Comments Add Comment

भारतविरुद्धको प्रदर्शनमा मागियो प्रधानमन्त्रीको राजीनामा

२६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा  गरिएकाे विरोध प्रदर्शनमा सहभागीहरूले  ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।

गत शुक्रबारको प्रदर्शनमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरूको आक्रोश ओली नेतृत्वको सरकारप्रति बढी देखिन्थ्यो ।

जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन् । जसको यतिबेला तीव्र विरोध भइरहेको छ । राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment