Comments Add Comment

गौरीफन्टाबाट भित्रिएको भीडमा थिए कैलालीका कोरोना संक्रमित

२२ चैत, कैलाली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै हजारौं प्रवासी नेपालीहरु सुदूरपश्चिम प्रदेशको नाका हुँदै नेपाल भित्रिए ।

तर, त्यही भिडमा रहेका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै त्यो भिडमा रहेकाहरुमा सबै कोरोना संक्रमणको जोखिममा परेका छन् । त्यसैले ती व्यक्तिहरुको खोजीमा प्रहरी प्रशासन जुटेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार कञ्चनपुरका ४१ वर्षीय पुरुष, कैलालीका २१ वर्षीय युवक र कैलालीकै ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक चैत १२ गते कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए । यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए । २१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा हुन् । ती तिनैजनाको उपचार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको र सबैको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

यो पनि पढ्नुहोस महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

नेपालमा कोरोना संक्रमित भित्रिन नदिने उद्देश्यले चैत १० गतेदेखि सबै सीमा नाकाहरु बन्द गराउने निर्णय संघीय सरकारले गरेको थियो । तर, रोजगारीका लागि भारत गएकाहरु हजारौंको संख्यामा सीमामा अलपत्र परेपछि स्थानीय प्रशासनको समन्वयमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट उद्धार गरेर उनीहरुकै घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको थियो ।

नेपाल–भारत सीमा बन्द हुँदा गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीहरुको भीडमा कैलालीका तिनै २१ वर्षीय युवक थिए, जसमा कोरोना संक्रमण पुष्टि भएको औपचारिक जानकारी सरकारले शनिबार दिएको छ ।

स्रोतका अनुसार उनी चैत १२ गते राति १० बजे त्यहाँबाट बस चढेर १३ गते लम्कीचुहा नगरपालिका–९ प्रतापपुरस्थित घरमा पुगेका थिए । संघीय सरकारले नाकाबन्दी गरिसकेपछि सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई २१ वटा बसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाइएको थियो । संक्रमितसँगै रहेका सबैलाई घर पठाइएको बसमा को–को थिए भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुहोस क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन्, सरकारलाई थाहा छैन

यसैगरी अर्का कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर पुगेका थिए । उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भीडमा थिए ।

दुवै जना सयौंको संख्याको भीडमा रहेकाले अरुलाई पनि कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ । भारतबाट आएका केही व्यक्तिहरु सम्बन्धित तहमा बनाइएका क्वारेन्टाइनमा रहे पनि अधिकांश भने घरमै छन् ।

गत फागुन २२ गतेदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६७ हजारभन्दा बढी र कैलालीको गौरीफन्टा नाकाबाट ४२ हजार ५६ जना भित्रिएका थिए । उनीहरुमध्ये अधिकांस क्वारेन्टाइनमा छैनन् ।

कञ्चनपुर र कैलालीका पछिल्ला तीन नमूना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमित नेपालीहरुको संख्या ९ पुगेको छ । यसअघि कैलालीमै दुबईबाट आएका चौथो संक्रमित व्यक्ति छन् । उनैबाट कैलालीकी ४१ वर्षीया महिलामा कोरोना भाइरस सरेको थियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको यो घटना नेपालका लागि पहिलो हो । त्यसैले सरकारले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ ।

यसैगरी बागलुङमा २, काठमाडौंमा २ र धादिङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका पहिलो संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

यो पनि पढ्नुहोस कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment