Comments Add Comment

पुवुदुको आगमनले भैरहवा ग्लाडिएटर्स उत्साहित

१८ फागुन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० मा दुई पटकको उपविजेता भैरहवा ग्लाडिएटर्स यस पटक पुवुदु दासानायकेको आगमनबाट उत्साहित बनेको छ ।

पुवुदु तिनै प्रशिक्षक हुन् जसले नेपाललाई टी २० विश्वकपसम्म पुर्‍याएका थिए । उनले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिए ।

अहिले भैरहवाले तिनै पुवुदुलाई प्रशिक्षक बनाएर ईपीएल २०२० मा खेल्न लागेको हो ।

आयोजक ईपीएल प्रालिले ईपीएललाई अझ ठूलो र विश्वभर चर्चित बनाउन विश्वकै चर्चित खेलाडीलाई भित्र्याउने प्रयासलाई यसपटक सफल बनाएको छ । पोखरा राइनोजले वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरिसकेको छ । भैरहवाले वेष्ट इन्डिजका अर्का खेलाडी ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

सन् २०१७ र २०१८ मा भैहरवा फाइनल पुगे पनि पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।

ई्पीएलमा सहभागी फ्रेन्चाइजले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् भने ३ विदेशी अनिवार्य राख्नुपर्नेछ । त्यही अनुसार भैरहवाले आइतबार प्रशिक्षक दासानायकेसंगै अरु तीन विदेशी खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा पुवुदुले फेरि नेपाल आउन पाउँदा उत्साहित भएको बताए । ‘एकदमै अनौठो अनुभव भइरहेको छ’ पुवुदुले भैरहवाको प्रशिक्षकको रुपमा नेपाल आएपछि भने ‘नेपाल फेरि आउन पाउँदा खुशी छु । मैले अवसर पाएको छु । ईपीएलललाई लिएर उत्सहित छु ।’

पुवुदुलुले आफूलाई विश्वास गरेकोमा भैरहवालाई धन्यावद दिए।

यस्तै भैरहवाका मालिक आदित्य संघाईले पुवुलुको आगमनले उत्सहित भएको बताए । ‘हामी पुवुदुको आगामनले उत्सहित छौं । हाम्रो टिम ईपीएलको लागि तयार छ’ संघाइले भने । ‘टिममा विश्वकै उत्कृष्ट खेलाडीहरु समेत छन् । टिम सन्तुलित बनेको छ ।’

भैरहवाले आइतबार श्रीलंकाली दुई खेलाडी र ओमानका एक खेलाडीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

जसमा श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र ब्याट्सम्यान मिलिन्डा श्रीवार्दाना र ओमानका बलर बिलाल खान छन् । अलराउन्डर जीवनलले श्रीलंकाको लागि ५८ एकदिवसीय खेलमा ६ सय ६३ रन बनाएका छन् ।

यस्तै देब्रे हाते ब्याट्सम्यान मिलिन्डा श्रीवार्दानाले २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५ सय १६ रन जोडेका छन् । लेफ्ट आर्म फास्ट मिडियम बलर बिलाल खानले हालै काठमाडौंमा सम्पन्न क्रिकेट विश्वकप लिग टु ट्राई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा १८ विकेट लिएका छन् । भैरहवाले यसअघि नै ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमका सदस्य शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको टिम खेलाडीको सूचि हेर्दा बलियो देखिएको छ । अझ चार विदेशी खेलाडी आएपछि टिम अझै सन्तुलित बनेको प्रशिक्षक दासानायके र टिम मालिक आदित्य संघाईले बताए ।

‘हामीसंग राष्ट्रिय टिमकै ५ जना खेलाडी छन् । विदेशका ४ जना स्टार खेलाडी छन् । अन्य यू१९ का खेलाडीहरु छन् । टिम सन्तुलित बनेको छ’ संघाईले भने ।

यस्तै पुवुदुले पनि दुई श्रीलंकन खेलाडीसंग आफू यसअघि परिचित रहेको र नेपालको खेलाडीहरुसंग पनि राम्रो सम्बन्ध रहेको बताए । ‘पाँच राष्ट्रिय टिमका खेलाडी अनि युवा प्रतिभाहरु टिममा छन् । शरद अनुभवी खेलाडी छ । टिम सन्तुलित बनेको छ’ पुवुदुले भने ।

उनले ट्यालेन्ट हन्टका लागि आफू भैरहवा जाने र शरद भेषावकरसंग भेटेर ट्यालेन्ट हन्ट गर्ने बताए ।

भैरहवाले गत संस्करणमा ट्यालेन्ट हन्टबाट ल्याएका युवा स्टार कुशल मल्ल अहिले राष्ट्रिय टिमको स्टारको रुपमा छन् । केही समयअघि ओडीआईमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका कुशल अहिले राष्ट्रिय टिमसंग इस्टर्न रिजन खेल्न थाइल्याण्डमा छन् । भैरहवाका मालिक आदित्य संघाईले कुशल अहिले सबैमाझ चर्चित रहेको बताए ।

राष्ट्रिय टिमको प्रशिक्षकबारे सोचेको छैन : पुवुदु

पुवुदुलाई फरक प्रसंगमा नेपालको राष्ट्रिय टिमको प्रशिक्षक बन्न अनुरोध गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिले आफ्नो ध्यान ईपीएलमा मात्र रहेको र त्यतातिर नसोचेको बताए ।

ईपीएलको यस सिजन आगामी चैत्र १ देखी १५ गते सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । भैरहवा ग्लाडिएटर्सले आफ्नो पहिलो खेल चैत २ गते काठमाडौं किंग्स ११ सँग खेल्नेछ ।

भैरहवाको टोली: शरद भेषावकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त

विदेशी खेलाडी: ड्वाने स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना बिलाल खान,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment