१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको बन्दसत्रका लागि तीनवटा हल तयार पारेको छ ।
खुलामञ्च क्षेत्रमै तयार पारिएका हलका नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’ राखिएको छ ।
तीनवटै हलको मुख्य प्रवेशद्वार माथि भौगोलिक विशेषता जनाउने चित्र अंकित छन् ।
पार्टी झण्डा र चुनाव चिह्न अनुसार हललाई रातो, सेतो र हरियो थिममा तयार पारिएको छ ।
आज उदघाटन समारोह सकिएपछि यिनै हलमा भोलि र पर्सि बन्दसत्र हुनेछ ।
बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । एउटा हलमा २५ सय प्रतिनिधि अट्ने प्रबन्ध मिलाइएको सूचना, सञ्चार र प्रविधि समिति सदस्य मोहन गजुरेलले जानकारी दिए ।
उनका अनुसार प्रत्येक हलमा कुलर पंखाको पनि व्यवस्था गरिएको छ ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरुले छलफल गर्ने र निष्कर्ष सुनाउने कार्यक्रम छ ।

बन्दसत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड पनि राखिएको छ । एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरुले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यस व्यवस्थाले ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सकिने कांग्रेसको अपेक्षा छ ।

प्रतिक्रिया 4