
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका नेताहरूले उपमहासचिव जनार्दन शर्माले आन्तरिक असमझदारी बाहिर बोलेको भन्दै आत्मालोचना गर्नुपर्ने बताएका छन्।
- बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको र नेतृत्व बचाउनुपर्ने धारणा नेताहरूले राखेका छन्।
- शर्माले एमाले नेताहरूलाई लक्षित गर्दै अभिव्यक्ति दिएको र प्रचण्डलाई नभनेको भन्दै बचाउ गरेका छन्।
१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले उपमहासचिव शर्माले आन्तरिक असमझदारीका कुरा बाहिर बोल्दै हिँडेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका हुन् ।
शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित २५ जनाले धारणा राखेका छन् ।
जसमध्ये अधिकांशले उपमहासचिव शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत राखेका छन् । यसअघि उपमहासचिव शर्माकै पक्षमा मत राख्दै आएकाहरूले समेत यसपटक आलोचना गरेका स्रोतले अनलाइनखबरलाई बतायो ।
‘यसअघि जनार्दन शर्माकै पक्षका भनिएका स्थायी कमिटी सदस्यहरूले पनि उहाँको अभिव्यक्तिको आलोचना गर्नुभयो, पार्टीभित्रको आन्तरिक मनमुटावलाई बाहिरी फोरममा बोलेर गल्ती गरेको भनेर आत्मालोचना गर्नुपर्ने मत राख्नुभयो’, स्रोतले भन्यो ।
प्रतिगमन, प्रतिगामीविरुद्ध बोल्नुपर्ने बेला बाहिर नेतृत्वको आलोचना गर्दै हिँड्न नहुने भन्दै बैठकमा धारणा राख्ने पदाधिकारी र स्थायी कमिटी सदस्यहरू उपमहासचिव शर्मामाथि खनिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा साउन ६ गते काठमाडौंमा भएको एक कार्यक्रममा उपमहासचिव शर्माले नेपालका कम्युनिष्ट नेताहरूले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए । मनमोहन अधिकारीबाहेक नेपालका बाँकी कम्युनिष्ट नेताले असुली धन्दा चलाइरहेको भनेपछि पार्टी भित्रैबाट शर्माको आलोचना भइरहेको छ ।
स्रोतका अनुसार शुक्रबारको बैठकमा उपमहासचिव शर्माले आफूले एमालेका नेताहरूलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएको भन्दै बचाउ गरेका छन् । ‘मैले अध्यक्ष प्रचण्डलाई भनेको होइन, मैले त्यो कुरा एमालेका नेताहरूलाई लक्षित गर्दै भनेको हुँ’, उपमहासचिव शर्माको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने ।
यसअघिका बैठकमा प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका स्थायी कमिटी सदस्य खगराज भट्ट समेत जनार्दनको विपक्षमा उभिएका छन् ।
उनले नेतृत्वको विकल्प खोज्ने बेला नभएको भन्दै उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताए । ‘वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक रुपमा पनि प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन’, उनले भने ।
अर्का स्थायी कमिटी सदस्य विजय प्रकाश सैंजुले ‘प्रचण्ड नभएको भए यहाँसम्म आइपुगिन्थेन’ भन्दै नेतृत्वको बचाउ गरेका थिए । साथै, उनले नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्ड पनि अरू नेताजस्तै भनेकोप्रति आपत्ति जनाएका थिए । प्रचण्डलाई अन्य नेतासँग तुलना गर्न नहुने मत उनले राखेको बैठकमा सहभागी अर्का एक नेता बताउँछन् ।
स्थायी कमिटीका सदस्य गणेशमान पुनले उपमहासचिव शर्माले पार्टीबाट प्रशस्त अवसर पाउँदा पनि केही गर्न नसकेको आरोप लगाए । ‘उहाँले पार्टीबाटै यत्रो अवसर पाउनुभयो, अवसर पाउँदा के विचार निर्माण गर्नुभयो त ?’, पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अवसर पाउँदा आफूले केही नगर्ने अनि नेतृत्वले विकल्प दिनुपर्छ भन्ने ?’
स्थायी कमिटी सदस्य पूर्ण सुवेदीले उपमहासचिव शर्मालाई लक्षित गर्दै पार्टीभित्र सांगठनिक अराजकता बढेको टिप्पणी गरेकी थिइन् । ‘बाहिर अभिव्यक्ति दिँदा विधि मिचियो, सांगठिन अराजकता मच्चियो’, सुवेदीले भनिन् ।
शनिबारको बैठकमा बोलेका स्थायी कमिटी सदस्य कालीबहादुर खामले शुक्रबार अध्यक्ष प्रचण्डले राखेको ७ बुँदे प्रस्तावसहितको ब्रिफिङको पूर्ण समर्थन गरेका थिए । नेतृत्वको कार्यशैलीका बारेमा चित्त नबुझे पार्टीभित्र आन्तरिक बैठकहरूमा कुरा राख्नुपर्ने भन्दै उनले उपमहासचिव शर्माको आलोचना गरेका थिए ।
शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङ गर्दै भनेका थिए, ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं, बाहिर नलैजाऔं, सरकार बनाउने/भत्काउनेमा अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’
बैठकमा उपमहासचिव वर्षमान पुनले पनि असन्तुष्टि र असमझदारी भएका विषयमा पार्टीको आन्तरिक बैठकहरूमै आफ्ना मत राख्नुपर्नेमा जोड दिएका छन् । उनले आफूलाई चित्त नबुझेका विषयमा बाहिर बोल्दा विरोधीहरूले खेल्ने मौका पाउने बताए ।
शनिबार पदाधिकारीहरू गंगानाराण श्रेष्ठ, मात्रिका यादव, देवेन्द्र पौडेल, राम कार्कीले पनि बैठकमा आफ्नो धारणा राखेका थिए । सबैजसो नेताले नेतृत्वको विकल्प खोज्ने बेला नभएको भन्दै नेतृत्वको बचाउमा मत राखेपछि फरक मत राख्दै उपमहासचिव शर्मामाथि आन्तरिक दबाब बढेको छ ।
शनिबारको बैठकमा स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीले सुक्खाग्रस्त क्षेत्र घोषणा भएको मधेशका विषयमा कुरा उठाएका थिए । मधेशमा गहिरिएको जल संकटबारे पार्टीले सरोकारवाला पक्षसँग समन्वय गरी सहज बनाउने विषयमा सोच्नुपर्ने उनले बताएका थिए ।
माओवादीको स्थायी कमिटी आइतबारसम्म जारी रहनेछ ।
प्रतिक्रिया 4