Comments Add Comment

कोरोना रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश निषेध

काठमाडौं छाडेर जान पनि नपाउने

२५ वैशाख, काठमाडौं । वैशाख २६ गते सुरु  हुने स‌ंसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना स‌ंक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । यदि रिपोर्टमा संक्रण देखिएको पाइए  बैठकमा सहभागी हुन पाउने छैनन् ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।

काठमाडौं बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानैदेखि हुनेछ । उनीहरु रिपोर्ट नआई संसद बैठकमा भाग लिन नपाउने भएकाले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट वञ्चित हुने सम्भावना छ ।

चौधरीले भनिन् ‘यसबीचमा हामी सांसदहरु धेरै जनताको बीचमा राहत र मेडिकल सामाग्री लिएर गाउँ गाउँ पुगेका छौं । सांसदको कोरोना परीक्षणले ती क्षेत्रका जनतालाई समेत ढुक्क हुनेछ । रिपोर्ट नदेखाई बैठकमा भाग लिन नदिने कुरा त्यसकारण आएको हो । सांसदमै संक्रमण भेटियो भने त सबैलाई असर गर्छ ।’

सचिवालयले राजधानी बाहिर रहेका सांसदहरुलाई पनि स्वाब संकलनका लागि बोलाइसकेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।

संसद बैठकको ग्यापमा सांसदहरु निर्वाचन क्षेत्र जाने प्रचलन रहेकाले संक्रमणको जोखिम रोक्न यस्तो निर्णय भएको हो । अब संसद अधिवेशनभर कुनै पनि सांसद निर्वाचन क्षेत्रमा जान पाउने छैनन् ।

यो पनि पढ्नुहोस चस्मा लगाएर संसदमा छिर्न नपाइने ! कलम, डायरी र औषधि पनि निषेधित यो पनि पढ्नुहोस नीति तथा कार्यक्रम जेठ २ गते, वैशाख २८ गते प्री-बजेट छलफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment