
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले विपक्षी दलको बहिष्कारबीच आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट फास्ट ट्र्याकबाट पारित गरेको छ।
- विपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा र नयाँ अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने बताएका थिए।
- मुख्यमन्त्री सतिशकुमार सिंहले योजना इन्ट्री गर्दा कम बजेट भएका योजना रेडबुकमा नल्याइने प्रक्रिया भएको उल्लेख गरे ।
३० असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले बजेट बहुमतले पारित गरेका हुन्।
फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो ।
बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ ।
आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए ।
विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए ।
त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिए पनि कसैले दर्ता गराएनन् ।
गत १ असारमा अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
सदनमा बजेट बारेको छलफलमा कतिपय सत्ताघटक सांसदहरू नै त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए ।
लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले बजेटको २९४ पाना गायब गरेर समर्थनको आधारमा सबै सांसदलाई गुलाम बनाएको टिप्पणी गरेका थिए ।
यस्तै कांग्रेसका सांसद वीरेन्द्र सिंहले विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरेको सरकार र सांसद ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने बनाएको बताएका थिए ।
‘पीएलएमआईबीएसमा योजना इन्ट्री गर्दा र हटाउँदा कम शून्य र कम बजेट भएका योजना विगतमामा रेडबुकमा ल्याइँदैन । यसपटक पनि त्यही भएको हो’ मुख्यमन्त्री सतिशकुमार सिंहले भने ।
प्रतिक्रिया 4