिवार्य हिस्सा बनिसकेको छ। हामी दैनिक रुपमा लामो समय स्मार्टफोन लगायतका डिजिटल उपकरणको स्क्रिन हेरेर बिताउँछौं ।

यसले  हाम्रो मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा असर पारिरहेको छ। के हो डिजिटल डिटक्स खाली समय पायो कि गोजीबाट फोन निकालेर स्क्रिनमा घोत्लिहाल्ने बानी अधिकांसको हुन्छ ।

त्यसैले खाली समयमा फोन नचलाएर के गरौँ ? भन्ने लाग्न सक्छ । तर यस्तो समय पाउनु एक प्रकारले सुनौलो मौका हो ।

त्यसैले आफ्नै  लागि केही समय निकाल्नुहोस्, ती अधूरा कामहरू पूरा गर्नुहोस् जुन तपाईंले लामो समयदेखि टार्दै आउनुभएको थियो ।

यसमा  पुस्तक पढ्नु, अधुरो चित्र बनाउनु वा परिवारसँग खुला मनले कुराकानी गर्नु जस्ता क्रियाकलाप पर्दछन् ।

तपाइँको यस्तै अभ्यासलाई नै वास्तवमा डिजिटल डिटक्स हो। डिजिटल डिटक्स भन्नाले मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जालजस्ता डिजिटल उपकरणहरूको प्रयोगमा समय-सीमा तोक्ने वा केही समयका लागि ती उपकरणहरूबाट पूर्ण रूपमा टाढा रहने अभ्यास हो। जसरी कहिलेकाहीं हाम्रो शरीरलाई विषमुक्त पार्न डिटक्स चाहिन्छ, ठीक त्यसरी नै दिमागलाई पनि डिजिटल विष बाट विश्राम दिन आवश्यक हुन्छ ।

 किन आवश्यक छ डिजिटल डिटक्स ?

आज हामी स्मार्टफोन वा स्क्रिनमा यति धेरै निर्भर भयौं कि हामीले आफन्त, साथीभाइ, प्रकृति र आफैंसँग बिताउने समय नै बिर्सिएका छौं ।

पारिवारिक मनोविज्ञ जसलीन गिलले बीबीसीसँग भनेकी छिन् – हामी एउटै घरमा रहँदा पनि एक–अर्कासँग टाढिएका छौं ।

मानिस सामाजिक प्राणी हो, तर हामी डिजिटल स्क्रिनमा गढेर एक्लो बन्दै गएका छौं । उनका अनुसार, यसले मानसिक समस्याहरू निम्त्याउने सम्भावना धेरै हुन्छ ।

एक्लोपन, तनाव, चिडचिडाहट र आत्म–सम्मानमा कमी आउने खतरा बढेको छ । यस्तो अवस्थामा डिजिटल डिटक्सको उद्देश्य त्यस्ता कुराहरूको महत्त्व पुन: बुझ्ने प्रयत्न गर्नु हो जसले मानव जीवन र समाजको विकासमा मूलभूत भूमिका खेलेका थिए ।

एक तथ्यांक अनुसार विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या करीब ४ अर्ब ६० करोड छ भने प्रयोगमा रहेका कूल मोबाइल फोन साढे ७ अर्ब २० करोड गोटा छन् ।

तीमध्ये ९० प्रतिशत स्मार्टफोन छन् । जबकि विश्वको जनसंख्या करीब ८ अर्ब २० करोड छ। अर्थात विश्वका ६० प्रतिशत मानिससँग मोबाइल फोन छ ।

त्यसैगरी अर्को एक अध्ययनले विश्वमा हरेक व्यक्तिले औसतमा दैनिक ६ घण्टा ४० मिनेट फोन लगायतका डिजिटल उपकरणको स्क्रिनमा हेरेर बिताउने गरेको देखाउँछ ।

बास्तवमा आजको समयमा डिजिटल उपकरणप्रतिको हाम्रो आशक्ति यतिधेरै बढेको छ कि त्यसबाट टाढा बस्नका लागि पनि विभिन्न एपहरु चाहिने अवस्था आएको छ ।

यही कारणले अहिले डिजिटल डिटक्स एपहरुको निकै चर्चा भइरहेको छ ।

के हुन् डिजिटल डिटक्स एप्स ?

डिजिटल डिटक्समा सहायता गर्नका लागि अहिले आईफोन र एन्ड्रोइड फोनहरूका लागि विभिन्न एपहरु उपलब्ध छन् ।

यी एपले प्रयोगकर्ताको फोनको स्क्रिन प्रयोगलाई र्ट्याक गर्छन् ।

अधिक प्रयोगको अवस्थामा त्यसमा अवरोध सिर्जना गर्छन् र प्रयोगकर्तालाई स्क्रिनबाट बाहिरिन बाध्य पार्दछन् ।  गुगल प्ले स्टोर मा रहेको एउटा डिजिटल डिटक्स एपमा भनिएको छ: फोनसँगको मित्रता घटाउनुहोस् ताकि आफूलाई अरु व्यक्ति तथा बाहिरी संसारसँग पुन: जोड्न सक्नुहोस् ।

अर्को एपमा भनिएको छ : के तपाईं सधैं फोनमा व्यस्त रहनुहुन्छ ? के तपाईं फोनको नेटवर्क नहुँदा तनावमा पर्नुहुन्छ ?

यदि हो भने, अब समय आएको छ– डिटक्सको । वास्तवमा यी डिजिटल डिटक्स एपले प्रयोगकर्तालाई केही समयका लागि फोन प्रयोग गर्न नदिने ‘फोकस मोड’ सिर्जना गर्छन् । प्रयोगकर्ताले आफ्नो तय समय  (१० मिनेटदेखि केही दिनसम्म)का लागि फोन ब्लक गर्न सकिन्छ ।

कति समयसम्म फोन बन्द राख्ने भन्ने कुरा आफैले तय गर्न सकिन्छ। त्यस अवधिमा तपाईंको फोनमा सोशल मिडिया, गेम तथा ध्यान तानिरहने अन्य एप्स बन्द रहनेछन् ।

तर आपतकालीन कलिङ सुविधा खुला रहन्छ । केही डिटक्स एपले त फोन कलको लागि पनि समयसीमा तय गर्न सक्ने सुविधा दिन्छन् ।

यी हुन् प्रमुख डिजिटल डिटक्स एप :

‘फोरेस्ट’

यो एपमा भर्चुअल बिरुवा रोपेर त्यसलाई बढाउन सकिन्छ । तपाइँले फोन नचलाएमा बिरुवा बढ्छ । तर धेरै फोन चलाउनुभयो भने त्यो बिरुवा मर्छ ।

अफटाइम

यो समय निर्धारित समय र सन्देशहरू ब्लक गर्दछ । प्रयोगकर्तालाई कल र नोटिफिकेशन नियन्त्रण सुविधा सहित अन्य भौतिक गतिविधिमा केन्द्रित गराउनका लागि उत्त्तम एप हो ।

स्टे फ्रि 

यसले स्क्रिन टाइम ट्र्‍याक गर्ने, दैनिक लक्ष्य सेट गर्नुका साथै रिमाइन्डरको सुविधा प्रदान गर्छ ।

ओपल

यो एपले फोकस सेसन मार्फत होमस्क्रिनबाट एपहरु हटाउँछ। यसका साथै नोटिफिकेशन रोक्ने र प्रगति रिपोर्ट दिने सुविधा पनि यसमा छ ।

यसका साथै स्पेस, फ्लीप्ड, वन सेकेन्ड, डिजिटल डिटक्स/क्लीयरस्पेस लगायतका एपहरु पनि तपाईंका लागि उपयोगी डिजिटल डिटक्स एप बन्न सक्दछन् ।

वास्तवमा डिजिटल डिटक्सको उद्देश्य आफ्नो फोन फाल्नु होइन, फोनको प्रयोगमा सन्तुलन ल्याउनु हो ।

बढिरहेको हाम्रो स्क्रीन टाइमले न त हाम्रा सम्बन्ध बलियो बनाउँछ, न त हामीलाई खुशी नै राख्दछ । त्यसैले नियमित रूपमा केही समयका लागि डिजिटल संसारबाट टाढा रही आफन्तसँग, आफैंसँग र प्रकृतिसँग पुन: जोडिनु आवश्यक छ ।

डिजिटल डिटक्स स–सानो तर गहन परिवर्तनहरू ल्याउने अभ्यास हो, जसले हामीलाई पुन: वास्तविक जीवनमा फर्काउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?