Comments Add Comment

औद्योगिक मेलामा ढिकी–जाँतो र ठेकी–मदानी (फोटो फिचर)

२१ पुस, बुटवल । सधैं गाडी सिक्नेहरुको ताँती हुने बुटवलको देवीनगरको बगरमा हिजोआज पुग्दा फरक अनुभूति हुन्छ । प्रायः सुनसान रहने र कहिलेकाहीँ गाडी सिक्ने/सिकाउने ठाउँमा अहिले औद्योगिक व्यापार मेला चलिरहेको छ ।

जीतगढीको झल्को दिने मूलगेटबाट भित्र छिरेपछि दायातर्फ मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघको सचिवालय छ । सचिवालय अगाडि प्रदेश ५ का धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु लुम्बिनीदेखि रेसुङ्गासम्मका क्षेत्रहरुको पहिचान झल्काइएको छ ।

सचिवालय अगाडि भगवान शिबको मुर्ति निर्माण गरिएको छ । त्यसको अगाडि भगवान गौतमबुद्धको जन्मस्थलो रुपन्देहीको लुम्बिनी, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल, जीतगढी, नुवाकोटगढी, बुद्ध मावली देवदह भवानीपुर, फूलबारी, बुटवल र पाल्पाको सिद्धबाबा मन्दिर,पाल्पा तानसेन, रानीमहल, भैरवस्थान, गुल्मी, रुरु—रेसुङ्गा, अर्घाखांची सुपादेउरालीको आकृति छ ।

बुटवल ९ कालिकानगरकी बसन्ता घिमिरेले प्रदेशभरका धार्मिक र ऐतिहासिक क्षेत्र एकै ठांउमा हेर्न पाउदा खुसी लागेको बताइन् । ‘गाउँ ठाउँको झल्को पनि हुने, सबै मन्दिरहरु एकैपटक दर्शन गर्न पायौंं’ उनले भनिन् ।

सचिवालयसंगै कृषि संग्रहालयमा कृषिसंग सम्बन्धित सामाग्री प्रदर्शनमा राखिएको छ । संग्रहालयभित्र परम्परागत कृषि औजार, पुराना घरेलु हातहतियार, बाजागाजा, भँडाकुडा, ठेकी, मदानी, रोंचे, हसिया, आरन, टुकी, रेडियो, टेप, क्यासेट, सन्धन, तरवार, मानो, पाथी, हर्पे, सिन्का, सुकुल, हलो, फाली, मान्द्रो, दिउरी, हांडी, लोटा, डाली, ढकिया, उदिन, तमौरा, कचौरा, मधुस, डोको , तमाखु, नेती, मदुरा, भुटुना, लोरो, ढिकी, जांतो लगायतका परम्परागत लोपोन्मुख सामग्री छन् ।

संग्राहलयमा भेटिएका अर्घाखांचीका माधब पौडेलले भने ‘अधिकांश चिजको मैले नाम नै जानिन, गाउँघरमा हुँदा देखेका ढिकी जातो त चिनें तर अरु त हेर्दा निकै आश्चर्य र रमाइलो लाग्यो ।’

मेलालाई नेपाल भ्रमण बर्ष २०२० संग जोडेर प्रदेश ५ को पर्यटन प्रर्वद्धन गरिने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक खेमबहादुर हमालले बताए ।

बुटवल ११, देवीनगरमा पुस ९ गतेदेखि २३ गतेसम्म जारी हुने मेलामा अहिलेसम्म ४ लाख दर्शकले मेला अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment