+
+
Shares

जेनजीको भ्रष्टाचाररहित मागमा प्रहरी विगतदेखि नै संयोजनकारी छ

जेनजी समूहको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता मागहरू कुनै एक समूहका सदस्यको मात्र नभई आम नागरिकको समेत हो ।

चन्द्रकुवेर खापुङ चन्द्रकुवेर खापुङ
२०८२ असोज ३१ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले २०१२ सालमा ७ हजार ७१५ जनशक्तिसहित कानुनी अस्तित्व पाएको थियो र अहिले ७९ हजार ५४१ जनशक्तिसहित २ हजार ६६० इकाइमार्फत सेवा दिइरहेको छ।
  • गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरी सदस्यहरू र अन्य दिवंगत आत्माहरूको श्रद्धाञ्जली व्यक्त गरिएको छ।
  • नेपाल प्रहरीलाई थप २५ हजारभन्दा बढी जनशक्तिको आवश्यकता रहेको र ९३० स्थानमा नयाँ इकाइ र ४०० स्थानमा युनिट स्तरोन्नतिको माग आएको छ।

इतिहासको विभिन्न कालखण्डमा विभिन्न नाम र स्वरूपमा छरिएर राष्ट्र र नागरिक सुरक्षामा केन्द्रित विभिन्न समूहलाई आजभन्दा सात दशकअघि नेपाल प्रहरी संगठनको रूपमा एकबद्ध गरेर प्रहरी ऐनमार्फत वैधानिकता प्रदान गरिएको थियो ।

२०१२ सालमा ७ हजार ७१५ जना प्रहरी जनशक्तिका साथ कानुनी अस्तित्वमा आएको नेपाल प्रहरी आज आफ्नो ७० औं बसन्त पार गर्दै गर्दा ७९ हजार ५४१ जनशक्तिसहित देशको हरेक भूगोलमा राज्यको प्रतिनिधित्व गर्दै २ हजार ६६० इकाइहरूमार्फत अहोरात्र परिचालित छ ।

प्रहरी ऐनद्वारा वैधानिकता प्राप्त गरेको दिनलाई त्यसको ४० वर्षपश्चात् २०५२ सालदेखि असोज मसान्तमा प्रहरी वार्षिक उत्सव मनाउने परम्पराको थालनी गर्नुहुने पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहराजीप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।

राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह र आक्रोशको समानन्तर रूपमा प्राप्त गर्ने वा सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको तथ्य सबैलाई जानकारी नै छ ।

राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बेहोरा दृढतापूर्वक उल्लेख गर्न चाहन्छु ।

गत भदौ २३ र २४ गतेको जेनजी युवा तथा विद्यार्थीहरूको प्रदर्शन र त्यसपश्चात्‌का घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्यहरू र ज्यान गुमाउनुभएका अन्य समस्त दिवंगत आत्माहरूको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु ।

जेनजी भाइबहिनीहरूको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता मागहरू कुनै एक समूहका सदस्यहरूको मात्र नभई आम नागरिकले समेत चाहेको कुरा हो ।

नेपाल प्रहरी त्यस्ता माग वा अपेक्षाहरूप्रति विगतदेखि नै संयोजनकारी रहँदै आएको नागरिक केन्द्रित स्वच्छ र व्यावसायिक प्रहरी सेवाको दूरदृष्टिसहित आम जनअपेक्षाहरू परिष्कृत, जवाफदेही, उत्तरदायी र प्रहरी सेवा गर्न कटिबद्ध रहेको छ ।

प्रहरी कर्मचारी साथीहरू राज्यका लागि हरेक परिस्थितिमा अग्रपंक्तिमा डटेर काम गर्ने यस संगठनका सदस्यहरू राज्यका अन्य अंग तथा निकायविरुद्ध व्यक्त हुने नागरिक आक्रोश र आवेगहरूको पनि प्रथम प्रहार सहन बाध्य छौं ।

राज्यको हितका लागि सरकारको निर्णयबमोजिम प्रचलित ऐन-कानुनले तोकिदिएको प्रावधानभित्र रही सम्पादन गरिएका कामकारबाहीको जिम्मेवारी सरकार र संगठनले लिन्छ र लिनुपर्छ । तर तपाईंका गैरव्यावसायिक आचरण र संगठन प्रतिकूलका कार्यहरूको बोझ संगठनले बोकेर बस्न सक्दैन ।

आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीका भौतिक संरचनाहरूमाथि भएको आक्रमण तथा व्यवहारले प्रहरी विरुद्धको आक्रोश र आपराधिक कार्य बढेको भन्ने लागे तापनि त्यो भ्रमको पर्दा एकैछिनमा च्यातिएको छ ।

हामी नतमस्तक छौं । नमन गर्दछौं, ती सहृदयी नागरिक मनहरूप्रति, हाम्रो समाजको विशाल हृदयप्रति, जसले स्वतफुर्त रूपमा प्रहरी कार्यालयहरूको पुनर्निर्माण र प्रहरी कर्मचारीहरूको पुनर्स्थापनालाई गति दिनुभएको छ । आज हामी क्षतिग्रस्त भएका ४६५ मध्ये ४०१ कार्यालयहरू सञ्चालनमा ल्याउन सफल भएका छौं । यो आड-भरोसा हामीलाई यही समाजले दिएको छ ।

प्रहरीको आफ्नो सत्प्रयास, समन्वय, जनसम्पर्क, पहल र हिजो हामीले प्रदान गरेको सेवाबाट प्रहरी बिनाको समाज परिकल्पना गर्न नसक्ने आदरणीय जनसमुदायहरूबाट असल मनहरू यसका साथ यो सबै काम सम्भव भएको छ ।

यसैगरी प्रहरी कर्मचारीहरूको निजी सम्पत्तिसमेत उल्लेख्य मात्रामा नष्ट भएको तथा अन्य क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण पनि बाँकी छ । मैले अपेक्षा गरेको छु, नेपाल सरकार तालुक गृह मन्त्रालय अवश्य पनि यस्ता कामहरूमा निरन्तर लागिरहेकै छ भन्ने विश्वास पनि लिएको छु ।

नेपाल प्रहरीको एकमात्र विकल्प अझ परिष्कृत नेपाल प्रहरी नै रहेको यथार्थलाई हाल नेपालभर नागरिकबाट विभिन्न ९३० स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी स्थानमा विद्यमान प्रहरी युनिट स्तरोन्नतिको मागले प्रष्ट गरेको छ ।

नागरिक स्तरबाट व्यक्त भएको यो अपेक्षा पूरा गर्न हामीलाई कम्तीमा थप २५ हजारभन्दा धेरै प्रहरी जनशक्तिको आवश्यकता पर्ने बेहोरा गौरवका साथ जानकारी गराउन चाहन्छु । तर आम नागरिकको यो मागलाई सगौरव व्यक्त गरिरहँदा प्रहरी कर्मचारीहरूको बोली, बचन र व्यवहारप्रति आम जनगुनासो मानव अधिकारको हनन, प्रचलित ऐन-कानुन बमोजिम प्रहरीले निर्वाह गरेको भूमिकामाथि उठ्ने प्रश्नचिह्नलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

हामीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता छ । नेपाल प्रहरीका सदस्यहरूले एक पटक आफैंले आफैंलाई ऐनामा हेर्न जरुरी छ । नागरिकले पसिना बगाएर तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर त्यही नागरिकमाथि हुने अपशब्द, रवाफ न हिजो स्वीकार्य थियो, न आज स्वीकार्य छ, न भोलि स्वीकार्य हुनेछ ।

आफूलाई कुनै समस्या वा अन्याय नपरी कोही पनि प्रहरी कार्यालयमा जाँदैन । प्रहरी कार्यालयमा आफ्नो पिरमर्का बोकेर आएका सेवाग्राहीहरूलाई आफ्नो अधिकार क्षेत्रभित्र भए समस्या सम्बोधन तत्काल गर्ने, समाधान गरिदिने र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको भए सही बाटो देखाएर पठाउनु हाम्रो कर्तव्य हो ।

तर, यो न्यूनतम जिम्मेवारी निर्वाहमा पनि प्रहरीबाट यथेष्ट सहयोग नमिलेको गुनासो बोकेर कोही पनि सेवाग्राही प्रहरी कार्यालयबाट फर्कन नपरोस भन्ने चाहन्छु । हामी सबै एकदिन यो बर्दी खोलेर फेरि त्यही समाजमा नै जाने हो । त्यसैले सेवा निवृत्त जीवनमा आफ्नो छरछिमेक समाज र आफ्नै सन्ततिहरूको नजरमा सम्मान र गौरव गर्न लायकको सेवा प्रवाह गर्न कन्जुस्याईं नगरौं ।

आफूले आफैंलाई ढोग्नु पर्ने काम नगर्ने प्रतिबद्धता गरौं । हामी कहाँकहाँ सच्चिन आवश्यक छ, त्यो मनन गर्दै कार्यसम्पादन गर्न सम्पूर्ण सकल दर्जाका प्रहरी साथीहरूलाई आग्रहसमेत गर्दछु । देशमा शान्ति सुरक्षा तथा अमन चयन कायम गरी नागरिकको जिउधन तथा वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्दै नेपाल प्रहरीलाई विश्वसनीय र प्रभावकारी संगठनको रूपमा रुपान्तरणको लागि कटिबद्ध रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट थप साझा संकल्पको आवश्यकता टड्कारो छ ।

राज्यको हितका लागि सरकारको निर्णयबमोजिम प्रचलित ऐन-कानुनले तोकिदिएको प्रावधानभित्र रही सम्पादन गरिएका कामकारबाहीको जिम्मेवारी सरकार र संगठनले लिन्छ र लिनुपर्छ। तर तपाईंका गैरव्यावसायिक आचरण र संगठन प्रतिकूलका कार्यहरूको बोझ संगठनले बोकेर बस्न सक्दैन ।

तसर्थ, सम्पूर्ण प्रहरी कर्मचारी साथीहरूलाई कुनै पनि किसिमको लोभ, लालच, मानसिक प्रताडना र आग्रह/पूर्वाग्रहबाट मुक्त रही उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह पनि गर्छु ।

नेपाल प्रहरी नेपालको संविधान, प्रहरी ऐन अन्य प्रचलित ऐनकानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्वप्रति संगठनिक रूपमा पूर्णतया निष्ठावान रहिआएको छ ।

राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले बिमुख भएको छैन र हुने कल्पना पनि गर्न नसकिने विश्वास पनि जनाउन चाहन्छु । तर यसको सेवा प्रवाह सांगठनिक सुदृढीकरण आधुनिकीकरण र यावत स्रोतसाधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तीकरण सबै जोडिएको नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट यी विषयहरूमा उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास पनि लिएको छु ।

उपलब्ध सीमित साधनस्रोतका बाबजुद विश्वव्यापी चुनौतीका रूपमा देखाएका संगठित अपराध, लागुऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार तथा आर्थिक अपराधहरूसँगै बदलिएको सामाजिक परिवेश तथा प्रविधिको विकाससँगै सिर्जित अप्ठ्याराहरू पराजित गर्दै हामीले निर्वाह गर्नुपर्ने दायित्व तथा जिम्मेवारीलाई राष्ट्र र नागरिक सेवामा पाएको सो अवसरका रूपमा ग्रहण गर्दै उच्च मनोबलका साथ कुरा गरेका छौं र गरिरहने छौं ।

नेपाल प्रहरीको संस्थागत विकासको श्रेय नि:सन्देह रूपमा हाम्रा अग्रग सदस्यहरूलाई जान्छ । उहाँहरूले देखाउनुभएको व्यावसायिक र आधुनिकीकरणका मार्ग पहिल्याउँदै आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौं।

(७०औं प्रहरी दिवसमा आईजीपी खापुङले दिएको वक्तव्यमा आधारित ।)

लेखक
चन्द्रकुवेर खापुङ

खापुङ  नेपाल प्रहरीको महानिरीक्षक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?