Comments Add Comment

यो हो गिनिज बुकमा नाम लेखाएको विश्वकै ठूलो वरको रुख

वर आफैंमा लामो आयु भएको तथा विशाल रुख हो । यो वनस्पति विश्वका सबैजसो भागमा पाइन्छ । तर, विश्वको सबैभन्दा ठूलो वरको रुखचाहिँ छिमेकी मुलुक भारतमा रहेको छ ।

भारतमा रहेको उक्त वरको रुखले विश्वको सबैभन्दा ठूलो वरको रुखको रूपमा गिनिज बुकमा नाम लेखाइसकेको छ ।

‘द ग्रेट बानयान ट्री’ भनिने उक्त वरको रुख अढाइ सय वर्षभन्दा पुरानो मानिन्छ ।

भारतको कलकत्तास्थित जगदीशचन्द्र बोस बोटानिकल गार्डेनमा सो वरको रुख रहेको छ । सन् १७८७ मा त्यो वरको रुख त्यहाँ रोपिएको थियो । रोप्ने बेलामै त्यो वरको रुख २० वर्षको भइसकेको थियो ।

त्यो वरको रुख यति विशाल भइसकेको छ कि त्यसका लहरा तथा जराहरु यत्रतत्र फैलिँदा नयाँनयाँ हाँगा पलाएर पूरै जंगलजस्तै बनिसकेको छ । झ्वाट्ट हेर्दा त्यो पूरै जंगल केवल एउटा वरको रुख हो भनेर अनुमान गर्न गाह्रो पर्ने खालको छ ।

१४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त रुखको उचाइ २४ मिटर रहेको छ । यसका तीन हजारभन्दा धेरै लहरा छन्। जो जमिनसम्म पुगेर जरामा परिणत भएका छन् र त्यहाँबाट फेरि नयाँ हाँगा पलाएको छ ।

त्यसैले यसलाई दुनियाँको सबैभन्दा ठूलो हिँड्ने रुख पनि भनिन्छ । यो वरको रुखमा ८० भन्दा धेरै प्रजातिका चराहरु बास बस्ने गरेका छन् ।

सन् १८८४ र १९२५ मा कलकत्तामा आएको आँधीबेरीले त्यो रुखमा गम्भीर क्षति पुर्‍याएको थियो र धेरै हाँगाहरु भाँच्चिएका थिए र काटिएको थियो । तर, यो रुख त्यसपछि पनि पलाउन छाडेन र दुनियाँकै ठूलो रुख बन्न सफल भयो ।

सन् १९८७ मा भारतले यो वरको रुखको तस्वीरसहितको हुलाक टिकट पनि प्रकाशित गरिसकेको छ ।

यो रुख साँच्चिकै भीआईपी रुख हो । जसको रेखदेखमा १३ जना कर्मचारी खटिएका छन् । जसमा वनस्पतिविददेखि मालीसम्म रहेका छन् । यो रुखमा केही हानिनोक्सानी भएको छ कि भनेर बेला–बेलामा चेकजाँच पनि गर्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment