Comments Add Comment

उद्योगी र सरकारको दावी : खाना पकाउने ग्यास बिक्न छोड्यो

२५ चैत, काठमाडौं । खाना पकाउने एलपी  ग्यासको बिक्री घटेर सबै उद्योगको भण्डारण भरिएको ग्यास उद्योगीले दाबी गरेका छन् । आधा सिलिन्डर ग्यासको प्रावधानले अत्यधिक मौज्दात बस्दा आयात नै रोकिने अवस्था आएको उद्योगी शिवप्रसाद घिमिरेले बताए । सरकारले पनि उनीहरुको दावी सत्य भएको बताएको छ ।

‘देशैभरका सबै उद्योगको ग्यास भण्डार, उद्योगमा रहेको सिलिन्डर र बुलेटमा गरेर झण्डै २० हजार मेट्रिकटन ग्यास भण्डारण हुन पुगेको छ,’ घिमिरेले भने । केही समय अत्यधिक माग भएको ग्यास पछिल्लो दुई दिनदेखि बिक्रि हुनै छोडेको उनलेे बताए ।

देशभरका ५९ वटा ग्यास उद्योगको भण्डारण र सिलिन्डर भरिएर दुईदेखि ६ वटासम्म बुलेट पनि भरिन पुगेको घिमिरेको दाबी छ । ‘आयात निरन्तर रहेको तर खपत न्यून हुँदा देशैभरको सबै ६ सय बुलेट भरिने अवस्था आइलागेको छ, यस्तो भयो भने त आयात गर्न पनि सक्दैनौं,’ उनले भने ।

देशैभरका उद्योगमा ग्यासको भण्डारण लगभग पूर्ण भएको र बिक्री घटेको जानकारी व्यवसायीले गराएको नेपाल आयल निगमका एलपिजी विभाग प्रमुख दीपक बरालले बताए । अत्यधिक माग सम्बोधन गर्न निगमले सुरु गरेको आधा सिलिन्डर ग्यासको निर्णयले थोरै भए पनि सबै मानिसले ग्यास पाएको बरालले बताए ।

आधा सिलिन्डर ग्यास मौज्दात नगर्ने उपभोक्ताको स्वभावको कारणले पनि खपत घटेको हुन सक्ने उनको आकलन छ ।

ग्यास उद्योगीले मंगलबार उद्योगमन्त्री लेखराज भट्ट र वाणिज्य सचिवलाई भेटेर आधा सिलिन्डरको प्रावधान हटाईदिन आग्रह गरेका छन् । बजारमा कम मात्रामा ग्यास जाँदा आयात रोकिने अवस्था बनेको भन्दै उद्योगीहरुले पूर्ण सिलिन्डरको बिक्रिमा जान आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मौज्दातलाई यथावत राख्दै आएका बुलेटबाट मात्रै बिक्रि गरेर बजारको आयत धानिने अवस्था नआई पूर्ण सिलिण्डरको निर्णय नहुने नेपाल आयल निगमले जनाएको छ ।

‘अभाव हटेर ग्यास मौज्दात बस्नु राम्रो कुरा हो, सम्भावित संकट अझै नटरेकाले मौज्दात जोगाएर बजारको  खपत सामान्य बनाउनु अनिवार्य छ, कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment