
१७, साउन, चितवन । चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ ।
नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ ।
परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादले ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछि ३६ महिनाभित्र नै सक्ने गरी काम अगाडि बढाइने बताए । ‘देशको रणनीतिक र अति नै महत्वपूर्ण परियोजना भएकोले यसको गतिमा अब कमी हुँदैन, शनिबारबाट नै फिल्डमा काम देख्नसक्नुहुन्छ’, परियोजना प्रमुख यादवले भने, ‘डीपीआर बनाउने, कागजी प्रक्रियाले समय लियो, अब सबै सकिएको छ काम फटाफट अगाडि बढ्छ, आईओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ । ’
यो परियोजनाको निर्माण भारतीय आयल निगमले गर्नेछ । कुल १५ अर्ब रकम मध्ये ५ अर्ब भारतीय आयल निगमको र १० अर्ब नेपाल आयल निगमले खर्च गर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो । पाइपलाइनका लागि ४ अर्ब २८ करोड ८० लाख र लोथरमा निर्माण हुने भण्डारगृहसहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड ८० लाखभन्दा बढि खर्च लाग्ने निगमले जनाएको छ ।
भारतसँग २०८० जेठ १८ मा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप र लोथरमा भण्डारगृहसहितको अत्याधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने सहमति भएको थियो । सोही समझदारीका आधारमा २०८१ असोज १७ गते नेपाल आयल निमग र भारतीय आयल निगमका बीचमा बिटुबी सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा भारतीय आयल नियमले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।
परियोजना प्रमुख यादवले पाइपलाइनदेखि डिपोसम्मको सबै काम भारतीय आयल निगम र उसका विज्ञहरुले गर्ने जानकारी दिए । आयल निमगले दिने १० अर्ब रकम पनि भारतीय आयल निगमलाई निर्माणका क्रममा विभिन्न फेजमा दिने सहमती भएको छ । लोथरमा बन्ने डिपो देश कै हालसम्मको सबैभन्दा ठूलो हुने निगमले जनाएको छ ।
लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसका लागि २३ विगाहा १२ कठ्ठा जग्गा निगमले खरिद गरेको थियो । आयल निगमको जग्गा खरिदको विषय निकै पेचिलोसमेत बनेको थियो । निगमले लोथरमा डिपो राख्न जग्गा खरिद गर्ने भएपछि निगमका केही ब्यक्तिहरुले नै विचौलिया खडा गरी स्थानीयसँग ८ लाख प्रति कठ्ठामा जग्गा खरिद गरी १६ लाख प्रतिकठ्ठामा निगमलाई बेचेका थिए ।
अझै ३ विगाहा जग्गा निगमको नाममा आउन बाँकी नै छ । सस्तो जग्गा बिचौलियासँग सेटिङ गरेर महँगोमा किनेको भनेर निगमको आलोचना भएपछि यो विषय अख्तियारसम्म पुगेको थियो । निमगले ६० करोड रकम २३ विगाहा जग्गाको मुअब्जामा खर्चिएको छ भने १० करोड रकम तिर्न बाँकी छ।
परियोजना प्रमुख यादवले जग्गाको विषय लगभग सल्टिएको बताए । ‘केही जग्गा लिन बाँकी छ, यहाँ जग्गा भएका तर विदेशमा रहेका कारणले पास हुन ढिलाइ भयो, सबै मिलिसकेको छ, चाँडै नै पास गरेर लिन्छौं’ परियोजना प्रमुख यादवले भने, ‘स्थानीयहरूका विषय र मुद्दा पनि सल्टिएका छन्, सबै जना खुसी हुनुहुन्छ ।’
कस्तो बन्छ परियोजना ?
लोथरमा अत्याधुनिक सुविधासहित पछिल्लो प्रविधीमा आधारित ग्रीन फिल्ड टर्मिनल बन्ने परियोजना प्रमुख यादवले बताए । टर्मिनल पूर्ण रुपमा स्वचालित प्रणालीबाट चल्ने हुने यादवको दावी छ । यादव कै नेतृत्वमा भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ मा (१५ महिना मै) सकिएको थियो ।
अब भने बाराको अमलेखगञ्जबाट पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै समानान्तर हुने गरी ६२ किलोमिटर लामो १०.७५ इन्चको पाइपलाइन बिछ्याइने छ । अहिले अमलेखगञ्जको पाइपमा टि सकेट जडान गरेर लोथरसम्म ल्याइने परियोजना प्रमुख यादवले बताए ।
पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताए । उनका अनुसार ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला पनि ३२ सय किलोलिटर इन्धन भण्डारण भैरहेको हुनेछ ।
पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिन्छ । पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की, डिजेलका लागि १५ हजार ५ सय किलोलिटर भण्डारण क्षमताका तीन वटा र मट्टितेलका लागि ८ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ ।

हवाई इन्धनका लागि ३ हजार ६ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्की निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा सबै गरेर ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक एउटै पाइपका कारण पेट्रोल, मटिट्टतेल तथा डिजेल र हवाई इन्धन पठाउँदा मिक्स हुन सक्ने पेट्रोलियम पदार्थ राख्नका लागि दुई वटा ट्रान्समिक्स टयाङ्की पनि बनाइने निमगले जनाएको छ ।
एउटाको क्षमता २ सय ५० किलोलिटर रहनेछ । यसैगरी ४ वटा भूमिगत टयाङ्की पनि निर्माण हुनेछन् । पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनका लागि ५०/५० किलोलिटर क्षमताका भूमिगत टयाङ्की बनाइने निगमले जनाएको छ ।
आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था हुने परियोजना प्रमुख यादवले बताए ।
पहिलोपटक हवाई इन्धन पाइपलाइनमा आउने
मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट अहिलेसम्म पेट्रोल, मटिट्टतेल र डिजेल ल्याउने गरिएको भए पनि हवाई इन्धन भने ट्यांकरबाट नै ल्याउने गरिएको छ । तर, यो पाइपलाइन विस्तार गरेपछि भने हवाई इन्धन पनि पाइपलाइनबाट आउने निगमले जनाएको छ ।
काठमाडौं बाहिर पहिलोपटक हवाई इन्धन पनि भण्डार गर्ने टयाङ्की लोथरमा रहने निगमले जनाएको छ । हवाई इन्धनका लागि ३ हजार ६ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्की निर्माण गरिने निगमले जनाएको छ । तिनमा १० हजार ८ सय किलोलिटर स्टोेरेज हुनेछ । देशका अन्य विमानस्थलमा लोथरबाट हवाई इन्धन लैजान सहज हुने विश्वास निगमले लिएको परियोजना प्रमुख यादवले बताए ।
के छन् फाइदा ?
पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने, लागत घट्ने आयल निगमले जनाएको छ । ‘काठमाडौंबाट एक ट्यांकर तेल ल्याउँदा ढुवानी खर्च मात्रै १ लाख ६० हजार हुन्छ तर अब लोथरबाट काठमाडौं लैजान परे त ५०/६० हजार मै हुन्छ’ परियोजना प्रमुख यादवले भने, ‘एकातिर सस्तो पर्न जाने भयो, अर्कोतिर ट्यांकरको पार्टसदेखि समय सबै वचत हुने भयो । लोथरबाट देशका अन्य भागमा लैजान पनि सहज हुने भयो ।’
सडकमा टयाङ्करहरुको चाप पनि कम हुने, टयाङ्करका पार्टसहरु चाँडै फेर्नुपर्ने अवस्थामा कमी हुनुनका साथै सडकमा दुर्घटना समेत कमी हुने विश्वास आयाल निगमले लिएको छ ।
लोथरमा परियोजना बन्दा स्थानीयलाई रोजगारी तथा आयआर्जनसमेत हुने निगमको भनाइ छ । परियोजना प्रमुख यादवले परियोजना सञ्चालन पछि स्थानीयलाई रोजगारीदेखि उत्पादनको उपभोगसम्म हुने र लोथर क्षेत्र गुल्जार हुने बताए ।
निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने उल्लेख गर्दै टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताए ।
उनले राप्तीको लोथर क्षेत्रको आर्थिक आयआर्जन र जीविकोपार्जनमा सहज हुने बताए ।
प्रतिक्रिया 4