Comments Add Comment

रामकुमार नेपाली : दोहोरी साँझदेखि लोक स्टारसम्म

गरीबीसँग जुध्दै सफलता चुमेका रामकुमार नेपालीको कथा

२२ कात्तिक, काठमाडौं । रामकुमार नेपाली रामेछापका हुन् । नेपाल लोक स्टारको मञ्चबाट एक पटक धौलागिरिमा प्रचलित लोकभाका यानीमाया गाए, जुन भाका धौलागिरिकै मानिसहरूले बिर्संदैछन् । रामकुमारको प्रस्तुतिपछि ‘गेस्ट जज’ गायक राजु परियारले प्रतिक्रिया दिए:

रामकुमार नेपालीको स्वर सुनें जब
मै मरी गए पनि चिन्ता छैन अब

लोक दोहोरीका लिजेण्ड्री राजु परियारले प्रदान गरेको यो खुसी रामकुमारले थेग्न सकेनन् ।

आँखाबाट अलिकति पोखाइदिए । ‘त्यति ठूलो सम्मान दिँदा म खुसीले भक्कानिएको थिएँ । त्यहीबेला नै लोक स्टार जितेजस्तो भान भएको थियो’, लोक स्टारको स्टुडियोको खुसी रामकुमारले अनलाइन खबरको स्टुडियोमा साट्दैछन्, ‘राजु दाइको बोली मेरालागि अमृत हो ।’

दशैँ आयो । रामकुमार घर गए । आफैंले गाएको यानीमाया सुन्दै टीका थापे । बस्ती डुले । उनकै यानीमाया बजिरहेको थियो । ‘सालैजो, टप्पा, देउडाजस्ता गीत रामेछापमा बज्दैनथे । बज्थ्यो त मात्र काठे भाका’, उनीभित्रको खुसीले शिखर उक्लदै थियो, ‘त्यस्तो ठाउँमा पनि यानीमाया भाका बजिरहेको सुन्दा आफैंमाथि गर्व लाग्यो ।’

यानीमाया मात्र होइन । रामकुमारले सोरठी गाए, देउडा, टप्पा, डुलाली, मारुनी, तमाङ सेलो केके गाए–गाए । लोपोन्मुख लोक लयले लोक स्टारको मञ्च गुञ्जाए । जजहरू धेरैपटक भक्कानिए । खुसीले बुरुक–बुरुक भए । एउटा गीत छ नि, ‘याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ… ।’

यति भए के चाहियो– रामकुमार झन् खुस ।

तिहार आयो । तर, सप्तरंगी तिहार रामकुमारका लागि फिक्का बन्यो । श्यामश्वेत । किनकि लोक स्टारको उत्कृष्ट चारमा पुगेका रामकुमार तिहारको ठीक चार दिनअघि चौथो बने । उनलाई थाहा थियो– सधैं खुसी मात्र आफ्नो भागमा पर्दैन । आँशु नभए मानिसले कसरी हासोको अनुभूति गर्न सक्छ ?

तर, तारान्तार रामकुमारको मोबाइलमा आइरहने प्रश्नवाचक फोन, जसले उनलाई अत्याउँथ्यो । एसएमएसहरू, जसले उनको घाउलाई कोट्याइरहन्थे । गाउँलेको त्यो निराश अनुहार, जसले तिहारमा रमाइलो गर्ने रामकुमारको रहरमा बिर्को लगाउँथ्यो ।

त्यसैले रामकमार यो तिहारमा भैलीमा गुञ्जियनन् । रामेछाप सधंै रामकुमारको भैलीको पर्खाइमा हुन्थ्यो । किनकि ०६६ मा रामेछाप लोक तारा नै उनको जीवनको टर्निङ प्वाइन्ट हो । त्यही समयबाट जिल्लाका रामकुमार रामेछापबासीको प्यारो बन्दै आए । ‘साथीहरूलाई भैली खेल्नुस् तपाईंहरू भनेँ । अहँ उहाँहरू पनि मान्नुभएन’, रामकुमारको अनुहारमा अझै खुसी फर्किसकेको छैन ।

यसकारण पनि खुसी फर्किएको छैन कि लोक स्टारपछि उनको थाप्लोलाई ऋणले किचेको छ ।

रामकुमारलाई लागेको थियो, युद्ध जित्न गएको सिपाही कि जितेर आउँछ, कि मरेर । कि वार, कि पार । तर, रामकुमारको वारले पार पाएन ।

रामकुमार थप्दैछन्, ‘जनताले दिने भोटले मात्र जित्न सम्भव रहेनछ । मैले पनि मेरो क्षमताभन्दा धेरै खर्च गरेँ ।’

तर, रामकुमारले जुन माया पाएका छन्, त्यो भने पैसाले किन्न सकिँदैन । ‘लोक स्टार हुनु नै ठूलो कुरा होइन । यहाँहरूले मन पराइदिनु नै ठूलो जीत हो’, रामकुमार आफैंलाई विश्वस्त पार्छन् ।

८ कात्तिक, शुक्रबार ।

साँझको नौ बजिसकेको थियो । लोक स्टारका निर्णायकले रिजल्ट सुनाउँदै थिए । रामकुमारका बाबाले पनि दर्शकदीर्घामा बसेर सुन्दै थिए । उनी बिष्टको कपडा सिलाउने कल बन्द गरेर शुक्रबार नै रामेछापबाट काठमाडौं झरेका थिए ।

परिणाम :

सेकेन्ड रनरअप– विनोद दनुवार ।

फस्ट रनरप– चेतन गोतामे ।

वीनर– शनी विश्वकर्मा ।

बाँकी रहे रामकुमार ।

परिणाम सार्वजनिकलगत्तै उत्कृष्ट चारलाई गाडीमा राखेर होटेल पुर्‍याइयो । तर, होटेल नपुग्दै रामकुमारलाई फोन आयो, ‘बाबा बेहोस हुनुभएको छ, वीर अस्पताल लैजाँदैछौँ ।’

रामकुमार हतार–हतार अस्पतालतर्फ सोझिए । रामकुमार भन्छन्, ‘उहाँमा उच्च रक्तचापको समस्या थियो । रिजल्ट आएको पाँच मिनेटमै रक्तचाप बढेर ढल्नुभएछ ।’

वीर अस्पतालको इमरजेन्सी वार्डमा आधा घण्टापछि बाबाको होस् खुल्दा, रामकुमार टुलुटुलु बाबालाई हेरेर बसिरहेका थिए ।

‘होस आउनेवित्तिकै अंगालो हालेर रुनुभयो, मैले सम्झाएँ– नआत्तिनुस्, छोरा छ । छोरालाई ऋण लागोस्, दिन नलागोस् भन्छन्’, त्यो क्षण आफूलाई सम्हालेर बाबालाई खुसी पार्नु त्यति सजिलो थिएन रामकुमारलाई ।

र, पनि उनले सम्हाले । रामकुमार अप्ठ्याराका अजङ्ग पहाडहरू उक्लेर नै यहाँसम्म आइपुगेका हुन् । ०६१ सालमा चप्पल लगाएर काठमाडौं पस्दा क्यासेटको कभरमा एउटा फोटो छाप्ने सपनाबाहेक अरु के नै थियो र रामकुमारसँग !

०००

अहिलेजस्तै उहिले पनि रामकुमारको परिवारको आम्दानीको स्रोत बालीघरे नै थियो । रामकुमारलाई चामलको भात खानका लागि कि चाड आउनुपर्थ्यो कि पाहुना, कि त श्राद्ध नै कुर्नुपर्थ्यो । जुत्ता त परको कुरा, उनले नयाँ कपडा पनि कहिल्यै लगाउन पाएनन् । ‘बुवाले अरुका घरमा पुगेर नयाँ कपडा सिलाउनुहुन्थ्यो । मसँगै पढ्ने साथीको दाइका कपडा छोटो भइसकेपछि त्यही कपडा लगाउँथेँ’, आफ्नो धरातल बिर्संदैनन् रामकुमार ।

र, पनि उनले पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । मन्थलीमा छात्रवृत्ति पनि पाए । तर, उनीभित्र भएको गायकको भूतले हुत्याएर काठमाडौं ल्याइपुर्‍यायो ।

क्षेत्रीय लोक दोहोरी ०५६ मा दोस्रो भएपछि झन् उनमा गायनको काउकुती उग्र थियो । र, पैसा तिरेर ललितकला क्याम्पसमा संगीत विषय पढ्न थाले । रामकुमारको यो निर्णयप्रति आमा–बाबा कत्ति पनि खुसी थिएनन् ।

काठमाडौं छिरेपछि ६ महिना त रामकुमार आफन्तकोमा बसे । कति बस्नु आफन्तकोमा पनि ! आफ्नो पनि केही व्यवस्था गर्नुपर्‍याे नि होइन ! डेरा लिए । त्यसपछि शुरु भयो उनको कठिन सफर ।

उनले काम थाले– ज्यामी । दिनको एक सय रुपैयाँ पारिश्रमिक । केही समयपछि दोहोरीमा पनि काम शुरु गरे । त्यो पनि विनापारिश्रमिक, विना टिप्स ।

‘विहान उठेर ९ बजेसम्म क्याम्पस पढ्थेँ । १०–५ घर भत्काउने काम गर्थें । अनि राति १२ बजेसम्म दोहोरीमा हुन्थेँँ’, रामकुमार चोर औँला हल्लाउँछन्, ‘दुब्लाएर यस्तै भैसकेको थिएँ ।’

र, पनि उनको खल्तीमा पैसा हुँदैनथ्यो । कोठाभाडा कसरी दिने ? कोठामा खानेकुरा छैन, के खाने ? ‘ज्यामी गर्दा हात पटपटी फुटेका हुन्थे । थुप्रै रात काँप्दै दरबारमार्गका गल्लीमा काटेको छु’, अहिले जिन्स पाइन्ट, लेदरको ज्याकेट, सावरको जुत्ता लगाएर टु–ट्वान्टी पल्सर चढेर अनलाइनखबरको स्टुडियोमा आएका रामकुमार भन्दैछन्, ‘जुत्ता त मैले काठमाडौं आएको धेरैपछि मात्र लगाएको हुँ ।’

भोको पेट र सपनाले डोर्‍याएर कहाँ–कहाँ पुर्‍याउँछ मान्छे स्वयंलाई थाहा हुँदैन । रामकुमारलाई त्यही भोको पेटले डोर्‍याएर ठमेलका बार, क्लबहरूको गार्ड पनि बनायो ।

उनीमा गाउनेमात्र नभएर नाच्ने पनि सोख थियो । केही समयपछि रामकुमार गार्ड बसेकै बारमा डान्सर बने ।

रक्सीमा लठ्ठीएकाहरूले खिसिट्युरी गर्थे, ‘ओहो ! पाले पनि डान्सर भएछ ।’ उनले थुप्रै अपमानहरू चुपचाप घुटुघुटु निले । उनलाई सफल गायक बन्नु थियो ।

‘म सेक्युरिटी गर्थें, त्यो गायक बन्नका लागि थियो । डान्सर बन्नका लागि थिएन । ज्यामी गरेँ, होटेलमा भाडा माझेँ । यी सबै गायक बन्नका लागि थियो’, रामकुमारको आत्मविश्वास बोल्यो, ‘यस्तो लाग्छ मानिस आफ्नो सपनाका लागि हर कुरा सहन तयार हुन्छ ।’

आठ महिना ज्यामी गरेपछि रामकुमारले एउटा गीत ५० हजार रुपैयाँ खर्च गरेर रेकर्ड गरे । ज्यामी गरेर जम्मा गरेको र सहकर्मीबाट संकलन गरेको रकम थियो त्यो । त्यो पैसा थियो कि रामकुमारको पसिना ! जे होस्, रामकुमारले आफ्नो पहिलो गीत गायरै सुनाए –

भन्यो भने पर्ला नि मर्का
बेल पाकेर चरीलाई के हर्क
ढल्क्यो अम्खरा
मेरो माया तिम्रो माया भन्दा केमा कम छ र…।

‘जब त्यो गीतको चक्का मेरो हातमा पर्‍याे नि ! मेरो हातमा संसारै अटेको छ जस्तो लाग्यो । मैले अरु सबै बिर्सिएँ’, रामकुमार त्यतिविधि खुसी जीवनमा कहिल्यै भएकै थिएनन् । कतिपय खुसीहरू यस्ता हुन्छन्, जसले सबथोक बिर्साइदिन्छन् ।

तर, परिवार अझै पनि रामकुमारको विपक्षमै थियो । गीत सुनेपछि गाउँलेले भन्थे, ‘यो अभागी मोरो कति मीठो गाउँछ ।’

कसैको भागमा सधैं दुःख मात्र पनि त हुँदैन । ०६४ पछि रामकुमारको जीवनमा १८० डिग्रीको परिवर्तन आयो । उनी दोहोरीका सबै गीत गाउन सक्ने भए । दोहोरीका सबै बाजाका ताल छट्काउने भए । त्यसपछि दोहोरीमा काम गरेको पारिश्रमिक लिन थाले । रामकुमार भन्छन्, ‘दोहोरी साँझ मेरो विश्वविद्यालय हो ।’

रामकुमारले ०६६ मा रामेछापको लोक तारा मात्र होइन, आमा–बाबाको पनि मन जिते । थुप्रै गीतमा स्वर दिए । स्टेज तताए । इमेज लोक कलाकार दोस्रो संस्करणको ताज उचाले र लोक स्टारको उत्कृष्ट चारसम्म पुगे ।

‘जीत मात्र सबथोक होइन, हारसँग पनि हामी लड्न सक्नुपर्छ । हारभित्र पनि अर्को जीत हुन्छ । जसले जिते पनि मेरै साथीले जित्नु भो । लोक स्टारबाट जीवनमा सिक्न नसकेका कुरा सिकेको छु,’ रामकुमार हार्नेवाला छैनन् ।

उनलाई मान्ने हो भने उनको शरीर हाडछालाले होइन संगीतले बनेको छ । शरीरमा संगीत भरिएको छ । अबको उनको जीवन स्रोतालाई मन पर्ने लोक भाका सिर्जनामै बित्ने छ । लोक भाकाको जगेर्नामै हुनेछ । रामकुमारको जीवनका सम्पूर्ण चाहना, आवश्यकता, सपना मात्र संगीतमा अडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment