Comments Add Comment

उपसभामुख शिवमायाको शर्त : सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु

२५ कात्तिक, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद आफूले पाउनुपर्ने उनको शर्त छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ ।

तर नेकपाले संवैधािनक व्यवस्थाका कारण अब सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ । उसले सभामुख पद लिन चाहेको छ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउनुपर्छ ।

‘सभामुख चलाउनका लागि मसँग कुनै योग्यताको कमी छ र ? मलाई बाहिर राखेर अरु सभामुख बनाउने कुरा सायद आउने छैन ।’

उपसभामुख तुम्बाहम्फेले पनि सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाबारे आफू जानकार रहेको बताइन् । सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्–म निकास दिन तयार छु र सभामुख पद नेकपाले छाड्नु हुँदैन भन्नेमा पनि प्रष्ट छु ।’

तर अहिलेसम्म राजीनामा दिनुपर्छ भनेर (पार्टीका नेताहरु) कसैले पनि नभनेको भन्दै उनले भनिन्, ‘निकास दिनुअघि उहाँहरुले सभामुखमा मलाई अघि सार्नुहोला, त्यसपछि राजीनामा दिइहाल्छु नि ।’

उनले आफूलाई सभामुखमा निर्णय गरेपछि मात्र निकास दिने सन्देश पार्टी नेतृत्वलाई समेत पठाइसकेकी छन् । उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेतृत्वलाई आफू सभामुखको पहिलो हकदार भएकाले बचन नदिएसम्म निकास नदिने बताएएकी पछन् । उपसभामुख पद मन्त्री जस्तो हट् भन्दैमा हट्ने पद नभएको समेत उनले स्मरण गराएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मैले सभामुखमा दाबी गर्नै पर्दैन । स्वतः सबैले अड्कल गर्ने कुरा हो ।’

उपसभामुखबाट सभामुख बनेको नजिर स्थापित भइसकेको भन्दै उनले भनिन्, ‘सभामुख चलाउनका लागि मसँग कुनै योग्यताको कमी छ र ? मलाई बाहिर राखेर अरु सभामुख बनाउने कुरा सायद आउने छैन ।’

सत्तारुढ नेकपाले भने सभामुखमा कसलाई अघि सार्ने भन्ने निर्णय गरेको छैन । नेकपा महासचिव विष्णु पौडेलले पनि सभामुखबारे अहिलेसम्म पार्टीमा छलफल नै नभएको जानकारी दिए ।

सभामुखका लागि नेकपाबाट तुम्बाहम्फेसँगै देव गुरुङ, अग्नि सापकोटा, लेखराज भट्टलगायतका नेताले दाबी गरेका छन् । नेकपाभित्रको पूर्वमाओवादीहरुले महरा माओवादीकै कोटामा सभामुख बनेकाले अहिले पनि त्यो पद यो समूहबाटै हुनुपर्ने तर्क समेत अघि सारेका छन् ।

सभामुखको अभ्यास गर्दै डा.शिवमाया

यसैबीच उपसभामुख तुम्बाहम्फेले सभामुखले गर्ने विधेयक प्रमाणीकरणको काम गर्नका लागि परामर्श थालेकी छन् ।

सभामुख नभएको अवस्थामा सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्नका लागि उनले परामर्श थालेकी हुन् । विधेयक प्रमाणीकरणका सन्दर्भमा भने राजनीतिक दल र विज्ञहरुसँग परामर्श लिएरमात्र अघि बढ्ने उनले बताइन् । अघिल्लो संसद अधिवेशनबाट पारित भएका पाँचवटा विधेयकसभामुखबाट प्रमाणित नहुँदा राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउन सकिएको छैन ।

अघिल्लो संसद अधिवेशनको अन्तिम दिन पारित भएका भूमिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र, औद्योगिक व्यवस्थासम्बन्धी विधेयक र नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सन्चालनसम्बन्धी विधेयक प्रमाणित हुन बाँकी छ ।

संविधान, प्रतिनिधिसभा नियमावलीलगायत ऐन कानुन हेरेरमात्र विधेयक प्रमाणित गर्ने उपसभामुख तुम्बाहम्फेले बताइन् । सभामुख नभएको अवस्थामा उपसभामुखले नै सभामुखको काम गर्ने मान्यता रहे पनि कतिपय अभ्यास तथा नियममा प्रष्ट भएपछि मात्र अघि बढ्ने उनले बताइन् ।

सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने सभामुख नभएको अवस्थामा सभामुखले गर्ने काम गर्न उपसभामुखलाई संविधान र कानुनले नरोक्ने बताएका छन् । संसदको नियमित बैठकको शुरु र अन्त्य गर्ने अधिकार पनि उपसभामुखलाई रहेको उनले बताए ।

यसअघि राष्ट्रियसभाले उपाध्यक्षलाई पनि यो अधिकार दिने गरी नियमावली संशोधन गरिसकेको छ । उपसभामुख तम्बाहम्फेले पनि केह दिनअघि दलहरुबीच सहमति जुटाउन बैठक डाक्न खोजेकी थिइन्, तर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पछि गरौं भनेपछि बैठक हुन सकेन ।

विधेयक प्रमाणित गर्ने बाहेक अन्य काम भने उनले गर्दै आएकी छन् । उपसभामुखले संसदीय समितिका अधिकार क्षेत्रको विवाद समाधान गर्ने लगायतका भूमिका भने निभाइसकेकी छन् ।

यो पनि पढ्नुहोस उपसभामुखलाई राजीनामा गराउने तयारी, सभामुख चयन उपचुनावपछि मात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment