Comments Add Comment

डा. केसीलाई अनसनस्थलबाट बोकेर अस्पताल लगियो

अनसनले तान्यो डडेलधुराबासीको ध्यान

२२ कात्तिक, डडेलधुरा। चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ ‍औं पटक अनशनमा  बसेका प्रा. डा.  गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो ।

डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।

पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि डडेल्धुरा अस्पतालमा सार्नुपरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

‘अहिलेसम्म त उहाँको अवस्था सामान्य नै छ’ डा कँडेलले भने ‘पाँच दिन भइसक्यो अनसन बस्नुभएको अब समस्या आउन सक्छ, त्यसैले सार्ने सोच बनाएका हौं ।’

आफूहरुसँग जनशक्ति पनि कम भएको र स्लाइन दिनुपर्ने अवस्थामा डा. केसी अनसन बसेको कोठामा अप्ठेरो हुने भएका कारण अस्पतालमा सजिलो हुने डा कँडेलले जानकारी दिए ।

अनसनले तान्यो डडेलधुराबासीको ध्यान

स्वास्थ्य क्षेत्रमा सुधारका लागि सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा जिल्लामा आइपुगेका डा. केसीको अभियानले स्थानीयको ध्यान तानेको छ । डा. केसीको अभियानमा समर्थन जनाउनेहरु, उनलाई सहयोग गर्नेहरु कोठामा आउँदा भावुक हुन्छन् र भन्छन् ‘डा सा’ब हामी तपाईका साथमा छौं ।

‘हामी डा केसीको साथमा छौं, उहाँका जायज मागहरुमा हाम्रो ऐक्यवद्धता रहेको छ’ स्थानीय रमेश जोशी भन्छन् ‘जनताको पक्षमा आन्दोलन गरिरहेका डा. केसीको माग सरकारले तुरुन्त सम्वोधन गर्नुपर्छ ।’

रमेश जोशीकै कुरामा सही थाप्छन् स्थानीय लवराज चटौत पनि ।

शुक्रबार पनि प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अनसनरत डा केसीको समर्थनमा शुक्रवार पनि जिल्ला सदरमुकाम डडेल्धुरामा प्रदर्शन भयो ।

“अघि बढ्नुहोस् डाक्टर साव, डडेल्धुराबासी तपाईको साथमा छन्” भन्ने नाराका साथ नागरिक समाज डडेल्धुराको अगुवाईमा जिल्लामा क्रियाशील विभिन्न आठ पेशागत संघसंगठनहरुले दबावमूलक प्रदर्शन गरेका छन् ।

बिहीबार मौन जुलुस प्रदर्शन गरेका ती संस्थाहरुले शुक्रबार भने केसीको समर्थनमा नारावाजी गरेका हुन् ।

स्थानीय बागबजारबाट सुरु भएको जुलुसले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको पत्रकार ललित बोहराले जानकारी दिए ।

डा. केसीका सातबुँदे मागहरु तत्काल सम्वोधन हुनुपर्ने, डडेल्धुरा मेडिकल कलेजका लागि तत्काल निर्णय गर्नुपर्ने, डा. केसीको जीवनको रक्षा गर्नुपर्ने र डडेल्धुरा जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको व्यवस्था गरिनुपर्ने माग ज्ञापन पत्रमा छन् ।

उक्त ज्ञापन पत्र आफूले सम्वन्धित निकायमा पठाउने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

भट्टको घरको त्यो दृश्य

डडेल्धुरा जिल्ला सदरमुकामसँगैको बजार तुफानडाँडामा अग्ला अग्ला घर, साँगुरा सडक, त्यसैमा यातायतका साधनहरुको बाक्लो उपस्थिति । सडकबाट उड्ने धुलो, यातायतका साधनले छोड्ने धुँवायुक्त सडकमध्ये एक हो तुफानडाँडाबाट डडेल्धुरा अस्पताल जाने सडक । सोही सडकमा अस्पतालको गेट नजिकै तीनतले एक घर । स्थानीयबासी तथा स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको त्यो निजी घरको तेस्रो तलाको एक सानो कोठामा डा. केसीले अनशन सुरु गरेका हुन् ।

लो बेड, पातलो ओछ्यान र फाइवरको सिरक । सिरकले छातीसम्म ढाकेर तकियाको सहाराले भित्तामा अडेस लाउदै पल्टिएका डा. केसी शुक्रबारदेखि पिठ्युँमा बोकिएर डा केसी अस्पतालमा सारिएका छन् ।

सेल्फी खिच्नेको घुइँचो

अस्पताल सारिनुअघिसम्म बेडको नजिकै सानो टी टेवलमा उनको स्वास्थ्य जाँचका लागि आवश्यक स्वास्थ्य उपकरणहरु राखिएका थिए । छेउको भुईमा अर्को एउटा ओछ्यान, जसमा उनका सहयोगीहरु सुत्थे ।

साँघुरो कोठामा असामान्य भिड देखिन्थ्यो । एक हुल जान्छ, अर्को हुल आउँछ । ढोकाबाटै ‘डाक्टर सा’ब नमस्कार’ को आवाज सुनिने । जवाफमा डा केसीले हात जोडेर नमस्कार गर्थे । तर, उनी केही बोल्थेनन् । उनको कोठा नजिकै प्रहरीको पहरा थियो । घर बाहिर समर्थकहरुको बाक्लै उपस्थिति देखिन्थ्यो ।

शुक्रबार दिउँसो डा. केसीको कोठामा एक साथ पाँचजना महिलाको समूह पस्यो । उक्त समूहले पनि भेट्न आउने अन्य व्यक्तिसरहै अभिवादन गर्दै समर्थनको प्रतिवद्धता जनायो ।

पाँचै महिला डा केसीको बेड नजिकै उभिए । तीमध्ये एकजनाले केसीका सहयोगी लवराज चटौतलाई आफ्नो मोवाईल सेट दिँदै फोटो खिचिदिन आग्रह गरिन् । चटौतले फोटो खिचे ।

पालैपालो त्यो समूहका सबै महिलाले आ–आफ्नो मोवाइलबाट फोटो खिचिदिन चटौतलाई आग्रह गरे ।

भेट्न आउने अधिकांशले डा केसीसँग फोटो खिच्ने गरेको बताउँछन् सहयोगी चटौत । उनले भने ‘फोटो खिच्ने रहर गर्छन्, कसैले सेल्फी खिच्छन्, कसैले खिचिदिन आग्रह गर्छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment