Comments Add Comment

ओलीले माधव नेपाललाई भने– सचिवालयको निर्णय कार्यान्वयन गर्न सक्दिनँ

केही ब्यापारीसँग मिलेर घेराबन्दी गरेको दाबी

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको केही घन्टा बित्न नपाउँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन गर्न नसक्ने सन्देश सुनाएका छन् ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधन कार्यदल भङ्ग गर्दै गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि गौतमले राष्ट्रियसभामा सदनको सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन गरे मात्र त्यहाँ जाने शर्त राख्दै आएका थिए । त्यही कारण अघिल्लो बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

तर संविधान संशोधन तयारीको चर्को आलोचना भएपछि उपाध्यक्ष गौतम शर्त छाड्न तयार भए ।

सचिवालयको निर्णयमा केही नभनेका प्रधानमन्त्री ओलीले ‘आफ्नोविरुद्ध भएको खेल भएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु’ भनेका थिए ।

त्यसको केही घन्टापछि उनले नेता नेपाललाई पुनः बालुवाटार बोलाएर गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस नगर्ने आफ्नो निर्णय सुनाएका छन् । ओलीले आफूविरुद्ध षड्यन्त्रमूलक घेराबन्दी भएको र त्यसमा केही ब्यापारीको साथ लिइएको सूचना समेत सुनाएको स्रोतको दाबी छ ।

केही ठूलो ब्यापारीको योजनामा डिनर मिटिङ गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्न गौतमलाई अगाडि सारिएको ओलीको दाबी छ । त्यो डिनरमा नेकपा अध्यक्ष प्रचण्डसँगै नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा समेत सामेल भएको सूचना रहेको भन्दै प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘युवराज अर्थमन्त्री रहुन्जेल सिस्टमबाट मात्र अर्थतन्त्र चल्ने भएपछि चलखेल भयो ।’

व्यापारीहरु अजय सुमार्गी, उपेन्द्र महतो र बिनोद चौधरीहरुले प्रचण्डमार्फत सबै घटनाक्रम विकास गराएको बालुवाटारको दाबी छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको अघिल्लो ठकमै डा. खतिवडाको शैलीगत र स्वभावजन्य समस्याका कारण आलोचना भएपनि अन्तर्राष्ट्रिय समुदाय र दातृ निकाउलाई कन्भिन्स गर्न सक्ने व्यक्ति भएकाले उनैलाई निरन्तरता दिन चाहेको जानकारी दिएको उनी निकट स्रोतले बतायो ।

खतिवडालाई निरन्तरता दिने संकेत पाएपछि दुई दिनमै चलखेल गरेर बामदेवलाई संविधान संशोधन नभएको अवस्थामा पनि राष्ट्रियसभामा जान तयार पारिएको ओली पक्षको दाबी छ ।

खतिवडाको शैलीगत कमजोरी हटाउन लगाउने बचन दिँदादिँदै ओलीलाई कमजोर बनाउन बामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको बालुवाटारको बुझाइ छ । बालुवाटार स्रोतले भन्यो, ‘संविधान संशोधन कार्यदल बिघटन गर्न बोलाइएको बैठकमा अचानक बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव आएपछि प्रधानमन्त्रीले आफ्नो कुरा बैठकमा राख्नुभएको छ । उहाँले तपाईहरुले गम्भिर गल्ती गर्दै हुनुहुन्छ, म निर्णायक कदम चाल्न बाध्य हुन सक्छु भन्नु भनेको सो निर्णय कार्यन्वयन गर्दिन भनेको हो ।’

बामदेवलाई ठेकदार दिपक भट्टमार्फत कन्भिन्स गराएको र अध्यक्ष प्रचण्डले बहुमत जुटाइसकेकाले ओलीलाई संसदीय दलबाटै हटाउछु भनेर बिभिन्न शक्तिलाई आश्वस्त पारेको सूचना समेत प्राप्त भएको बालुवाटार स्रोतको दाबी छ ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई यही सूचना सुनाउँदै सचिवालयको निर्णय कार्यन्वयन गर्न नसक्ने बताएका थिए ।

नेता नेपालले भने निर्णय हुनुअघि नै यस्तो कुरा गर्नुपर्ने भन्दै निर्णय कार्यन्वयन नगर्दा अप्ठ्यारो परिस्थिति आउने जवाफ दिएको नेपाल निकट स्रोतको दावी छ ।

तर ओलीले आफूलाई एकपछि अर्को घेराबन्दीमा पारिएकाले घेरा तोड्न निर्णायक कदम उठाउनुपर्ने अवस्था आउन सक्ने र त्यसले अप्रिय स्थिति सिर्जना हुने चेतावनी दिएका छन् । उनले आन्दोलन धराशायी हुने भन्दै सहयोग गर्न नेता नेपाललाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment