+
+
Shares

रेसुङ्गा सभाहल निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १०:०१

११ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि खड्किँदै आएको ठूला सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव अब हट्ने भएको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माण भइरहेको आधुनिक सुविधासम्पन्न सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुई तले संरचनामा निर्माण भइरहेको सभाहलको हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । जिल्लामा ठूला सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पर्याप्त क्षमताको व्यवस्थित सभाहल नहुँदा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय आयोजकहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए ।

सीमित क्षमताका हल तथा अन्य वैकल्पिक स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यताका बीच निर्माण भइरहेको यस सभाहललाई जिल्लाको महत्त्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ । सदरमुकाम तम्घास नजिकै अर्खलेमा निर्माण भइरहेको सभाहलमा ४ सय ३० जना अट्ने क्षमताको मुख्य हल रहनेछ ।

त्यस्तै साना तथा सीमित सहभागीका कार्यक्रम सञ्चालन गर्न १ सय ८ जनाको क्षमता भएको मिनी हलसमेत निर्माण अन्तिम चरणमा पुगेको छ । मुख्य हल र मिनी हलको व्यवस्थाले एउटै स्थानमा फरक प्रकृतिका कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

आधुनिक संरचना र सुविधासहित निर्माण भइरहेको सभाहलमा भूकम्प तथा आगो प्रतिरोधात्मक व्यवस्था गरिएको छ । भवनको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको आयोजनामा भिआइपी कक्ष, फाउन्टेन, गार्डेन तथा पार्किङको सुविधासमेत समावेश गरिएको छ ।

२०७९ साल कात्तिक २७ गते सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाको काम अपेक्षित समयभित्र सम्पन्न हुन नसकेपछि निर्माण अवधि थप गरिएको छ । संघीय सरकारअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पाल्पामार्फत अघि बढाइएको यस आयोजनाको निर्माण कार्य डीएनडी सत्यश्वर जेभीले गरिरहेको छ ।

 

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पाल्पाका इन्जिनियर परमेश्वर पोखरेलका अनुसार आयोजनाको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य विभिन्न चरणमा अघि बढ्दै आएको र बाँकी कामलाई पनि सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

कुल १४ करोड १७ लाख १३ हजार ९ सय ३७ रुपैयाँ लागतमा निर्माण भइरहेको सभाहलको निर्माण सम्पन्न गर्ने म्याद २०८४ साल जेठसम्म थप गरिएको छ । निर्धारित समयभित्र बाँकी निर्माण कार्य पूरा गरी सभाहललाई प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ ।

निर्माण व्यवसायी धनिश्वर गौतमले सभाहल निर्माणको अन्तिम चरणका कामलाई तीव्रता दिइएको बताएका छन् । संरचनागत कामसँगै बाँकी रहेका अन्य निर्माण तथा व्यवस्थापनका कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको उनको भनाइ छ ।

आयोजनालाई पूर्णता दिन निर्माण पक्षले कामलाई गति दिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि गुल्मी जिल्लामा आयोजना हुने ठूला सभा, सम्मेलन, गोष्ठी, तालिम, अन्तरक्रिया, सांस्कृतिक महोत्सव तथा विभिन्न संस्थागत कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।

अहिलेसम्म जिल्लामा ठूलो संख्यामा सहभागी हुने कार्यक्रम आयोजना गर्दा स्थान व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहँदै आएको थियो । पर्याप्त सिट क्षमता, आवश्यक सुविधासहितको मञ्च, प्राविधिक व्यवस्थापन र पार्किङको अभावले कार्यक्रम सञ्चालनमा कठिनाइ हुने गरेको थियो ।

निर्माणाधीन सभाहल सञ्चालनमा आएपछि यस्ता समस्यालाई धेरै हदसम्म समाधान गर्न सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?