+
+

२०७७ को पात्रोबाट असोज महिना हटाउन माग

मन्त्रिपरिषदले निर्णय गर्‍यो, कार्यान्वयन भएन

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ कात्तिक २३ गते २१:४४

२३ कात्तिक, काठमाडौं । गोरखाका हरिनारायण मल्ल पेशाले अवकाशप्राप्त इञ्जिनियर हुन् । मल्लको वर्तमान पहिचानचाहिँ पर्व एवं पात्रो सुधार अभियन्ताका रुपमा स्थापित छ । सरकारले गठन गरेको ‘पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति’मा रहेर योगदान गरेका मल्लले वार्षिक क्यालेण्डरबाट एउटा महिना हटाउन लविङ गर्दै आएको धेरै वर्ष बितिसकेको छ ।

सरकारले पात्रो परिवर्तन नगरे पनि हरिनारायणले आफ्नो व्यवहारमा परिवर्तित पात्रो लागू गरेका छन् । उनी असोजमा दशैं मान्दैनन् । गोर्खास्थित मल्लको गाउँका छिमेकीहरुका अनुसार उनी भदौमै दशैं मनाउने गर्छन् । उनले आफ्ना गाउँलेहरुलाई पनि दशैं एक महिना सरिसकेको हुनाले अगाडि नै मनाउन सुझाव दिँदै आएका छन् ।

‘ईस्वी सम्वत मान्नेहरुले धेरै पहिले नै आफ्नो पात्रो सच्याइसकेका छन् । उनीहरु हरेक चार वर्षमा लिप इयर मनाउँछन् । भारतले पनि पात्रो सच्याएको छ, अब हामीले पनि सच्याउनुपर्छ,’ हरिनारायण भन्छन्, ‘कम्युनिष्टहरुले अक्टोबर क्रान्ति दिवस नोभेम्बर ७ मा मनाउन थालेको लेनिनकै पालादेखि हो ।’

आफूलाई पर्व सुधार अभियन्ता बताउने मल्लले यसो भन्दै गर्दा बिहीबार अर्थात नोभेम्बर ७ तारेखका दिन म्हेपीस्थित पारिजात स्मृति भवनमा ५३ जना प्रगतिशील लेखक-सर्जक भेला भएका थिए, जसले अक्टोबर क्रान्ति दिवस मनाए । लेनिनकै पालामा अंग्रेजी पात्रो परिवर्तन भएकाले अक्टोबर क्रान्ति दिवस नोभेम्बर ७ मा सरेको मल्ल बताउँछन् । र, नेपालले पनि यसैगरी आफ्ना चाडपर्वहरु एक महिना सार्नुपर्ने उनको तर्क छ ।

वि.सं. ०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ०६६ सालको चैत महिनालाई हटाई वि सं ०६७ वैशाख शुरु गर्ने निर्णय त्यतिबेला गरेको थियो

वाल्मिकी क्याम्पसमा ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार पृथ्वीको गतिका आधारमा हरेक ७२ वर्षमा एक दिन बराबरको समय तलमाथि हुन्छ ।अहिलेको पात्रोमा २४ दिन तलमाथि भइसकेको छ । अब हामीले पात्रोलाई एक महिना सार्‍यौं भने ५ सय वर्षसम्म परिवर्तन गरिरहनुपर्दैन ।

आगामी वर्षको असोज महिना हटाउन माग

पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २०७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् ।

पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२०७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २०८० सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ पात्रो बनाउने बेला नहुँदै यसबारे गम्भीर हुन जरुरी छ ।’

आगामी वर्षको पात्रोबाट एक महिना हटाएको खण्डमा आकाशीय पिण्डहरुको गतिसँग हामीले मनाउने पर्वहरु मिल्ने भएकाले आगामी वर्षको पात्रोबाट असोज महिना हटाउन र असोजमा पर्ने चाडहरु भदौमै मनाउन पर्वसुधार अभियन्ताहरुले माग गरेका हुन् । अधिकमासको एक महिना समायोजन नगर्दा सिङ्गो एक पूर्णिमा अघि सरेकाले यसमा सुधार गर्नुको विकल्प नरहेको उनीहरुको तर्क छ ।

मन्त्रिपरिषदले निर्णय गर्‍यो, तर कार्यान्वयन भएन

पर्व सुधार गर्ने एवं क्यालेण्डरमा परिवर्तन गर्नुपर्ने माग धेरै वर्ष पहिलेदेखि चल्दै आएको हो । लामो बहसपछि सरकार पनि यसमा सहमत भयो । वि.सं. ०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ०६६ सालको चैत महिनालाई हटाई वि सं ०६७ वैशाख शुरु गर्ने निर्णय त्यतिबेला गरेको थियो । ०६७ वैशाखमा पर्ने अधिकमासलाई साधारण सरह गरी चन्द्रमासअनुसार मनाइने पर्व एक महिना वर सार्ने मन्त्रिपरिषदको निर्णय पछि कार्यान्वयन हुन सकेन ।

त्यतिबेला संविधान निर्माण भएपछि मात्रै कार्यान्वयन गर्ने भनी बहाना बनाइयो । यसको पक्ष र विपक्षमा समेत बराबरी मत देखिएकाले सरकारले अहिलेसम्म पनि यसलाई परिवर्तन गर्ने आँट गरेको छैन ।

पात्रो सुधारको माग तीव्र रुपमा बढेपछि ०६४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एउटा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति नै गठन गर्‍यो । त्यो समितिले पर्व सुधारको सम्बन्धमा सरोकारवालाहरुसँग राय सुझावको मागसहित सूचना जारी गरेको थियो ।

सो सूचनाको आधारमा नेपाल पञ्चांग निर्णायक समितिसहित विभिन्न ११ वटा संस्थाले यसमा आशंका र समस्याहरु पहिचान गरी राय सुझाव पेश गरेका थिए । त्यो सुझाव पेश गरेपछि अहिले सरकारले पनि यस विषयमा केही पनि थप निर्णय गरेको छैन ।

त्यसो त भारत सरकारले पनि अंग्रेजी तारेखसँग पात्रो मिलाए पनि चन्द्रमास (तिथि)सँग मिलाउन सकेको छैन । सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि चली आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारेर सायन प्रणालीअनुसार राष्ट्रिय पञ्चांग सुधार गर्ने निर्णय गरेको थियो । सायन प्रणालीलाई मात्र आधार मानेर यो सुधार गर्दा धार्मिक गतिविधिमा प्रतिकूल असर गर्ने भन्दै अहिलेसम्म पनि स्थानीय स्तरबाट सरकारको निर्णय बमोजिमको नयाँ क्यालेण्डर लागू गरिएको छैन ।

तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ताहरु बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ताहरु तर्क गर्छन् ।

सुधारको आवश्यकता किन ?

अभियन्ताहरुले चन्द्रमासमा मलमास हुने गरेको जस्तै सौर्यमासमा पनि हरेक १ वर्षमा २० मिनेट हेरफेर हुने गरेको बताउँछन् । यही समयको अन्तर बढ्दै गएका कारण आकाशीय पिण्डहरुको आधारमा तय हुने मानिसको ग्रह र नक्षत्रसमेत सही नहुने भएकाले यसको सुधार आवश्यक रहेको अभियन्ताहरु बताउँछन् ।

विदेशी क्यालेण्डरमा पनि हरेक ४ वर्षमा एक दिन ‘लिभ-डे’ भनेर मनाउने गरिन्छ । नेपालमै तिथिमितिका लागि प्रयोग गरिने चन्द्रमास अनुसारको क्यालेण्डरमा पनि हरेक ३ वर्षमा एकपटक मलमास आउँछ ।

चन्द्रमास अनुसार ३५६ दिनमा एक वर्ष हुने गर्छ । सौरमास अनुसारको एक वर्षभन्दा ९ दिनअघि नै वर्ष सकिने भएकाले हरेक ३ वर्षमा एउटा अधिकमास हुन्छ । यसरी हरेक १ वर्षमा बढी हुने २० मिनेटलाई जोडेर राख्दा सौरमास अनुसार ७२ वर्षमा १ दिन हेरफेर हुन्छ । उनीहरुका अनुसार हामी अहिले वास्तविक मितिभन्दा २४ दिन ढिला छौं । आजको दिनलाई आधार मान्दा हामी अहिले मंसिरको १७ गते मनाउनुपर्नेमा कात्तिकको २३ गते मनाइरहेका छौं । यसको अर्थ १७२८ वर्ष पहिलेदेखि क्यालेण्डरको पुनर्मूल्यांकन गरेका छैनौं ।

तर, कतिपय ज्योतिष शास्त्रीहरुले भने २४ दिन ढिला हुँदैमा १ महिना नै किन गायब गराउने ? भनेर पनि यसमा आपत्ति जनाएका छन् । यस्तो उत्तरमा एक महिना हटाउन माग गर्ने अभियन्ताहरुले भने अधिकमास खेल्ने क्रममा १५ दिनसम्म तलमाथि हुने भएकाले ६ दिन ऋणात्मक हुँदैमा केही असर नपर्ने तर्क गर्छन् ।

के हो निरयण पद्दति र सायन सिद्धान्त ?

ज्योतिष शास्त्रमा ‘सायन’ र ‘निरयण’ गरी २ सिद्धान्तहरुको प्रयोग गरिन्छ । सायन सिद्धान्त अनुसार ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्डको एक वर्ष हुन्छ । त्यस्तै, निरयण पद्दति अनुसार ३६५ दिन ६ घण्टा ९ नौ मिनेट ९.७६ सेकेण्डको एक वर्ष हुन्छ ।

वैदिक कालपूर्व नै खगोल र ज्योतिषको विकास भएको मानिन्छ । हडप्पा सभ्यताको समयमा निरयण सिद्धान्तको प्रचलन थियो भने त्यसबाहेक अन्यत्र सायन पद्दतिको प्रचलन थियो । तर, सन् ५०० देखि ८०० सम्मको अवस्थामा भारतीय खगोलशास्त्री आर्यभट्ट र वराहमिहिरको समयमा सायन र निरयणको गणना समान गरिएको थियो ।

त्यो बेलामा निरयण पद्दति सूर्य सिद्धान्तमा आधारित थियो, जुन भारतले स्वीकारेको थियो । भारत बाहिर भने सायन पद्दतिको प्रचलन रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?