Comments Add Comment
नेकपा सचिवालय बैठक  :

वामदेवले भने– मलाई पार्टीबाट निकाल्नुस्, प्रधानमन्त्रीले भने– सबै परिस्थितिको सामना गर्छु

१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय निल्नु न ओकल्नु भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको थियो ।

तोकिएको समय बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थित भएपछि एजेण्डा सोधीखोजी भयो । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने एजेण्डा सुनाए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राष्ट्रियसभा लैजानुपर्ने बताउँदै थपे, ‘संविधान संशोधन कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने थियो तर गयो । यसले राम्रो प्रभाव परेन ।’

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ‘बामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने’ उपाय सुझाउँदै कार्यदललाई के गर्ने निर्णय गर्न माग गरे ।

त्यसपछि झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिए ।

त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताउँदै कार्यदललाई यताउता (भङ्ग) गरेपनि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले यसलाई शर्त भने नबनाउने बताएको सचिवालयका एक सदस्यले अनलाइखबरलाई सुनाए ।

हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वलाई सोधे, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुस् ।’

अघिल्लो बैठकमा अनुपस्थित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने संविधान संशोधन कार्यदल बनाउनुको कारण जान्न खोजे । उनले गौतमको माग सम्बोधन गर्न हो भने कार्यदल आवश्यक नै नपर्ने तर्क गर्दै यसको उद्देश्य राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नु मात्र थियो कि अरु एजेण्डा पनि थिए भनेर जान्न खोजे, तर जवाफ पाएनन् ।

स्रोतका अनुसार संविधान संशोधन गर्दा राष्ट्रपतिको अधिकार थप्ने र राष्ट्रियसभामा मनोनित सदस्य संख्या तीनबाट बढाएर ९ जना बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीको थियो । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्ने बामदेवको शर्त भएकाले संविधान संशोधन कार्यदल गठन भयो । तर, नेकपाभित्र र बाहिरबाट त्यसको चर्को आलोचना भयो । कार्यदलमा राखिएका नेताहरु नै विपक्षमा उभिए ।

बुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल भंग गरेको छ । योसँगै राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रिपतिलाई थप अधिकार दिने गरी संविधान संशोधन गर्ने नेकपाको तयारी तत्कालका लागि रोकिएको छ ।

परिस्थितिको सामना गर्छु : प्रधानमन्त्री

स्रोतकाअनुसार सचिवालय बैठकको अन्त्यमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली बोलेका थिए । उनले पार्टीभित्रबाटै आफूविरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने बताए ।

उपाध्यक्ष गौतमलाई पहिले राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधनलाई शर्त बनाएको तर अहिले शर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले यत्ति भन्नै पर्ने भयो, यो सब मेराविरुद्ध खेल हो, यसको सामना गर्न तयार छु ।’

स्रोतका अनुसार, प्रधानमन्त्री ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाउन चाहन्छन् । त्यो स्थानमा गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि ओलीले राष्ट्रिपतिबाट मनोनित हुने सदस्य संख्या ९ पुर्‍याउन चाहेका थिए ।

त्यो पनि नभएपछि प्रधानमन्त्री ओली रुष्ट बनेको र बुधबारको सचिवालय बैठकले पार्टीभित्रको विवादलाई गम्भीर मोडमा पुर्‍याएको संकेत गरेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment