
२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। विसं. २०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरेर बाहिरिएका अधिकारी राष्ट्र बैङ्कमा गभर्नरका रुपमा कमब्याक भएका छन् ।
उनको कमब्याकलाई बैङ्क तथा वित्तीय क्षेत्रले कसरी हेरेको छ ? हामीले नेपालका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वकर्तालाई सोधेका छौं । प्रायः सबैले अधिकारीको कमब्याकले उर्जा दिएको बताए । बैङ्किङ क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति आएको भन्दै उनीहरुले खुशी प्रकट गरे ।
उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै-
भुवन दाहाल, अध्यक्ष, बैंकर्स संघ
महाप्रसाद अधिकारी जो नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त हुनुभएको छ । लामो समय राष्ट्र बैङ्कमा काम गर्नुभएको वहाँ नेपालको बैङ्किङ क्षेत्रलाई राम्रोसँग बुझ्नुभएको व्यक्ति हो ।
राष्ट्र बैङ्कको नियमन र सुपरीवेक्षणमा लामो समय काम गर्नुभएका कारण वहाँमा बैङ्किङसम्बन्धी धेरै ज्ञान छ ।
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा त्यसबेला गभर्नर हुनुहुन्थ्यो । वहाँ गभर्नरका रुपमा सफल हुनुमा पनि महाप्रसाद सरको ठूलो देन छ । वहाँले नीति राम्रो बनाउन सक्नुहुन्छ । वहाँजस्तो मान्छे आउनुभएकोमा हामी खुशी छौँ ।
वहाँलाई मैले राम्रोसँग चिनेको छु। वहाँ नेतृत्व गर्न सक्ने व्यक्ति हो । वहाँ नेतृत्वको वासेल-२ को कमिटिको म सदस्य नै थिएँ । वहाँ सबैको सल्लाह लिएर नै निर्णय लिनहुन्छ । म नै ठूलो हुँ भनेर अहङ्कार छैन । बानी व्यवहार पनि शिष्ट छ । कुनबेलामा कस्तो हुनुपर्ने भन्ने कुरा वहाँमा ज्ञान छ ।
सरकारले गर्भनर बनाउने जुन निर्णय गर्यो, हामी स्वागत गर्छौँ । वहाँको पथप्रदर्शनमा हामी अब काम गर्नेछौं । वहाँको कार्यकाल सफल रहोस् भन्ने पनि कामना छ ।
गणेशराज पोख्रेल, सीईओ, सिटिजन्स बैङ्क
महाप्रसाद अधिकारी सर सरल, असर र ज्ञानी मान्छे हो । वहाँसँग बैङ्किङ क्षेत्रको लामो अनुभव छ । वहाँ नेपाल राष्ट्र बैङ्कको क्याडर हो । वहाँजस्तो व्यक्तिलाई बैङ्किङ क्षेत्रले पाउनु भनेको हामीमाथि उर्जा थपिनु जस्तै हो । बैङ्किङ क्षेत्रलाई सही बाटोमा लैजान एउटा असर व्यक्तिको प्रवेश भयो भन्ने लाग्छ ।
वहाँले बैङ्किङ क्षेत्रलाई नजिकबाट नियाल्नुभएको छ । गाह्रो अवस्था पनि हेर्नुभएको छ, सहज अवस्था पनि वहाँले हेर्नु भएको छ। यसले समग्र बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुग्नेछ । विषयवस्तुहरुको राम्रो ज्ञान भएको वहाँ धैर्यवान पनि हुनुहुन्छ ।
चार्टर्ड एकाउन्टेन समेत रहनुभएका वहाँको कार्यकालको म शुभकामना दिन चाहन्छु ।
वहाँको नेतृत्वमा सबैलाई राम्रो फाइदा हुन्छ । सिफारिस हुनु भएकाहरु सबै राम्रा मान्छे हुनुहुन्छ। नेतृत्व गर्न सक्ने क्षमता सबैमा भए पनि त्यसमध्येबाट एकजना छान्नुपर्ने थियो, वहाँ एकदमै नेतृत्व गर्न सक्ने मान्छे हो ।
गोविन्द ढकाल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसिएसन
महाप्रसाद अधिकारी सर डेपुटी गभर्नर हुँदा नै वहाँसँग मिलेर धेरै काम गर्ने अवसर पाइयो । उहाँ बैंकिङ बुझेको र यो क्षेत्रलाई कसरी अघि बढाउँदा राम्रो हुन्छ भन्ने कुराको राम्रो ज्ञान भएको मान्छे हो । वहाँ डेपुटी गभर्नर हुँदा नै वहाँको ज्ञान र क्षमताको हामीले प्रशंसा गरेका थियौं ।
अहिले वहाँ नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा नियुक्त हुनुभएको छ । राष्ट्र बैंकले एउटा योग्य मान्छे गभर्नरका रुपमा पाएको छ भन्ने मलाई लागेको छ । वहाँ अध्ययन गर्ने दीर्घकालीन असरका विषयमा राम्रोे सोच विचार गरेर निर्णय गर्न सक्ने मान्छे हो ।
वहाँ डेपुटी गभर्नर हुँदा अहिलेको अर्थमन्त्री डा. युवराज खतिवडा सर गभर्नर हुनुहुन्थ्यो ।
त्यसबेला वहाँले राम्रो काम गर्नुभयो। वहाँ नेतृत्व गर्न सक्ने मान्छे हो भन्ने त लगानी बोर्डको सीईओ हुँदा पनि पुष्टि भयो । वहाँले लगानी बोर्डमा विवादरहित तरिकाले नेतृत्व सम्पन्न गरिसक्नुभएको छ ।
आशा गरौं, उहाँले राष्ट्र बैंकमा उहाँको नेतृत्वले बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुग्छ । वहाँले सबैसँग समन्वय गरेर निर्णयहरु लिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
कृष्णराज लामिछाने, पूर्वअध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसिएसन
विकास बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनको म दुई कार्यकाल अध्यक्ष हुँदा महाप्रसाद अधिकारी सर राष्ट्र बैंकमै हुनुहुन्थ्यो ।
वहाँ डेपुटी गभर्नर हुँदा विकास बैंकहरुले वाणिज्य बैंकहरुमा राखेको कल एकाउन्टको ब्याज नदिने भनेर हुँदा राष्ट्र बैंकले एउटा निर्णय गरेछ । त्यो निर्णय भएको मैले अनौपचारिक माध्यमबाट थाहाँ पाए ।
मैले तत्कालै वहाँ सम्पर्क गरेर भेट्न समय मागें । हामीले २५ वटा सुझावहरु दिएका थियौं । २५ वटामा २४ वटा सबै सुझाव कार्यान्वयन नगरे पनि हुन्छ, तर यसो गर्नु भएन भनें । वाणिज्य बैंकहरुले हामीलाई ब्याज दिँदा सरकारलाई के असर गर्छ र भनें । हाम्रो कुरामा वहाँ कन्भिन्स हुनुभयो । निर्णय भएको थियो । तर, सर्कुलर भएको थिएन । वहाँ त्यसबाट ब्याक भइदिनुभयो ।
वहाँ सुन्न र बुझ्न सक्ने मान्छे हो । यसका लागि पनि अनुभव चाहिन्छ । त्यो वहाँमा छ । कहिलेकाहीँ कस्तो हुन्छ भने इमर्जेन्सी भेट गर्नुपर्ने हुन्छ । वहाँले त्यो कुरा बुझ्नु हुन्छ ।
उहाँ जिरो लेभलमा समेत बसेर काम गर्नु भएको मान्छे हो । वहाँ राष्ट्र बैंकको क्याडर हो । अझ लगानी बोर्डमा समेत बसेका कारण वहाँसँग धेरै अनुभव छ । वहाँजत्तिको मान्छे पाउनु खुसीको कुरा हो ।
सरोजकाजी तुलाधर, अध्यक्ष, वित्त कम्पनी संघ
सबैभन्दा ठूलो कुरा महाप्रसाद अधिकारी सर राष्ट्र बैंककै क्याडर हुनुहुन्छ । वहाँ एकदमै प्रोफेसनल व्यक्ति हो । अहिलेको अर्थमन्त्री डा. युवराज खतिवडा सर गभर्नरका रुपमा सफल हुनुभयो, त्यसमा महाप्रसाद सरको पनि ठूलै भूमिका छ ।
बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझ्नुभएको वहाँ राष्ट्र बैंकको नेतृत्व गर्नसक्ने मान्छे हो । वहाँ राष्ट्र बैंकको नेतृत्वमा आउनुभएको छ, यो एकदमै राम्रो कुरा हो । राष्ट्र बैंक र हाम्रो एशोसिएसनको सम्बन्ध राम्रो हुन्छ । समन्वय भइरहने छ भन्नेमा हामी ढुक्क छौं ।
वहाँ आफ्नो प्रोफेसनल्ली हिसाबले काम गर्नुहुन्छ । हामीले पनि व्यक्तिगत फाइदा होइन, समग्र क्षेत्रको कुरा गर्ने हो । वहाँसँग मैले नजिकबाट काम गर्ने मौका पाएको छु । वहाँ एकदमै सकारात्मक मान्छे हो । वहाँलाई कन्भिन्सचाहिँ गर्न सक्नु पर्छ । त्यतिकै हावाको भरमा होइन, लजिकल कुरा गर्ने हो भने वहाँ मान्नुहुन्छ ।
प्रतिक्रिया 4