Comments Add Comment

चितवन प्रिमियर लिग माघ १७ गतेदेखि

१० माघ, चितवन । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भैरहेको चितवनमा ‘चितवन प्रिमियर लिग टी-२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

निर्माणाधीन क्रिकेट रंगशालाको प्रचारप्रसार तथा प्रर्बधन गर्ने उद्धेेश्यले नारायणगढको क्याम्पाचौरमा पहिलोपटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह-आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता रहेको छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्‍यापिड्स रहेका छन् ।

प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ ।

यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले चितवनमै क्रिकेट रंगशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले चितवनकै ठूलो क्रिकेट प्रतियोगिता रहेको भन्दै यसले यहाँका खेलाडीहरुलाई एक्सपोजरको राम्रो मौका दिने बताए ।

चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीहरुलाई थप मौका प्रदान गर्ने बताए ।

प्रतियोगिताको लीग चरणका केही खेलहरु निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताले रंगशाला निर्माणका लागि थप सहयोग मिल्ने आयोजकको विश्वास छ । रंगशालाका लागि आयोजकले आर्थिक सहयोगसमेत गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment