Comments Add Comment

क्वारेन्टाइनका भारतीयको अवस्था बुझ्न विधायक त्रिपाठी भैरहवामा

२६ चैत ,बुटवल । रुपन्देहीको भैरहवास्थित क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको अवस्थाबारे बुझ्न महाराजगंजको नौतनवा विधानसभाका विधायक अमनमणि त्रिपाठी भैरहवा आएका छन् ।

सीमा नाकामा अलपत्र १५४ जना भारतीय नागरिकहरु भारत जान नपाएपछि उनीहरुलाई भैरहवास्थित प्रतिमान-नीमा कलेजमा राखिएको छ । उनीहरु चैत १८ गतेदेखि क्वारेन्टाइनमा छन् ।

भारतीय नागरिकहरु अवस्था बुझेपछि बोल्दै विधायक त्रिपाठीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमै नै समस्या आएको अवस्थामा नेपालले भारतीय नागरिकका लागि राम्रो व्यवस्था गरेको बताए । नेपाल सरकारले गरेको व्यवस्था आफूलाई राम्रो लागेको उनले बताए ।

‘प्रदेशसभा सदस्य माननीय सन्तोषकुमार पाण्डेयज्यू निरन्तर यहाँ आएर भारतीय नागरिकको अवस्था बुझ्नुभएको छ, त्यसैले पनि हामी आफ्नो नागरिकहरु सुरक्षित हुनुहुन्छ भन्ने कुरामा विश्वस्त छौं,’ उनले भने । क्वारेन्टाइनमा सानोतिनो समस्याहरु अब समाधान हुने उनले विश्वास व्यक्त गरे ।

भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई पनि व्यवस्थित ढंगले राखिएको उनले बताए ।

नेपालीहरुको खाना तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको विधायक त्रिपाठीको भनाइ छ । कुनै असुविधाबारे जानकारी भए तत्काल त्यसलाई समाधान गर्नेतर्फ स्थानीय प्रशासन लागेको उनले बताए ।

प्रदेशसभा नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै चिन्तित रहेको बताए ।

भारतीय नागरिकहरुको अवस्थाबारे भैरहवा आएका विधायक अमनमणि त्रिपाठीले क्वारेन्टाइनमा खाना, स्वास्थ्य परीक्षण तथा बसोबासको व्यवस्थाबारे सकारात्मक रुपमा लिएको बताए ।

आफ्नो देशको नागरिकहरुको अवस्था बुझ्ने जनप्रतिनिधिहरुले दायित्व अनुरुप विधायक त्रिपाठी नेपाल आउनु सकारात्मक रहेको पाण्डेयले बताए ।

विधायक त्रिपाठीसहित सुनौली ग्राम पञ्चायतका चेयरम्यान सुधिर त्रिपाठी भैरहवा आएका थिए ।

यसअघि प्रदेशसभा सदस्य पाण्डेय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता खड्कबहादुर खत्री नेपालीहरुको अवस्था बुझ्न शुक्रबार नौतनवास्थित क्वारेन्टाइनमा पुुगेका थिए ।

नौतनवाको तीन अलग-अलग स्थानमा रहेको क्वारेन्टाइनमा ३ सय बढी नेपालीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment