Comments Add Comment

लकडाउनसँगै आर्यघाटमा किन घटे शव ?

'अस्पताल प्रयोगशाला बनेर हो कि !'

लकडाउन पछि सुनसान पशुपति आर्यघाट। तस्वीर : चन्द्रबहादुर आले

२२ चैत, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि सरकारले दुई साताका लागि गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो।

लकडाउन घोषणासँगै सरकारले अस्पतालमा समेत आपतकालीन सेवाबाहेक सामान्य सेवा बन्द गर्ने निर्णय गर्‍यो । सरकारको सो निर्णयसँगै अहिले अस्पतालमा ओपीडी लगायतका सेवाहरु बन्द गरिएका छन् ।

यता, अस्पताल बन्द भएको छ भने अर्काे तिर काठमाडौंको पशुपति क्षेत्रमा रहेको आर्यघाटमा ल्याइने शवको संख्यामा समेत लकडाउन सुरु भएपछि आश्चर्यजनक रुपमा कमी भएको छ ।

सदस्य सचिव डा‍‍. ढकाल

लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवाबाहेक अरु सबै गतिविधि बन्द गराए पनि ज्यानै जाने खालका बिरामीहरुको लागि न त अस्पताल जान प्रतिबन्ध लगाइएको छ ।

न त शवदाहको लागि नै रोक लगाइएको छ । तर पनि आश्चर्यजनक रुपमा शवको संख्यामा गिरावट आउनुलाई शंकास्पद रुपमा हेर्छन् पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु ।

‘कतै अस्पतालहरु बन्द भएकै कारण शवको संख्यामा कमी भएको त होइन ? यो प्रश्न मेरो मथिङ्गलमा नाचिरहेको छ । अहिले कतिपय निजी अस्पतालहरु बन्दजस्तै छन् । मानिसहरु घरघरमै छन् ।

अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोको समेत उपचार गर्न नमानेका समाचारहरु आइरहेका छन्,’ कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भनेका छन्, ‘ कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ? अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधि पठाइन्छन् भन्ने पनि कतैकतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौं ?’

पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले औसतमा दैनिक २० वटा शवहरु आउने गरेकोमा लकडाउन सुरु भएपछि तीन चौथाई संख्या कम भएको छ ।

कोषका सदस्य सचिव डा. ढकाल लकडाउन सुरु भएपछि शवको संख्यामा आएको भारी गिरावटलाई गम्भीर रुपमा लिने गर्छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा सदस्यसचिव ढकालले लकडाउनको समयमा अस्पतालहरु बन्द भएको बेलामा शवको संख्यामा भारी गिरावट आउनुले गम्भीर शंका उत्पन्न गराएको बताए ।

उनी भन्छन् ‘लकडाउनको समयमा धेरै बाहिर गए भन्ने पनि होला । अघिल्लो दिन घोषणा गरेर गरिएको लकडाउनका कारण धेरैजना बाहिर पनि जान नपाएको भएपनि शव घट्नुको पछि गम्भीर शंका उत्पन्न भएको छ ।’

लकडाउनपछि कति घटे शव ?

सदस्य सचिव ढकालका अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले दैनिक औसतमा २० वटा शव आउने गरेकोमा लकडाउन सुरु भएपछि न्यूनतम चारवटासम्म मात्रै शव आएको छ ।

लकडाउन सुरु भएको चैत ११ गते कुल १५ वटा शव पशुपति आर्यघाटमा आएको थियो ।त्यसको भोलिपल्ट चैत १२ मा कुल १२ वटा शव आर्यघाटमा जलाइएको छ । चैत १३ गते जम्मा १० वटा मात्रै शव आर्यघाटमा जलाइएको कोषले जनाएको छ ।

लकडाउनको चौथो दिन सबैभन्दा कम चार वटामात्रै शव ल्याइएको थियो । त्यसपछि क्रमशः चैत १५ मा २० वटा, चैत १६ मा दशवटा, चैत १७ मा ११ वटा, चैत १८ मा १० वटा, चैत १९ मा सात वटा र चैत २० मा आठ वटा शव आएको छ । यो संख्या दाउराबाट जलाउनेको संख्यामात्रै हो ।

विद्युतीय शवदाह तर्फ भने दैनिक औसतमा पहिलेको जस्तै आठ–नौ जनाको शव जलाइएको छ। ढकालका अनुसार अहिलेभन्दा पनि धेरै कम मान्छे हुने समय दशैंमा समेत औसतमा १८ जनाभन्दा कम शव आर्यघाटमा नआउने गरेको उनी बताउँछन् । जाडो महिनामा त दिनको औसत ४५ वटासम्म शव आउने गरेको थियो ।

अहिले अस्पताल बन्द हुँदा भएको कमीले कतै अस्पताल बन्द भएकै कारणले त शवहरुको कम भएको त होइन ? भन्ने आशंका उब्जिएको उनले प्रतिक्रिया दिए ।

उनी भन्छन् ‘हामीले हाम्रो पूर्वीय दर्शनले वकालत गरेका प्राकृतिक चिकित्सा पद्धतिहरु त कम नै प्रयोग गर्छौं । अब त्यसलाई पुनः जगाउने हो कि ? विश्वका शक्तिशाली देशहरु नै औषधि उद्योगको प्रभावमा परिरहेको अवस्थामा अहिलेको कोरोना कहरबाट पाठ सिकेर हाम्रै पूर्वीय जीवनपद्धतिलाई जागृत गर्दै अगाडि बढ्ने हो कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment