फूल किन सुन्दर लाग्छ ? साहित्यमा यो छलफल चिरपरिचित नै हो। तर विज्ञानमा यसको छलफल फरक स्तरको हुन पुग्छ। धुरन्धर दुई वैज्ञानिकहरूले यस विषयमा दार्शनिक तर्क गरेका छन्।
प्रसिद्ध विकासवादी जीववैज्ञानिक रिचर्ड डकिन्सले क्लाइम्बिङ माउन्ट इम्प्रोब्याबल नामको पुस्तकमा छोरीको प्रसङ्ग लेखेका छन्। उनी नै हुन्, प्रसिद्ध पुस्तक ‘द सेल्फिस जिन’ का लेखक।
६ वर्षकी जुलियटलाई ‘फूलहरू केका लागि हुन् ?’ भनेर सोधेको उल्लेख छ। बाबुछोरी पैदल यात्रा गर्दै थिए।
छोरीको जवाफ थियो— ‘संसारलाई सुन्दर बनाउन र मौरीलाई मह निर्माणमा सहयोग गर्न।’
डकिन्सलाई पनि उत्तर भावमा त मीठो लाग्यो। तर जीवविज्ञानका नियमअनुसार उत्तर ठीक थिएन। वैज्ञानिकले विज्ञानको नियममा उत्तर खोज्ने नै भए।
उनको तर्कअनुसार फूलहरू मानिसको संसार सुन्दर बनाउन बनेका होइनन्। बरु प्राकृतिक छनोट र प्रजननको प्रक्रियाले नै तिनको आकार, रङ, गन्ध र बनावट निर्धारण गरेको हो। फूलले पृथ्वीलाई सजाउनका लागि आफूलाई विकसित गरेको होइन। फूलको विकासमा त उसको आफ्नै वंश जोगाउने र परागणको प्रक्रिया मुख्य भूमिकामा थियो।
फूल पृथ्वी सुन्दर देखाउन बनेको होइन भने मानिसलाई फूल सुन्दर किन लाग्छ त ? फूल फुल्छ, रङ छर्छ, सुगन्ध फैलाउँछ। पुतलीहरू फूलमा बस्छन्, मौरीले रस चुस्छन्। मानिसले फूल हेरेर आनन्द मान्छन्। तर यहाँ विकासवाद, गणित, सूचना, चेतना र दर्शनको एउटा अनौठो सङ्गम भेटिन्छ।
अर्का वैज्ञानिक डेभिड ड्वीचको विचार निकै अर्थपूर्ण हुन्छ। ड्वीचले आफ्नो पुस्तक ‘द बिगिनिङ अफ इन्फिनिटी’ मा ‘किन फूलहरू सुन्दर हुन्छन् ?’ भन्ने प्रश्न उठाएका छन्।
उनले विकासवादले फूल र किराबीचको सम्बन्धलाई राम्ररी व्याख्या गरेका छन्। फूलले किरालाई आकर्षित गर्छ र किरा फूलमा झुम्मिन्छन्। मानिसले त्यही फूललाई सुन्दर देख्छ। फूल र मानव चेतनाबीचको यो सम्बन्ध विकासवादी हिसाबले त्यति सिधा र सरल छैन।
ड्वीचका अनुसार यहाँ एउटा ग्याप अर्थात् सूचना वा विकासवादी रिक्तता छ। दुई भिन्न जीवबीच सञ्चार हुनका लागि सङ्केत चाहिन्छ। फूलको रङ, फक्रने समय, बनावट र आकारका निश्चित गुणहरूले परागण गर्ने जीवलाई सूचना दिन्छन्; तर ती गुणहरू मानिसको सौन्दर्यबोधसँग अचम्मले मेल खान्छन्।
प्रकृतिमा संयोग, अनुपात, लय, दोहोरिने संरचना र सन्तुलन जताततै देखिन्छन्। मानिसको मस्तिष्कले यस्ता सम्बन्धहरू छिटोछरितो गरी पहिचान गर्न सक्ने क्षमता विकास गरेको छ। सुरुमा यो क्षमता बाँच्नका लागि, खाना खोज्न, खतरा छुट्याउन वा वातावरण बुझ्न उपयोगी थियो। यही क्षमता हाम्रो सौन्दर्यबोधको आधार पनि बन्यो।
प्रकृतिमा रहेका संरचनात्मक अनुपात र तिनलाई महसुस गर्ने मानव चेतनाबीचको एउटा गहिरो सम्बन्धले नै मानिसमा सुन्दरताको अनुभव गर्ने क्षमता विकास भएको हो। अर्थात्, प्रकृतिले ‘सुन्दरता’ बनाउने कुनै योजना त बनाएको थिएन; तर प्रकृतिले निर्माण गरेका संरचना र मानव चेतनाको विकासबीच सम्बन्ध गाँसियो, सुन्दरताको अनुभूति हुन थाल्यो। यो वैज्ञानिक दर्शनशास्त्रभित्रको उत्तर हो।
प्रकृतिले फूल बनायो र मानिसले त्यसमा सुन्दरताको अर्थ खोज्यो।
यहाँ डकिन्स र ड्वीचको दृष्टिकोणमा एउटा रोचक भिन्नता छ। डकिन्सले प्रकृतिको कुनै निश्चित उद्देश्य नै हुँदैन भन्छन्। ड्वीचले प्रकृतिको सौन्दर्यको वस्तुगत पक्षलाई प्रश्न गर्न सकिन्छ भन्छन्। तर यी दुवैलाई जोडेर हेर्दा एउटा तेस्रो सम्भावना पनि देखिन्छ- सुन्दरता केवल फूलभित्र मात्र छैन। केवल मानिसको मनमा मात्र पनि छैन। यो त फूल र चेतनाको मिलनबाट उत्पन्न हुने एउटा सम्बन्ध हो। जस्तो कि हाइड्रोजन र अक्सिजनले माया गाँस्छन् र पानी बन्छ।
शिवम्, सुन्दरम्
काठमाडौंको पशुपतिनाथमा बुद्धको आकृतिजडित टोपी शिवको शिरमा राख्ने परम्परा छ। यो मुखाष्टमी परम्परा कार्तिक शुक्ल अष्टमीका दिन मनाइन्छ। त्यहाँ शिवलाई बुद्धको उपस्थितिले सुशोभित गरिन्छ।
अजन्ताको २६ नम्बर गुफामा शिवको मूर्ति छ। निधारमा बुद्धको आकृति उत्कीर्ण छ। मैले आफैंले देखेको र हृदयले महसुस गरेको त्यो दृश्य मेरो लागि केवल एउटा पुरातात्त्विक अवशेष मात्र होइन। यो त प्रकृति र चेतनाको मिलनको अर्को एउटा जीवन्त रूपक हो।
त्यो मूर्तिले एउटा अद्भुत सन्देश दिन्छ। शिवलाई संहार र सृष्टि पुनर्निर्माणका प्रतीक मानिन्छ। उनै शिवको निधारमा बुद्धको मूर्ति ! बुद्ध त करुणा र अहिंसाका पर्याय हुन्। दुःखबाट मुक्तिको मार्ग सिकाए। यी दुई भिन्न आध्यात्मिक धार हुन्। एउटा ऊर्जा र तपस्याको, अर्को शान्ति र करुणाको रूप। तर एउटै पत्थरमा एकअर्कालाई अँगालेर बसेका छन्।
यी मूर्तिहरू पनि फूल र पुतलीजस्तै हुन्। कुनै समयका कलाकारले ती ढुङ्गालाई काटेर, घोटेर एउटा आकार दिए। कलाकारको उद्देश्य कुनै जैविक आवश्यकता पूरा गर्नु थिएन। न त कुनै प्रजनन प्रक्रिया नै थियो। तर उनीहरूले आफ्नो सिर्जनामा अनुपात, लय र सन्तुलनको प्रयोग गरे।
ती रेखा, ती वक्रता र ती संरचनामा एउटा गहिरो गणितीय सम्बन्ध लुकेको छ। त्यसैले त मानिसको आँखाले तिनलाई हेर्दा सुन्दरता महसुस हुन्छ। तर शिव र बुद्धलाई नचिन्ने व्यक्तिका लागि सुन्दर नलाग्न पनि सक्छ।
अजन्ताको त्यो शिव–बुद्धको एकता होस् वा पशुपतिनाथको त्यो संस्कृति, यी सबैले सत्यम्–शिवम्–सुन्दरम् को एउटै गहिरो अर्थ बोकेका छन्। सत्य के हो ? शिव र बुद्ध दुवैले सत्यकै खोजी गरे। सुन्दरम् के हो ? ती ढुङ्गाका आकृतिहरू हेर्दा हाम्रो चेतनाभित्र उब्जने त्यो अनुभूति; जसले हामीलाई भन्छ— ‘कति सुन्दर !’
डकिन्सले भनेझैं प्रकृतिले फूल मानिसका लागि बनाएको होइन। त्यसैगरी प्राचीन कलाकारहरूले पनि ती मूर्तिहरू आजका मानिसलाई भावुक बनाउनका लागि बनाएका थिएनन्। उनीहरूले त केवल आफ्नो आस्था, आफ्नो जीवनको भोगाइ र आफ्नो युगको ज्ञानलाई ती ढुङ्गा–पहरामा उतारेका थिए।
तर आजको चेतनाले ती कलाकृतिहरूलाई नियाल्छ र सौन्दर्यको अनुभव गर्छ। त्यो अनुभव केवल एउटा कल्पना मात्र होइन। त्यो त ती संरचनामा रहेका अनुपात र सन्तुलनको उपज हो। त्यो अनुभव केवल भौतिक पत्थरमा मात्र सीमित छैन। त्यो त मानिसको चेतनाको क्षमताविना सम्भव नै हुँदैन।
हामी समयलाई घडीको सुईले नाप्छौं, तर घडी आफैंमा समय होइन। त्यसैगरी हामी फूलको रङ, आकार र बनावट देख्छौं; तर ती सबै मिलेर निस्कने ‘सुन्दरता’ कुनै एउटा भौतिक वस्तु मात्र होइन। समयको अनुभव हाम्रो चेतनाभित्र हुन्छ। त्यसैगरी सौन्दर्यको अनुभव पनि चेतनामा नै हुन्छ। तर यसको अर्थ यी दुवै केवल भ्रम वा कल्पना मात्र हुन् भन्नेचाहिँ होइन।
करुणा : शिवको निधारदेखि फूलसम्म
शिव–बुद्ध मूर्तिलाई फूलसँग जोडेर हेर्दा एउटा अनौठो सत्य देखिन्छ। करुणा भनेको अरूको पीडालाई आफ्नै झैं महसुस गर्ने क्षमता हो। यो कुनै भौतिक गुण होइन; चेतनाबाट प्राप्त परिणाम हो।
पुतलीको पखेटामा देखिने रङ र समायोजन जैविक आवश्यकताले गर्दा बनेका हुन्, तर मानिसले तिनलाई सुन्दर देख्छ। त्यसैगरी शिवको निधारमा कोरिएको बुद्धको प्रतिबिम्ब कुनै जैविक आवश्यकताबाट जन्मिएको होइन। दुई फरक दर्शनहरूको मिलनबाट उत्पन्न भएको चेतनाको एउटा संवाद हो। त्यहाँ करुणाको एउटा सूक्ष्म आभास महसुस हुन्छ।
फूल र पुतलीको सम्बन्धले जीवनलाई निरन्तरता दिन्छ। शिव र बुद्धबीचको सम्बन्धले आध्यात्मिक चेतनालाई जोगाएर राखेको छ।
पत्थरमा कुँदिएको भाव र फूलका रङ्गीन पत्रहरूले एउटै सन्देश दिन्छन्— ‘जे छ, त्यो सत्य हो; जसले जीवनलाई करुणामय बनाउँछ, त्यो शिव हो; र जसले मनमा आनन्द भर्छ, त्यो सुन्दरम् हो।’
आधुनिक विज्ञानले ‘सत्य’ खोज्छ। विकासवादले फूल कसरी र किन बन्यो ? भन्ने कारण खोज्छ। गणितले त्यसको अनुपात र संरचना नाप्छ। तर मानिसले त्यही संरचनालाई हेरेर ‘सुन्दर’ भन्छ। यहाँ विज्ञानको तथ्य र चेतनाको अनुभूति एकै ठाउँमा भेटिन्छन्।
सत्यले फूल के हो ? भनेर बताउँछ। शिवम्ले जीवनसँगको सम्बन्ध देखाउँछ। र, सुन्दरम्ले त्यसलाई देख्दा मनमा उब्जने भावलाई व्यक्त गर्छ।
एउटा सामान्य देखिने कोषबाट पुतली निस्कन्छ र त्यसका पखेटामा अद्भुत रङहरूको समायोजन देखिन्छ। डकिन्सका लागि यो कुनै चमत्कार होइन, बरु विकासको एउटा लामो प्रक्रियाको नतिजा हो। तर वैज्ञानिक व्याख्याले यसको सुन्दरतालाई कम गर्दैन। बरु एउटा नयाँ प्रश्न खडा गर्छ— किन हाम्रो चेतनाले यस्तो संरचनालाई सुन्दर मान्छ त ?
संरचनामा गणितीय तालमेल हुन्छ। पुतलीको पखेटामा दायाँ–बायाँको बराबरीपन हुन्छ। शिवको निधारमा कोरिएको बुद्धको स्वरूपमा पनि एउटा सन्तुलन छ। फूलका पत्रहरूमा एउटा लय हुन्छ। मन्दिरका स्तम्भहरूमा निश्चित अनुपात हुन्छ।
प्रकृतिले गणित सिकाउन पुतली वा फूल बनाएको होइन। कलाकारले गणित सिकाउन मूर्ति बनाएका पनि होइनन्। तर ती संरचनामा गणितीय सम्बन्धहरू लुकेका छन्। त्यसलाई बुझ्ने क्षमता हाम्रो मस्तिष्कमा छ। त्यसैले फूलको सुन्दरतालाई ‘केवल प्रकृतिको सजावट’ वा ‘मानिसको भ्रम’ भन्नु अपूर्ण हुन्छ।
फूलको रङ, आकार र बनावट देखिन्छ। ती सबै मिलेर आउने ‘सुन्दरता’ कुनै भौतिक वस्तु मात्र होइन। समय र त्यसको मापनबीचको भिन्नताजस्तै, फूल र सौन्दर्यबीच पनि एउटा सूक्ष्म अन्तर छ। समयको महसुस चेतनाद्वारा हुन्छ, र सौन्दर्यको अनुभव पनि चेतनाकै उपज हो। त्यसैले सौन्दर्य वस्तु र हाम्रो चेतनाबीचको एउटा मिलन हो।
अन्ततः प्रकृतिले पृथ्वीलाई सजाउनका लागि मात्र फूल बनाएको नहुन सक्छ। तर प्रकृतिले ती संरचनाहरू बनायो र हाम्रो चेतनाले ती संरचनाभित्र सुन्दरता खोज्ने यात्रा सुरु गर्यो। त्यसैले जुलियटको त्यो बालसुलभ जवाफ वैज्ञानिक रूपमा गलत भए पनि भावनात्मक रूपमा अर्थपूर्ण थियो। उनले प्रकृतिको उद्देश्यभन्दा पनि मानिसको अनुभवलाई व्यक्त गरिरहेकी थिइन्।
शायद यहीँ पुगेर पूर्वीय दर्शन र आधुनिक विज्ञान एउटै फूलमुनि एकसाथ उभिएका छन्। प्रकृतिले फूललाई सुन्दर बनाउन होमोसेपियन्सको कालसम्म पर्खिएको थिएन। तर मानिसको आगमनसँगै त्यो फूलले एउटा नयाँ अर्थ पायो।
प्रतिक्रिया 4