
३० चैत, काठमाडौं । कोभिड १९ महामारी विरुद्धको लडाइमा संसदको भूमिका के हुने भन्ने बारेमा आइतबार दुवै सदनका प्रमुख र कानुनमन्त्रीबीच छलफल भएको छ । संसदको अधिवेशन अन्त भइसकेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदको भूमिका बारेमा छलफल गरेका हुन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र संघीय संसदले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको थियो ।
छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका छन् ।
सभामुख र अध्यक्षले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका छन् ।
काननुनमन्त्री तुम्बाहाङ्फेलाई चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग समन्वय गर्ने जिम्मेवारी दिएको छ । यसअघि उनले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरेकी थिइन् ।
प्रतिक्रिया 4