Comments Add Comment

कोरोनाले खोसिएको बाईसधाराको रौनक (फोटो फिचर)

२६ चैत, काठमाडौं । हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन काठमाडौंको बालाजुस्थित बाईसधारामा मेला लाग्थ्यो । बाईसधारामा नुहाउनेहरुको भिड लाग्थ्यो । विगतमा हरेक वर्ष ठेलमठेल हुने बालाजु बाईसधारा क्षेत्र आज भने सुनसान छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण मेला, महोत्सव, सभा जस्ता भिडभाड गर्न प्रतिबन्ध छ । त्यतिमात्रै होइन, मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन रोक लगाइएको छ । त्यसैको प्रभावले हो बालाजु बाईसधारा क्षेत्र आज सुनसान भएको ।

बिहान मर्निङ वाकमा निस्किएका केही मानिसहरु फाट्टफुट्ट बाइसधारामा देखिए । पुजारीले नित्य पूजामात्र गरे । तर, मेला भने लागेन । मूल पुजारी थकाली धनलाल महर्जनले भने, ‘कोरोना भाइरसको संक्रमणका कारण यो वर्षको मेला स्थगित गरिएको छ । तर, भगवानको पूजा आराधना भने गरिन्छ ।’

हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेलालाई नेवार समुदायले ल्हुती पुन्हीको रुपमा मनाउने गर्छन् । चैत शुक्ल पूर्णिमाको दिन मन्नादी देवीको जन्म भएको विश्वास गरिन्छ । त्यसैले यस दिन महिलाहरुले बाईसधारामा नुहाएमा फलिफाप हुन्छ भन्ने धार्मिक विश्वास छ ।

चैत शुक्ल पूर्णिमाको दिन बाइसधारामा स्नान गरी दिवंगत आफन्तको नाममा बत्ती बाल्ने परम्परा छ । साथै यसैदिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा छ ।

बालाजु बाईसधारा निवासी सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका अनुसार विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत बालाजु बाइसधाराको जात्राले निरन्तरता पाएको थियो । सदियौँदेखि चलिआएको यो मेला कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष स्थगित गरिएको मानन्धरले बताए ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनि पर्छ । यस स्थानलाई नेवार समुदायले ल्हुती भन्ने गर्छन् । नागार्जुनको वनमा एक किसिमको ल्हुती भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्दै बालाजुको धारामा आउने भएकाले उक्त पानीमा औषधीय गुण रहेको जनविश्वास रहेको मन्त्री मानन्धरले बताए । ‘त्यसैले बालाजु बाईसधारामा नुहाउँदा छालासम्बन्धी रोग निको हुने जनविश्वास छ,’ मन्त्री मानन्धरले भने ।

बालाजुमा नेपाल संवत् ८७५ मा सबैभन्दा पहिले कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले २१ वटा ढुंगेधारा बनाएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा थपेर धाराहरुको संख्या २२ पुर्‍याए । त्यसपछि यो क्षेत्र बाईसधाराको नामले चिनिँदै आएको स्थानीयवासी बताउँछन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment