Comments Add Comment
आईजीपी ज्ञवालीको अठोट :

‘प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममतापूर्वक निर्मूल गर्नेछु’

नेपाल प्रहरीलाई नमूना संगठन बनाउने दृढता

२९ माघ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उनले बताए ।

गृहमन्त्रालयमा बुधबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गर्दै उनले भने, ‘तालुक गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही गृह प्रशासन मातहतको उत्कृष्ट नमूना संगठनका रुपमा नेपाल प्रहरीलाई स्थापित गराउने अठोट व्यक्त गर्न चाहन्छु ।’

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सरोकारवाला निकायसँगको सहकार्यलाई अझै विस्तारित गर्नेसमेत उनले बताएका छन् । नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकका नैसर्गिक हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न दृढसंकल्पित रहेको ज्ञवालीले बताए ।

‘कुनै पनि अवाञ्छित ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्णतः नियन्त्रण, निस्तेज गरी कानूनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको छ’, उनले थपे, ‘म प्रहरी महानिरीक्षकको हैसियतले सबैमा विश्वास दिलाउन चाहन्छु, नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यवसायिक, पारदर्शी तबरबाट सम्पादन हुनेछन् ।’

साथै, उनले कुनै प्रकारको अकर्मण्यता, गैरव्यवसायिक आचरण, व्यवहार निर्ममतापूर्वक निर्मूल पारिने पनि बताए ।

गृहमन्त्रालयमा आईजीपीको फुली लगाएपछि ज्ञवालीले प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर पदभार ग्रहणसमेत गरिसकेका छन् ।

यो पनि पढ्नुहोस झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

नवनियुक्त आईजीपी ज्ञवालीले दर्ज्यानी चिह्न पाएपछि गृहमन्त्रालयमा राखेको मन्तव्यको पूर्णपाठ–

राष्ट्र र नागरिक सेवामा व्यवसायिक निष्ठाका साथ मैले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले मलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेको यस सुखद अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यू, गृहसचिवलगायत सम्बद्ध नेतृत्व वर्गप्रति हार्दिक कृतज्ञतासहित आभार व्यक्त गर्न चाहन्छु ।

गौरवमय इतिहास रहेको नेपाल प्रहरी संगठनको नेतृत्व तहमा पदोन्नति हुँदा मलाई खुशी लाग्नु स्वाभाविक हो, नेपाल सरकारको यस निर्णयले मलाई नागरिकको सुख, शान्ति र सुरक्षाका लागि अझ क्रियाशिल रही खटिने सुनौलो अवसर प्राप्त भएको छ । मातृभूमि र नेपाली जनजनको सेवामा निष्ठापूर्वक समर्पित रहने प्रण समेत गर्दछु ।

यस अवसरमा राष्ट्र सेवाका खातिर जीवन आहुती दिनु हुने अमर शहीद प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँहरुको योगदानको उच्च सम्मान गर्न चाहन्छु । साथै कर्तव्य पालनाको क्रममा घाइते हुनु भएका होनहार प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्न चाहन्छु ।

नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकका नैसर्गिक हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न दृढसंकल्पित रहेको छ । कुनै पनि अवान्छित ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्णतः नियन्त्रण, निस्तेज गरी कानूनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको छ । नेपाल सरकार तालुक गृह मन्त्रालयको मार्ग दर्शनको अक्षरश पालना गरी मुलुकको शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरकिा तमाम सदस्यहरु अहोरात्र कर्तव्यनिष्ठ रहेको व्यवहोरासमेत उल्लेख गर्न चाहन्छु ।

प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति पूर्णतः जवाफदेही रहनेछन् । कुनै प्रकारको अकर्मण्यता, गैरव्यवसायिक आचरण, व्यवहार पूर्णतः निर्ममतापूर्वक निर्मूल गरिनेछ ।

मुलुक समृद्धि, समुन्नति र सुशासनको क्षितिजमा उदाउँदै छ । यस ऐतिहासिक क्षणमा चुनौति र अभावको छेकवारलाई उर्जाका रुपमा परिणत गरी राष्ट्रका नाममा योगदान गर्ने जाँगर र सामर्थ्य हामीमा छ । यसर्थ जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायिक धर्म र उचो मनोबलका साथ कर्तव्य पथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिबद्ध रहेको कुरासमेत म यहाँ इमान्दारिताका साथ व्यक्त गर्दछु ।

आज यस समारोहमा म प्रहरी महानिरीक्षकको हैसियतले सबैमा विश्वास दिलाउन चाहन्छु, नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यवसायिक, पारदर्शी तबरबाट सम्पादन हुनेछन् । प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति पूर्णतः जवाफदेही रहनेछन् । कुनै प्रकारको अकर्मण्यता, गैरव्यवसायिक आचरण, व्यवहार पूर्णतः निर्ममतापूर्वक निर्मूल गरिनेछ । तालुक गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही गृह प्रशासन मातहतको उत्कृष्ट नमूना संगठनका रुपमा नेपाल प्रहरीलाई स्थापित गराउने अठोट समेत व्यक्त गर्न चाहन्छु ।

आजको युग जनउत्तरदायी उत्कृष्ट सेवाद्वारा सेवाग्राहीको मन र विश्वास जित्ने समय हो । यसैका आधारमा कुनै पनि संगठन जीवन्त र गतिशील रहन्छ । यही मान्यतामा शिरोपर गरी नेपाल प्रहरीका तमाम सदस्यहरु देशका दुरदराजसम्म खटिएका छन् । कुनै पनि नागरिक प्रहरी सेवा पाउनबाट बञ्चित हुन नपरोस्, न्याय र सुक्षा पाउने हकबाट विमुख हुनु नपरोस् भन्ने मेरो मान्यता रहेको छ । सेवा प्रवाह एवं कानूनको कार्यान्वयनमा कुनै पहुँच, पद हैसियतका आधारमा असमान व्यवहार प्रहरीबाट हुने छैन भन्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण र कर्मचारीहरुको वृत्ति विकासलाई जोड दिनु आजको आवश्यकता रहेको छ । यसमा नेपाल सरकार तथा गृह मन्त्रालयबाट संरक्षकत्वसहितको मार्गनिर्देशन र सदभाव तथा अन्य सम्बद्ध सबै निकायहरुको सहयोग रहिरहनेछ भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।

शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायसँगको सहकार्य अझै विस्तारित हुने विश्वास व्यक्त गर्न चाहन्छु । नेपाल सरकारले म र मेरो संगठनप्रतिको विश्वास र अपेक्षालाई पूर्ण इमान्दारिताका साथ पूर्ण गर्ने प्रतिज्ञासमेत व्यक्त गर्दछु । पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने सत्प्रयास हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment