Comments Add Comment

फेवातालमा बंगलादेशका राष्ट्रपतिको जलविहार (फोटो फिचर)

२८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पोखरा विमानस्थलबाट लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गरेर उनी फेवातालमा गएका थिए । फेवातालपछि उनी रुपाकोट रिसोर्टमा जाने छन् ।

राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जाने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

राष्ट्रपति हमिदको पोखरा भ्रमण पूरै अनौपचारिक हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने अमेरिकामा छन् ।

बंगलादेशका राष्ट्रपति हमिदले शुक्रबार बिहान ११ बजे काठमाडौंको चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी शुक्रबार करिब पाँच बजे स्वदेश फर्किने छन् ।

राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्वीरहरु : युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment