Comments Add Comment

हामी त घरमा बस्छौं, तिमी के गर्छौ सरकार ?

२४ चैत, काठमाडौं । फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएपछि सरकारले देशभर लकडाउन घोषणा गर्‍यो । जसलाई आम नागरिकले सहर्ष स्वीकार गरे । सरकारले सुरुमा सात दिनलाई भन्यो, नागरिकले आफूलाई घर/फ्लाट/कोठाको चौघेरामा सीमित गरे ।

१८ गते बिहान ६ बजेको भाका नसकिँदै सरकारले फेरि भन्यो, अब २५ गते मध्याह्न १२ बजेसम्म घरमै बस । नागरिकले त्यसलाई पनि सहजै स्वीकार गरेका छन्, कुनै गुनासो गरेका छैनन् ।

लगातार १४ दिन घर, कोठामा सीमित हुँदा धेरैलाई हातमुख जोर्न धौधौ परेको छ। समस्या थपिएका छन् । तैपनि सबै सहेर लकडाउन गर्ने सरकारको निर्णय जनताले पालना गरेका छन् ।

लकडाउन सरकारले घोषणा गरेको भए पनि त्यसको कार्यान्वयन आम नागरिकले गरेका हुन् ।

सरकारले चाहिँ के गर्‍यो त ?

  • थप १०३२ टेष्ट
  • सुस्त कन्ट्याक ट्रेसिङ
  • थोरै स्वास्थ्य सामग्री खरिद
  • केही स्थानमा पीसीआर ल्याब स्थापना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन लागू हुनु अघिल्लो दिन साँझ ६ बजेसम्म छ सय १० नमुना परीक्षण भएको थियो । यो संख्या अहिले एक हजार छ सय ४२ पुगेको छ । अर्थात् १४ दिनमा १०३२ नमुना परीक्षण भए । यसलाई औसतमा हिसाब गर्ने हो भने दैनिक ७३/७४ वटा नमुना परीक्षण भयो ।

सरकारले के गर्ने हो ? टेष्टलाई व्यापक बनाइन्छ कि ? दायरा बढ्छ कि, अरु के हुन्छ ? वैज्ञानिक कुरा जनतालाई भनिदिनुपर्छ

लकडाउनकै अवधिमा थप ७ जनामा संक्रमण भेटियो । कुनै पनि व्यक्तिमा संक्रमण भेटिनासाथ उनको सम्पर्कमा आएकाहरुलाई खोज्ने, क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने गर्नुपर्छ । तर, कन्ट्याक ट्रेसिङ निकै सुस्त गतिमा भइरहेको छ ।

संक्रमित व्यक्तिसँगै अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानमा सँगै यात्रा गरेकाहरु अझै सम्पर्कमा आएका छैनन् भने सार्वजनिक यातायात र भेटघाटहरुमा सहभागीहरुलाई खोजबिन गर्ने र परीक्षणको दायरामा ल्याउने काम भएको छैन ।

लकडाउनकै अवधिमा सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याएको छ । तर, निकै कम मात्र । ल्याएका सामानमध्ये पर्सनल प्रोटेक्भिट इक्युपमेन्ट (पीपीई) मा गाउन मात्र भएकाले काम नलाग्ने भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

साथै, ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौताका कारण सरकारले बद्नामी त कमायो नै, सम्झौता नै रद्द गर्नु परेकाले थप स्वास्थ्य सामग्री ल्याउने प्रक्रियासमेत केही समय लम्बिने देखिएको छ ।

१४ दिनको यो अवधिमा सरकारले गरेको अर्को काम भनेको सात प्रदेशमा ल्याब स्थापना हो । चीनबाट आएको पीसीआर मेसिन प्रदेशहरुमा राखेर ल्याब स्थापना गरिएको छ। यो सकारात्मक छ । तर, एउटा ल्याबबाट दिनमा १०/१२ वटा मात्र नमुना परीक्षण गर्नेसक्ने भएकाले जुन गतिमा परीक्षण गर्नुपर्नेछ। त्यो पूरा नहुने स्वयं सरकारी अधिकारीहरुले स्वीकार गरेका छन् ।

लकडाउन थप होला, तर

लकडाउनकै अवधिमा दुबईबाट आएका चौथो संक्रमितकी भाउजूलाई पनि संक्रमण भेटियो र नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गर्‍यो ।

त्यसले अब लकडाउन लम्ब्याउनुको विकल्प छैन । सरकार पनि त्यही निर्णय गरेको छ ।

तर, लकडाउनको अवधि थप गर्दैगर्दा सरकारले आफ्नो योजना पनि नागरिकलाई बताउनुपर्ने जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षित बताउँछन् ।

‘लोकल ट्रान्समिसन देखिएकाले अब लकडाउन थप्नुपर्छ, सरकारले थप्छ पनि होला,’ उनले भने, ‘तर, यो अवधिमा सरकारले के गर्ने हो ? टेस्टलाई व्यापक बनाइन्छ कि ? दायरा बढ्छ कि के अरु हुन्छ ? वैज्ञानिक कुरा जनतालाई भनिदिनुपर्छ ।’

पूर्वस्वास्थ्यमन्त्री गगन थापा पनि अब लकडाउन थप हुँदा टेष्ट, कन्ट्याक ट्रेसिङ र हस्पिटल सिस्टम सुधारमा के-के गर्छु भनेर सरकारले भन्न सक्नुपर्ने बताउँछन् । थापाले अनलाइनखबरसँग भने, ‘लकडाउन सरकारले घोषणा गर्ने हो, त्यसको पालना गर्दै घरमा बस्ने, बाहिर नजाने नागरिक हुन्, सरकार तिमीले चाहिँ के गर्छौं ?’

यसैमा सहमत अर्का पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी भन्छन्, ‘यस अवधिमा धेरैभन्दा धेरै टेस्ट र त्यसअनुसार कन्ट्याक ट्रेसिङ होस् भन्ने जनगुनासोलाई सम्बोधन गर्दै सरकारले हामी धेरैभन्दा धेरै परीक्षण गर्छौं, तपाईंहरुले सहयोग गर्नुहोस् भन्नुपर्छ ।’

बागलुङ, कैलाली र कञ्चनपुरमा र्‍यापिड टेष्ट गरेर नपुग्ने भन्दै उनले काठमाडौं, पोखरा, विराटनगर, धनगढीलगायतका ठूला शहरहरुमा परीक्षण गर्नुपर्ने सुझाए । विदेशबाट आएका धेरैलाई क्वारेन्टाइनमा राख्न नसकेको भन्दै उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुको प्रोटोकल मेन्टेन गरे भयो । जो क्वारेन्टाइनमा छैनन्, उनीहरुले संक्रमण गराउन सक्छन् । उनीहरुलाई ट्रेसिङ गरेर टेस्ट गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment