Comments Add Comment

स्थानीयमा कोरोना संक्रमण : सम्भावित महामारीको पूर्वसूचना !

२२ चैत, काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरस (कोभिड–१९) को तीन नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या नौ पुगेको छ । पहिलो केस माघ ९ मा देखिएको थियो भने चैत १० यता शुक्रबारसम्म थप ५ जनामा संक्रमत भेटिएको थियो ।

तर, अहिलेसम्म भेटिएका सबै संक्रमित हवाईमार्गबाट विदेशबाट आएका थिए र १२ गतेबाट लागू भएको लकडाउनका कारण संक्रमण फैलिएको थिएन ।

त्यसैले, नागरिकहरुले लकडाउनकै बीचमा बिस्तारै आफ्नो गतिविधि बढाउन चाहेका थिए भने सरकारले पनि २५ चैतपछि आन्तरिक आवागमन खुला गर्न छलफल सुरु गरेको थियो । तर, शनिबार सुदूरपश्चिममा एकसाथ तीन संक्रमित भेटिएका छन् ।

जनस्वास्थ्य विज्ञहरु यसलाई खतराको घण्टी मान्छन् र समयमा सतर्कता नअपनाउने हो भने कुनै पनि बेला कोरोनाले महामारीको रुप लिनसक्ने चेतावनी दिने गरेका छन् ।

यसका तीन कारण छन् :–

पहिलो : पहिलो पटक स्थानीयमा संक्रमण सरेको पाइयो

दोस्रो : भारतबाट आएकाहरुमा संक्रमण भेटियो

तेस्रो : संक्रमित व्यक्तिमा लक्षण देखिएको थिएन

शनिबार पोजेटिभ रिपोर्ट आएकामध्ये एक हुन्, धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला । यिनी नेपालका चौथा संक्रमितका आफन्त हुन् । ६ गते कतारबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीस्थित घर पुगेका पुरुषबाट उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

किनकी विदेशबाट आएका पुरुष केही दिन घरमै बसेका थिए र ११ गते मात्र अस्पताल भर्ना भएका थिए । अहिले उनकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि हुनुले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसलाई सरकारले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश भनेको छ ।

शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विदेशबाट आएका संक्रमित  व्यक्तिबाट स्थानीयमा सरेको पाइएकाले दोस्रो चरणमा प्रवेश गरेको मानिने बताएका हुन् ।

साथै, शनिबार नै संक्रमण देखिएका २१ र ४० वर्षका पुरुष भारतबाट आएकाहरु हुन् । यसअघि हवाई मार्गबाट आएकाहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । र, चरणबद्ध रुपमा अन्तर्राष्ट्रिय उडानमा कटौती गर्दै १० गतेबाट नेपाल आउन रोक लगाएका कारण ठूलो संख्यामा मानिसहरु आउन पाएका थिएनन् । आएकाहरुको पनि एक हदसम्म सूचना संकलन भएको छ ।

यो पनि पढ्नुहोस गौरीफन्टाबाट भित्रिएको भीडमा थिए कैलालीका कोरोना संक्रमित

तर, शनिबार भारतबाट आएकाहरुमा संक्रमण देखियो, जसको संख्या लाख बढी रहेको अनुमान छ । साथै उनीहरु कहाँ, कुन अवस्थामा छन् भन्ने यकिन तथ्यांक पनि छैन । त्यसैले अब नेपालमा संक्रमण कुन चरणमा छ भनेर बहस गर्नुलाई निरर्थक मान्छन् जनस्वास्थ्यविज्ञ डा. अनुप सुवेदी । ‘यो त हामीले खोज्दै जाँदा भेट्टाएको एक्टिभ केस हो, संक्रमण स्थानीय वा समुदायमा फैलिसकेको हुनसक्छ,’ उनले भने ।

त्यसो भए गर्ने के त ?

जनस्वास्थ्य विज्ञहरु भन्छन्, अब २५ गतेसम्म तोकिएको लकडाउन लम्ब्याउनुको विकल्प छैन । किनकी लकडाउन नै मानिसहरुबीच सामाजिक दुरी कायम गर्ने परम्परागत र बलियो उपाय हो । समयमै लकडाउन गरेका कारण हदसम्म कोरोनाको संक्रमण फैलिन पाएन ।

यो पनि पढ्नुहोस क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन्, सरकारलाई थाहा छैन

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पनि त्यही निष्कर्ष निकाल्दै लकडाउनको कार्यान्वयनमा अझ कडाइ गर्ने निर्णय गरेको छ । साथै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत-जावत रोक्ने निर्णय गरेको छ ।

लकडाउन लम्ब्याउने विषयमा भने अर्को मन्त्रिपरिषद् बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । तर, स्थानीय स्तरमा संक्रमण देखिएकाले लकडाउनले मात्र यो महामारीलाई रोक्न सम्भव छैन । अब ठूलो संख्यामा कोरोना परीक्षण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

त्यसका लागि पहिले परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ । अहिलेसम्म विदेशबाट आएका कुनै व्यक्तिमा लक्षण देखियो भने मात्र परीक्षण गर्ने गरिएको छ । र, उसलाई संक्रमण देखियो भने उसको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने र जसमा संक्रमणको लक्षण (उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा समस्या) देखिन्छ, उनीहरुको मात्र परीक्षण गर्ने गरेको थियो ।

अब यसले नपुग्ने भन्दै डा. सुवेदी भन्छन्, ‘अब विदेशबाट आएकाहरु मात्र होइन, उनीहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरौं र सामान्य लक्ष्मण मात्र देखिएको छ भने पनि परीक्षण गरौं । परीक्षण गर्दा केही बिग्रिँदैन ।’

यसका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सात प्रदेशमा हालै स्थापना भएको ल्याबहरु अपर्याप्त हुनेछ । यसका लागि निजी ल्याबहरुलाई पनि परीक्षण अनुमति दिनुका साथै र्‍यापिड डाइगोनोस्टिक टेष्ट प्रयोग गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

हुन त र्‍यापिड डाइगोनोस्टिक टेष्टको किटलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिएको छैन । तर, यसका आधारमा सम्भावित संक्रमित पत्ता लगाउन सकिने भन्दै डा. अनुप भन्छन्, ‘यो टेष्टमा जसको रिपोर्ट पोजेटिभ आउँछ, उनीहरुको फेरि पीसीआर ल्याब वा राष्ट्रिय जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न सकिनेछ । यसो नगरी ठूलो संख्यामा परीक्षण गर्न सकिन्न ।’

सरकारले पनि त्यतातिर जाने संकेत देखाएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्टमा जाने निर्णय गरेको छ । तर, जनस्वास्थ्य विज्ञहरु भने सरकारको यो सही निर्णय भएपनि अपर्याप्त भएको मान्छन् । किनकी भारतबाट आएका ठूलो संख्याका मानिसहरु गाउँगाउँमा पुगेका छन् र उनीहरु मध्ये जो कोहीमा संक्रमण भएको हुनसक्छ ।

डा. सुवेदी भन्छन्, ‘अहिले यसरी टेष्ट गर्दा दुई हजार संक्रमित भेटियो भने दुई लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्छ होला । झट्ट सुन्दा यो गाह्रो लागे पनि सम्भव छ । तर, भोलि २० लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्यो भने सम्भव हुँदैन ।’

त्यसमा सहमति जनाउँदै डा. विश्वनाथ कोइराला भन्छन्, ‘यो हामी होसियार हुनुपर्ने समय हो । लकडाउनलाई कडाइपूर्वक लागू गर्दै टेष्टलाई गति दिन सकेनौं भने महामारीलाई टार्न गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment