Comments Add Comment

बिरामीको प्रत्यक्ष सम्पर्कबिनै उपचार गर्ने प्रविधि भित्रियो

सेती प्रादेशिक अस्पताल धनगढीमा भित्राइएको कोभिड–१९ टेस्टिङ बुथ

२५ चैत, धनगढी । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका उपकरण अभाव भएपछि यतिबेला स्वास्थ्यकर्मीहरू कोरोना भाइरस सर्छ कि भनेर सामान्य उपचार गर्न पनि हिच्किचाइरहेका छन् । कतिपय निजी अस्पतालले त असुरक्षित भएको भन्दै शंकास्पद बिरामीलाई उपचार गर्नै मान्दैनन् ।

तर, कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले भने बिरामीसँग प्रत्यक्ष सम्पर्कबिनै सुरक्षितपूर्वक उपचार गर्ने प्रविधि भित्राएको छ । बिरामीको प्रत्यक्ष सम्पर्कबिनै उपचार गर्न सकिने कोभिड–१९ टेस्टिङ बुथमार्फत अस्पतालले उपचार थाल्दैछ ।

कोरोना भाइरस टेस्टिङ बुथ दक्षिण कोरियाले विकास गरेको प्रविधि हो । नेपालमा भने यो प्रविधि राष्ट्रिय आविष्कार केन्द्रले भित्राएको हो । केन्द्रले सेती प्रादेशिक अस्पताललाई एउटा बुथ प्रदान गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले बुथ सुरक्षाका हिसाबले राम्रो भएको बताए । डा. जोशीले अनलाइनखबरसँग भने, ‘टेस्टिङ बुथ हिँजो साँझ आइपुग्यो । सुरक्षाको हिसाबले राम्रो लाग्यो । त्यसलाई आजबाट प्रयोगमा ल्याउँछौं ।’

केन्द्रका वैज्ञानिक सुमन पौडेलका अनुसार, राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग तथा काइचो ग्रुप र आरएएन (RAN) फार्बेस्टको प्राविधिक सहयोगमा बुथ तयार गरिएको हो । स्थानीय स्रोत र साधन प्रयोगमार्फत करिब ७० हजार लागतमा ३ दिनमा बुथ तयार गरेर निःशुल्क हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ ।

बुथमा के–के छ ?

कोरोना संक्रमणको त्रासले स्वास्थ्यकर्मी उपचार गर्न हिच्किचाइरहेका बेला विकास भएको प्रविधि फलदायी हुने ठानिएको छ । बुथमा स्वास्थ्यकर्मीलाई अक्सिजन कमी हुन नदिन एक्जिस्टिङ पंखा राखिएको छ । त्यस्तै, रातिको समयमा बिरामी जाँचका लागि नाइट लाइट र सिसाभित्रबाटै सफा गर्न म्याग्नेटिक ग्लास क्लिनरको प्रबन्ध गरिएको छ ।

केन्द्रका अनुसार, स्वास्थ्यकर्मीले बिरामीसँग संवाद गर्न अडियो सिस्टम पनि बुथमा जडान गरिएको छ । यति मात्रै होइन, बिरामीको ज्वरो जाँचका लागि थर्मलगन पनि बुथभित्रै झुण्ड्याइएको छ ।

बुथले पीपीईको बढ्दो माग र अभावलाई कम गर्न मद्दत केन्द्रका वैज्ञानिक सुमन पौडेल बताउँछन् ।

कोरोनाको प्रकोपपछि प्रविधि भित्राएको केन्द्रले १/२ दिनमै यस्ता बुथ निर्माण गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment