Comments Add Comment

एसियन च्यालेन्जर ट्रफी क्रिकेट : असरक र शंकरनगर क्लब विजयी

१८ फागुन, बुटवल । भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा असरक स्पोर्टस् क्लब बंगलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन् ।

असरक स्पोर्टस्ले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले र शंकरनगर क्रिकेट क्लबले गुजरात लायन्स पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।

पहिलो खेलमा टस जितेर व्याटिङ गरेको असरक स्पोर्ट्स  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको योगफल बनायो । उसका लागि अली समदले ४८, ओस्कर कोल्कले २० र हमिद अहमदजाईले १५ रनको योगदान गरे । बलिङमा वेस्टर्नका कृष्ण कार्की र हर्जित सिंहले २/२ तथा विक्रम सोब, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए ।

जवाफमा वेस्टर्नले १५.५ ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनायो । उसका लागि प्रदीप ऐरीले २३ र सुमित महर्जनले ११ रनको योगदान गरे । बलिङमा असरक स्पोर्टस्का अलि समदले ३, मोहम्मद सजाद हुसेनले २ तथा निश्कोलस विल्सन, ओस्कर कोल्क र मनान चावलाले १/१ विकेट लिए । खेलमा असरक स्पोर्टस्का अली समद म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको गुजरात लायन्सले निर्धारित २० ओभरमध्ये १८.३ ओभरमा १० विकेट गुमाउँदै ९३ रनको योगफल बनायो । उसका लागि जफिर जमसिदले २५ र सैद इसरार साहले २१ रनको योगदान गरे । बलिङमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसालले ३, दुर्गेश गुप्ता, सन्दिप सुनार र अनिल खरेलले २/२ तथा सुरज दराईले १ विकेट लिए ।

जवाफमा शंकरनगर क्रिकेट क्लबले १२.२ ओभरमा १ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि शंकर राना र देव खनालले नटआउन क्रमशः ३७ र २३ रन तथा सन्दीप सुनारले १६ रनको योगदान गरे । बलिङमा गुजरात लायन्सका मजिद इलियासले १ विकेट लिए । खेलमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसाल घोषित भए ।

सोमबारको पहिलो खेल सहारा क्रिकेट क्लब हैदराबाद (भारत) र राइनो क्रिकेट क्लब काठमाडौं तथा दोस्रो खेल अल्फा वारियर्स मुम्बई र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टि-ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment