Comments Add Comment

प्रहरीको प्राविधिक एआईजी बढुवा सिफारिस विवादमा

डीआईजी पाठकले दिए बढुवाविरुद्ध उजुरी

१८ पुस, काठमाडौं । गृह मन्त्रालयले गरेको नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस विवादित बनेको छ ।

दोस्रो वरियतामा रहेकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएपछि बढुवा विवादमा परेको हो ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक एआईजी बढुवा सिफारिस गरेको थियो ।

डीआईजी हुँदा एक नम्बर वरियतामा रहेका डा. मीनराज पाठकले शुक्रबार बढुवा सिफारिसविरुद्ध उजुरी दिएका छन् । पाठक निकट स्रोतका अनुसार उनले आफूमाथि अन्याय भएको भन्दै लोक सेवा आयोगमा उजुरी दिएका हुन् ।

स्रोतले भन्यो, ‘प्रहरी निरीक्षकदेखि डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म १ नम्बरमा रहेको व्यक्तिलाई योजनाबद्ध ढंगले तीन वर्षको मूल्यांकनमा पछि पार्ने काम गरियो ।’ पाठकले उजुरीमा बढुवा सिफारिस बदर गर्न पनि माग गरेका छन् ।

वरिष्ठ बाल रोग विशेषज्ञ पाठकले द्वन्द्वकालमा मध्यपश्चिम र सुदुरपश्चिमको विकट क्षेत्रमा काम गरेका थिए ।

प्रहरी अस्पतालकी प्रमुख डा. दुर्गा थापाले ३ पुसमा अवकाश पाएपछि वरिष्ठताको आधारमा पाठकलाई नै निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो । पाठकसहित अस्पतालको एआईजीमा सिफारिस भएकी डा. आशा सिंह र डा. सुमनराज श्रेष्ठ १ पुस २०७३ मा डीआईजीमा बढुवा भएका थिए ।

उनीहरु सबै २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment