Comments Add Comment

दुनियाँकै ठूलो रोटेपिङ, एकसाथ १९ सय जना घुम्ने

फनपार्कमा हुने रोटेपिङहरूमा कति जनासम्म मानिस एकसाथ चढेर फनफनी घुम्न सक्लान् ? दुनियाँमा एउटा यस्तो रोटेपिङ बन्दैछ, जसमा एकसाथ १९ सय मानिस चढ्न सक्दछन् ।

संयुक्त अरब इमिरेट्सको एउटा टापुमा यो रोटेपिङ बन्न लागेको छ । यूएईको ब्लू वाटर्स टापुमा बन्न लागेको रोटेपिङको वजन ५ वटा जेट विमानजत्तिकै अर्थात् कुल ९ सय टन रहेको छ । यसको उचाइ २ सय ५० मिटरको रहेको छ । यसमा बस्नका लागि ४८ वटा खण्ड बनाइएको छ ।

यो रोटेपिङ बनाउनका लागि विश्वकै सबैभन्दा ठूलो क्रेनको प्रयोग गरिएको छ । जुन क्रेनले करिब १२०० मेट्रिक टन भार वहन गर्न सक्दछ । त्यस्तै, ३ हजार टन वजन उठाउन सक्ने अन्य दुई वटा क्रेनको पनि त्यहाँ प्रयोग गरिएको छ ।

उक्त रोटेपिङ निर्माण परियोजनाका व्यवस्थापक पियर्स सिडेका अनुसार, रोटेपिङको निर्माण कार्य झण्डै ९८ प्रतिशत सकिइसकेको छ । यो अंग्रेजी वर्षको अन्त्यसम्ममा यसको निर्माण सम्पन्न भई सञ्चालनमा आउने उनको दाबी छ ।

यो रोटेपिङ सञ्चालनमा आएसँगै विधिवत् रूपमा विश्वकै सबैभन्दा ठूलो तथा अग्लो रोटेपिङको कीर्तिमान बनाउनेछ । अहिले अमेरिकाको लस भेगासमा रहेको १ सय ६७ मिटर अग्लो रोटेपिङ नै विश्वको सबैभन्दा अग्लो रोटेपिङ हो ।

यूएईको जुन टापुमा दुनियाँको सबैभन्दा ठूलो रोटेपिङ बनाइँदैछ, त्यो टापु कुनै प्राकृतिक टापु नभई मानव निर्मित टापु हो । सन् २०१३ मा यूएईले समुद्रमा माटो भरेर उक्त टापु उठाएको थियो । सन् २०१९ को अप्रिलमा उक्त टापुमा विश्वकै ठूलो रोटेपिङ बनाउने घोषणा भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment