Comments Add Comment
नेकपाको शक्ति संघर्ष :

माधव नेपाललाई आफूतिर तान्ने ओलीको प्रयास

मध्यमार्गी समाधान वा पावर शेयरिङमा बार्गेनिङ ?

१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे ।

लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न खोजे ।

प्रधानमन्त्री र नेता नेपालवीच बालुवाटारमा भएको भेटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पारखेल पनि थिए, जो ९ सदस्यीय सचिवालयमा ओलीलाई साथ दिने एक्ला नेता बनेका छन् ।

अरु नेताहरुले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने मत राखेका छन् ।

ओलीले भने नेता नेपालसँग शुक्रबार भएको भेटमा पनि राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्‍याउन चाहेको संकेत गरेका छन् । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदले गर्ने सिफारिस संवैधानिक विषय भएकाले पार्टीले निर्णय गर्ने नभई सरकारलाई सुझाव मात्र दिन सक्ने तर्क प्रधानमन्त्रीले गरेका छन् ।

यसअघि बुधबार नेकपा सचिवालयले गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको केही घन्टापछि नै प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन नगर्ने बताएका थिए ।

मध्यमार्गी समाधान कि पावर शेयरिङको खोजी ?

वरिष्ठ नेता नेपालले अहिलेसम्म सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई सुझाउँदै आएका छन् ।

पार्टी निर्णय चित्त नबुझेको भए सचिवालयको बैठक बोलाएर नेताहरुलाई ‘कन्भिन्स’ गर्न नेपालले ओलीलाई सुझाव दिएको स्रोतले जनाएको छ । साथै, पार्टी निर्णय कार्यन्वयन गर्दै प्रधानमन्त्रीको सजिलोका लागि अन्य विकल्पमा छलफल गर्न सकिने बताएका छन् ।

नेपालले ओलीलाई भेट्नुअघि चितवन पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ‘बामदेवलाई राष्ट्रियसभा सदस्य बनाएपछि पनि प्रधानमन्त्रीले खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन सक्ने’ अभिव्यक्ति दिएका थिए ।

यो मध्यमार्गी प्रस्तावमा प्रचण्डलाई सहमत गराउन नेता नेपालको भूमिका रहेको बुझ्न सकिन्छ । नेपाल अहिले नै प्रधानमन्त्रीलाई अप्ठेरोमा पार्ने वा हटाइहाल्ने पक्षमा छैनन् । उनी पछिल्लो समय समस्या समाधान गर्ने कडी बन्न खोजिरहेका छन् ।

पछिल्लो समय उत्पन्न समस्या समाधानका लागि नेपाल सक्रिय रहेको नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् । कुनै एक पक्षमा लागेर अर्कोलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि पार्टीमा संस्थागत परिपाटीमा सबै चल्नुपर्ने पक्षमा माधव नेपाल रहेको भुसालले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग समस्या समाधानको पहलको अपेक्षा गर्नु स्वाभाविक रहेको भुसालको बुझाइ छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहेका नेता राजन भट्टराई पनि नेताहरुबीच उच्चस्तरको समझदारी कायम गर्ने प्रयास भइरहेको बताउँछन् । प्रधानमन्त्री र नेता नेपालबीचको छलफल त्यही प्रयास भएको उनले बताए ।

नेकपाभित्रको गणितका कारण नेपाल समूह निर्णायक मानिन्छ । विगतमा अध्यक्षद्वय ओली र प्रचण्ड मिल्दा नेता नेपाल कर्नरमा परेका थिए । अहिले नेपालले प्रचण्डलाई साथ दिएपछि पार्टीका सबै कमिटीहरुमा प्रधानमन्त्री एवं अध्यक्ष ओली अल्पमतमा पर्दै आएका छन् र, उनको चाहना अनुसार केही भएको छैन ।

प्रचण्ड आफूसँग टाढिएपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग छलफल र भेवार्ता बढाएका छन् । यो नेता नेपाललाई आफूतिर तान्ने प्रयास भएको नेताहरुको बुझाइ छ । त्यसका लागि ओली मात्र होइन, उनी पक्षका नेताहरुले निरन्तर सम्वाद गरेका छन् । तर, तत्कालीन एमालेमा हुँदा होस् वा माओवादीसँग एकता गरेर नेकपा गठन भएपछि होस्, निरन्तर पेलेर भित्तामै पुर्‍याएका कारण दुई नेताबीच विश्वासको वातावरण बनिसकेको छैन ।

प्रचण्डसँग मिलेका बेला नेपाल पक्षलाई निषेधको नीति लिएका कारण प्रधानमन्त्री ओलीसँग अब उधारो सहमति नहुने नेपाल पक्षीय नेताहरुको भनाइ छ । ओलीलाई सघाउने हो भने पावर शेयरिङ हुनुपर्ने र त्यो पनि महाधिवेशनमा होइन, अहिले नै हुनुपर्छ भन्ने जवाफ ओली निकट नेताहरुले पाइसकेका छन् । त्यो भनेको ओलीले नेता नेपाललाई पार्टी अध्यक्ष छाड्नुपर्छ भन्ने हो ।

केपी ओली पक्षका नेताहरुले भने पावर शेयरिङको कुरा ठिकै हो, तर अहिले नै महाधिवेशनबाट निर्वाचित अध्यक्षले छाड्नुपर्छ भन्ने माग तर्कसंगत नभएको बताइरहेका छन् । ‘प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्षको दाबेदार नबन्ने भनिसक्नुभएको छ, त्यो बेलासम्म माधव कमरेडले प्रधानमन्त्रीलाई सघाएर उहाँको समर्थन लिन सक्नुहुन्छ’ ओली निकट स्रोतले भन्यो ।

तर, विगतमा आफैंले र अरु नेताहरुले धोका पाएको देखेका नेता नेपाल त्यसमा सहमत छैनन् । नेता नेपालको अर्का अध्यक्ष प्रचण्डसँग पनि पावर शेयरिङमा सहमति भइसकेको छैन ।

नेताहरुका अनुसार प्रचण्ड र नेपालबीच अहिले नै ओलीलाई हटाएर एकजना अध्यक्ष, अर्को प्रधानमन्त्री हुने वा महाधिवेशनसम्म सहकार्य गर्दै पावर शेयरिङ गर्ने विकल्प छ । तर, वरिष्ठ नेता नेपाल अहिले प्रधानमन्त्री ओलीलाई हटाउने र अस्थिरता नित्याउने पक्षमा देखिएका छैनन् ।

तर, ओली पक्षीय नेताहरु भने नेता नेपाललाई ओलीले शुरुदेखि नै सम्मानजनक भूमिका दिएको भए अहिलेको अवस्था आउने थिएन भन्न थालेका छन् । मन्त्री चयनदेखि प्रदेश कमिटी गठन हुँदै दोस्रो बरियता खोसेर अपमान गर्नेसम्मको तहमा उत्रिएपछि नेपाल ओलीसँग निकै टाढिएका छन् ।

माधव नेपाल तत्काल मध्यमार्गी समाधान निकाल्न सक्रिय भए पनि अहिले नै ओली वा प्रचण्डसँग गाँसिनेभन्दा आफ्नो शक्ति बलियो बनाउ न केन्दि्रत हुने उनी निकटका नेताहरुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment