Comments Add Comment

‘विश्वयुद्ध’को अग्रमोर्चामा सेता वस्त्रधारीमाथि भरोसा

कोरोना भाइरसको आतंकबाट प्रथम विश्व या तेस्रो विश्व, धनी या गरीब, कोही पनि मुक्त छैनन् । नदेखिने शत्रुहरुको आक्रमणले महाशक्ति राष्ट्रहरु पनि नीरिहजस्ता देखिएका छन् । अमेरिका र युरोपको अवस्था कहालीलाग्दो छ । सन्त्रास व्याप्त छ संसारभरका मानव जातिमाहरुमा ।

सामाजिक सञ्जालहरुमा अनेक खालका समाचारहरु आइरहन्छन् । नकारात्मक र सकारात्मक दुवैखाले समाचारका वीचमा विस्मय र दुःखका खबरहरु नै धेरै छन् । मन एकतमासले दुःखेको अनुभूति भैरहन्छ ।

फुलचोकीमुनिको मेरो गाउँ अहिले सुनसानलाग्दो छ । माथिको जंगल र क्षितिजमाथि उठेको आकाश निर्मल र सफा देखिन्छ । हावा स्वच्छ छ । हावामा एकखालको पुरानो सुवास फैलिएको छ । माटोको सुवास । वषौर्ं पहिले चैत्र महिनामा वर्षाका थोपा माटोका खस्दा आउने एउटा मीठो सुवास हुन्थ्यो, त्यहीखालको सुवास ।

वातावरणमा धुलो या दुर्गन्ध कतै छैन । स्निग्ध र स्वप्नील स्वच्छता व्याप्त छ बस्तीमा । शान्ति पनि अजीव खालको छ । डर लाग्ने खालको । हुरी पहिलाको सुनसान त पक्कै होइन ।

यदि यो तेस्रो विश्वयुद्ध भएको भए, सैनिकहरु पहिलो मोर्चामा बसेर लड्थे नै । यो त फरक र स्वास्थ्यकर्मीहरुले अग्रमोर्चामा डटेर लडनुपर्ने युद्ध भयो । सैनिक, तोप या राडार र युद्धवर्षक विमानको यो युद्धमा कुनै अर्थ रहेन

मान्छेहरु सबै थाकेर घरभित्र सुस्ताउन थालेको जस्तो । अनि, मानौं मान्छेको चहल-पहल घटेपछि चराचुरुंगीको चिरबिरले वस्तिमा सजीवता थपेको छ । एउटा फरकखालको अनुभुति मिसिएर वातावरणमा पि्रयता व्याप्त भएको जस्तो ।

लकडाउन चलिरहेको छ । आज बाह्रौं दिन । हामी दुईजना मात्र छौं । लकडाउनमा हामी तीनतिर परेका छौं । जेठी निर्भा युनिभर्सिटिबाट घर आउने अवस्था रहेन । सानी नोरा स्कुलको जाँच सकेर मामाघर गएकी, उतै अडकिएकी छन् । सधैं जनता र कार्यकर्ताको बाक्लो चहल-पहल रहने हाम्रो घर पनि सुनसान छ ।

अनेक समस्याहरु आउँछन् । जनप्रतिनिधि भएपछि लकडाउन छ भनेर घरभित्रै बसिरहन पाउने सुविधा पनि छैन । जनताको चासो र समस्यामा पुगिहाल्नुपर्ने अवस्था छँदैछ । मजदुरी गरेर खानेहरुको दैनन्दिनको समस्या त नहेरेर भएन पनि ।

संसारव्यापी यस्तो महाविपत्तिसँग पहिलो मोर्चामा बसेर लड्ने त स्वास्थकर्मीहरु नै हुन् । उनीहरुको विकल्प छैन ।

यदि यो तेस्रो विश्वयुद्ध भएको भए, सैनिकहरु पहिलो मोर्चामा बसेर लड्थे नै । यो त फरक र स्वास्थ्यकर्मीहरुले अग्रमोर्चामा डटेर लडनुपर्ने युद्ध भयो । सैनिक, तोप या राडार र युद्धवर्षक विमानको यो युद्धमा कुनै अर्थ रहेन ।
वर्षौं पहिलेको प्रसंग हो यो ।

मेरा भाइलाई दादुराविरुद्धको दोस्रो खोप लगाउनुपर्ने थियो । ऊ ६ वर्षको थियो । दोस्रो खोप त्यो वर्षभित्रै दिनुपर्ने हुन्थ्यो । आमा र म शान्तभवन अस्पतालमा भाइलाई लिएर भ्याक्सिन लगाउन गयौं ।

अस्पतालको गेटमा पुगेपछि भाइ रुन र चिच्याउन थाल्यो । डाक्टर र नर्सहरु देखेपछि उ डराउने र भाग्ने गर्थ्यो। तपाईंको बच्चालाई अलि सम्झाउनुस् । नर्सले अलि दिक्क मानेर आमालाई अनुरोध गरिन् । आमाले उसलाई चकलेट दिएर अलि भावुक हुँदै सम्झाउन थाल्नुभयो । डाक्टर, नर्सको प्रशंसा गर्न थाल्नुभयो-

हेर बाबु, यी सेता लुगा लगाउने मान्छेहरु भगवानका प्रतिनिधिहरु हुन् । भगवानका धेरै कामहरु हुन्छन् । भगवान बढी नै व्यस्त रहनुहुन्छ । त्यसैले मान्छेलाई आपत पर्दा, भगवानका तर्फबाट काम गर्न यी सेता बस्त्रधारी मानिसहरुलाई भगवानले पठाउनुभएको हुन्छ । उनीहरुले मानिसलाई बचाउने काम गर्छन् । दुःख दिँदैनन् । यी करुणा र समर्पणका प्रतिमूर्ति हुन्छन । यिनीहरुलाई नमस्कार गर्यो भने भगवान खुशी हुन्छन् ।

आमाको व्याख्या सकिएपछि भाइले आँशु पुछ्यो । अगाडि पर्खिरहेकी नर्सलाई साना दुई हात जोडेर नमस्कार गर्यो । त्यसपछि तत्कालै उ भ्याक्सिन लगाउन तयार भै हाल्यो ।

त्यस दिनदेखि भाइ सधैं डाक्टर बन्छु भन्थ्यो । म पनि भगवानको प्रतिनिधि भएर मानिसहरुलाई बचाउँछु भन्थ्यो । यद्यपि समयक्रममा उ डाक्टर बन्नेतिर लागेन ।

आमाले भनेको त्यो प्रसंगपछि सेता वस्त्रधारीहरुप्रति मेरो अगाध सम्मान रही आएको छ । बाटामा दौडिने एम्बुलेन्स र अस्पतालमा सेता बस्त्रधारीहरुलाई देख्नासाथ मलाई मेरी आमाको याद सघन भएर आउँछ । उनीहरुप्रति मेरो सम्मान उँचो भएर आउँछ ।

विश्वव्यापी कोरोनाको महामारीले सबैजसो मुलुकहरु पीडित छन् । संसारभरमा इटलीको अवस्थालाई अलि जटिल र दुःखदायीपूर्ण मान्नुपर्ने हुन्छ । यो लेख्न बस्दासम्म इटलीमा संसार मै बढी झण्डै १५ हजार मानिसहरुको मृत्यु भएको छ ।

त्यहाँको अवस्था यतिसम्म डरलाग्दो भएको छ कि १० हजार स्वास्थ्यकर्मीहरु आफैंमा कोरोनाको संक्रमण भएको छ । यसरी संक्रमण ज्यादा भएको प्रदेशहरु लोम्वाडी र यमिलिया रोमाग्नाका अस्पतालहरुमा काम गर्ने जनशक्तिको व्यापक अभाव हुन पुग्यो । बिरामीहरुको संख्या दिनदिनै बढिरहेकै छ ।

यसैवीच मार्च २१ को एकाबिहानै इटलीका प्रधानमन्त्री गिइसेपे कोन्टेले आफ्नो फेसबुक पेजमा सेवानिवृत्त र ईच्छुक स्वस्थ्यकर्मीहरुलाई काममा फर्किनका लागि असाधारण अपिल गरे । त्यो अपीललाई प्रधानमन्त्रीले ‘आपतकालीन रुवाइ’ भने ।

चौबीस घण्टाभित्र ७,९२३ जना डाक्टरहरुले ती अस्पतालहरुमा गएर काम गर्न नाम लेखाए र काममा फर्किन तयार भए । त्यसखालको तत्परतालाई क्षेत्रीय मामिला मन्त्री फ्रान्सिस्को वासीले स्वास्थ्यकर्मीहरुको ‘मुलुकप्रतिको असीम माया र गौरव’ भनेर उल्लेख गरे ।

इटली कोरोनाको आपतबाट आक्रान्त त छ, तर फेरि यस्ता महान राष्ट्रसेवकहरुको उत्साह र समर्पणले कोरोनाविरुद्धको लडाइँमा जित हासिल गर्न सक्षम पनि छ, उनले अन्तमा लेखे ।

हेलेन केलरले भनेकी छिन्, मुलुकलाई आपत पर्दा काम नलाग्ने सिप र ज्ञानको केही अर्थ हुने छैन ।

बेलुकी सीएनएन न्यूजको स्टोरी हेर्दै थिएँ । नाति-नातिनाको प्रतिरोधका बावजुत पनि एकजना चिकित्सकले आफू युद्धमोर्चामा जान तयार भएको बताइरहेका थिए ।

जीवनमा धेरै काम गरें, तर मेरो देशलाई चाहिएका बेलामा यो शरीर काम आएन भने म हुनुको के अर्थ ? यसर्थ मलाई नरोक । उनको अनुहारमा आत्मविश्वास भरिएको थियो ।

अर्की २९ वर्षीया चिकित्सक, ५ वर्षकी छोरीकी एकल आमा निसंकोच कोेरोना विरुद्धको युद्धमा जान तयार भएकी थिइन् ।

यस्ता कथाहरुलाई पछ्याइरहँदा ती महान मान्छेहरुप्रति अगाध सम्मान भरिएर आउँछ ।

इटलीको अनुभव एकखालको अप्रत्यासितजस्तो देखिन्छ । उनीहरुले किन आफूलाई तयार राख्न सकेनन् भनेर विभिन्न टिप्पणीहरु हुने गरेका छन् । युरोपियन युनिएनले सहयोग गर्न नसक्ने बताएपछि इटलीले चीनको सहयोग मागेको थियो । चीनले मार्च १८ मा ३०० जना चिनियाँ डाक्टरहरु र औषधि सामाग्रीहरु इटली पठाएको थियो । चीनले १० हजार भेन्टिलेटर, २० लाख फेस मास्क र दुई हजार प्रोटेक्टिभ सुटहरु पनि इटली पठाएको थियो ।

चिनियाँ रेडक्रसले ३० मेटि्रक टन सामान र ९ जना चिकित्सकसमेत रोम पठाएको थियो । चिनियाँहरुले तुरुन्त काम थालेपछि इटलियनहरुमा एक खालको भरोसा उत्पन्न भएको थियो । मार्च २३ को साँझ रोमका नागरिकहरुले बार्दलीमा उभिएर चिनियाँ राटि्रय गीत गाएको प्रसंग उल्लेख्य छ ।

मानवीयताले मान्छे-मान्छेलाई जोडेको त्यो घटनालाई अलौकिक मान्न सकिन्छ ।

मानवता जिउँदो रहेसम्म संसारले कोरोनाजस्तो महामारीबाट पार पाउन कठिन हुने छैन । सहाराको खोजीमा रहेका मान्छेहरुको मनस्थितिलाई म आत्मसाथ गरिरहेको हुन्छु ।

संसारभर स्वस्थ्यकर्मीप्रति सम्मान जनाइएका थुप्रै उदाहरणहरु छन् । चीनको वुहानमा माहामारीसँग जुध्न आएका स्वास्थ्यकर्मीहरुको विदाइमा पुरै शहर भावविभोर भएर उठेको प्रसंग उल्लेख्य छ ।

त्यस्तै वेलायतमा १० मिनेटसम्म उनीहरुको सम्मानमा देशभरका मानिसहरुले ताली बजाएको उदाहरण नै भनौं । अमेरिका, भारत तथा अन्य मुलुकहरुको गरेका प्रेरणादायी उत्प्रेरणाहरुले आम मानिसहरुको सेता वस्त्रधारीप्रतिको भरोसालाई प्रतिबिम्वित गरेको छ ।

कल्पना गर्न थाल्छु, कतै हाम्रो मुलुकमा महामारीको जटिल परिस्थिति बन्यो भने के होला ?

अनलाइनखबरमा समाचार पढ्दै थिएँ । हाम्रा अस्पतालहरुले कोरोनाको डरले अरुखालका बिरामीहरुलाई पनि उपचार दिएका छैनन् । ज्वरो त कोरोनाको मात्र हुँदैन नि । ज्वरो आएका बिरामीहरु कुनै अस्पतालले हेर्न नमानेर एकपछि अर्को अस्पतालमा पुगेका कथाहरु पढ्दै गर्दा दुःख लाग्छ ।

सरकारले परिस्थिति जटिल बनेको अवस्थामा एनएमसी गरेका चिकित्सकहरुको अभिलेख त राखेकै होला । उनीहरुलाई उचित जिम्मेवारी त देला । तर, सेता बस्त्रधारीहरुले जबसम्म अन्तरमनदेखि जिम्मेवारी सम्हाल्दैनन् यो चुनौतीलाई सामना गर्न कुनै पनि मुलुक सक्षम हुने छैन ।

सरकारले पनि उनीहरुलाई सुरक्षित रहन आवश्यक सरसामानहरु अनिवार्य उपलब्ध गराउनुपर्छ । उनीहरुलाई उत्प्र्रेरित गर्न कुनै कसर बाँकी राख्नुहुँदैन ।

अन्य कतिपय मुलुकहरुले प्राइभेट अस्पतालहरुलाई राष्ट्रियकरण पनि गरेका छन् । भारतले स्टार होटेलहरु लिएर चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई राख्ने व्यवस्था मिलाएको छ । घर जाँदा परिवारमा संक्रमण हुन सक्ने भएकाले यसखालको प्रवन्ध गरिएको भन्ने छ ।

भारतमा जुन प्रकारले संक्रमण फैलिरहेको छ, त्यो नेपालका लागि अत्यन्त चिन्ताको विषय बन्नुपर्छ ।

सरकारले लकडाउन गरेपछि संक्रमण धेरै फैलिन सकेको छैन । संक्रमणको शंका लागेका नागरिकहरुलाई परीक्षण गर्ने प्रणालीलाई देशभर लिएर जानुपर्ने छ । खुला सीमाको आवागमन नियन्त्रण र व्यवस्थापनको पक्ष छ ।

हाम्रा लागि परिस्थिति सजिलो पनि त छैन । लकडाउन अनन्त जाने कुरा पनि भएन । लकडाउन खोलेपछिको अबको हाम्रो रणनीति पनि तयार हुनुपर्छ ।

वुहान शहरमा जसरी संक्रमण पुनः फैलिन थालेपछि फेरि लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भएको हामीले सुनेकै छौं । त्यसबाट हामीले शिक्षा लिनुपर्छ । हाम्रा आगामी रणनीतिहरु प्रभावकारी ढंगले अख्तियार गरिनुपर्छ ।

अन्तमा, म फेरि फर्किएर त्यही प्रसंगमा पुग्छु । मेरी आमाले भनेजस्तै हाम्रा स्वास्थ्यकर्मीहरुले भगवानको प्रतिनिधि बनेर यस विषम परिस्थितिमा काम गर्नु पर्ने छ । अहिलेसम्म त ठिकै छ । यदि परिस्थिति प्रतिकूल बन्दै गयो भने उनीहरुले कठिन परीक्षामा सामेल हुनुपर्ने छ । आशा छ, हाम्रा स्वास्थ्यकर्मीहरु हर प्रतिकुल परिस्थितिहरुका लागि तयार रहेका हुनेछन् ।

सेता वस्त्रधारीहरुप्रतिको मेरीआमाको भरोसा प्रगाढ भएको र पुरै मुलुकले उनीहरुप्रति गर्व गर्ने र गौरव गर्नेखालको परिस्थिति निर्माण भएको हुनेछ भनेर म आशावादी रहने गरेको छु ।

(पूर्वडीआइजी सिलवाल ललितपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment