Comments Add Comment

प्रधानमन्त्री ओलीको सम्बोधनका तीन सन्देश

२५ चैत, काठमाडौं । मौन बसेको भन्दै पार्टीभित्र र बाहिर सोधीखोजी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार टेलिभिजन सम्बोधन गरेका छन् ।

करिव २४ मिनेट लामो सम्बोधन गरेका उनले लिखिक वक्तव्य पढेका थिए । त्यसक्रममा उनले कोरोन भाइरस (कोभिड -१९)को रोकथामका लागि सरकारले गरिरहेको कामबारे जानकारी मात्र दिएनन्, प्रष्ट तीन सन्देश दिएका छन् ।

लकडाउन अझै लम्बिन सक्छ, जनता तयार होऊ

दोस्रो कोरोना संक्रमित भेटिएपछि सरकारले ११ चैतबाट लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको समय (२५ चैत) सकिनु अघि नै बुधबार मन्त्रिपरिषद्ले लकडाउन ८ दिन लम्ब्याउने निर्णय गर्‍यो ।

थपिएको लकडाउन सुरु हुनुहघि सम्बोधन गरेका प्रधानमन्त्री ओलीले यो अझ लम्बिन सक्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो ।’

आगामी दुई साता चुनौतीपूर्ण समय हो भने ३ वैशाखपछि पनि लकडाउन लम्बिने सहजै अनुमान गर्न सकिन्छ ।

‘अनाश्वयक’ प्रश्न नगर

समयमा लकडाउनको निर्णय गरेको भन्दै प्रशंसा बटुलेको सरकार स्वास्थ्य सामाग्री खरिदको विवादमा फस्यो ।

पूर्वतयारीका लागि पर्याप्त समय पाएर पनि समयमा खरिद नगरेको र अन्तिम समयमा आफ्नो निकटवर्तीहरुको ओम्नी समूहलाई महंगो मूल्यमा ठेक्का दिएको भन्दै आलोचना भयो । स्वयं सरकारी अधिकारीले बढी मूल्य परेको स्वीकार गरे । लगत्तै सम्झौता नै रद्द गरेपछि आपतको बेलामा समेत स्वास्थ्य सामाग्री खरिदमा गडबडी भएको जनमानसमा जबरजस्त स्थापित भयो ।

स्वास्थ्य सामाग्री आपूर्ति गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयको पनि चर्को आलोचना भएको छ ।

तर, प्रधानमन्त्री ओलीले ‘निराधार आरोप र मिथ्या प्रचार’ भनेर सरकारमाथि उठेका प्रश्नहरु पन्छाइदिएका छन् ।

समयमै आपूर्ति नगरेको तर्कलाई अस्वीकार गर्दै उनले मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप-प्रत्यारोप समेत चलिरहेको तर्क गरेका छन् भने नेपाली सेनालाई स्वाथ्य सामाग्री आपूर्तिको जिम्मा दिने निर्णयतर्फ विशेष व्यवस्था भनेका छन् ।

साथै सरकारका कामबारे संवैधानिक अंगहरुहरुले अध्ययन गर्ने भन्दै उनले कामै गर्न नसक्ने वा प्रक्रिया सुरु हुन नसक्ने गरी ‘आधारहीन’ प्रश्न गर्दा काम गरिरहेकाहरुलाई निरुत्साहित गर्न तर्क गरेका छन् ।

‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन,’ उनले भने ।

कोरोना भाइरस संक्रमणको टेष्ट निकै सुस्त भएको भन्दै विज्ञहरुले औल्याएको कमजोरी पनि उनले स्वीकार गरेनन् । सातै प्रदेशमा पीसीआर प्रविधिबाट परीक्षण शुरु गरिएको र उच्च जोखिममा रहेका जिल्लाहरुमा र्‍यापिड डिटेक्सन टेस्ट विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको बताए ।

रक्षाकवच बन्नेछु

स्वास्स्थ्य सामाग्री खरिद भनिएको अनियमिता लगायतका प्रकरणमा सिंगो सरकारभन्दा केही मन्त्री र पदाधिकारीमाथि प्रश्न उठेको थियो । मंगलबारको टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्ने क्रममा कुनै कमजोरीको भए आफू वा सम्बन्धित निकायले हेर्छु भनेनन् ।

बरु विवादमा तानिएका पत्रहरुको बचाउ गरेका छन् । उनले भनेका छन्, भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment