Comments Add Comment

एन्फा विवाद : भाइबर ग्रुपमा कमेन्ट गर्दा ललितपुर अध्यक्ष निलम्बित

६ जेठ, काठमाडौं । कोभिड–१९ का कारण अरु खेल जस्तै नेपाली फुटबल पनि ठप्प छ । तर फुटबललाई चलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तरिक विवाद भने गर्माएको छ । त्यसको कारण हो, ललितपुर जिल्ला अध्यक्षको निलम्बन ।

एन्फाले ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई जेठ ५ गते निलम्बन गरेको हो । यो निलम्बन विधान विपरीत काम गरेको भन्दै आलोचना पनि भइरहेको छ ।

किन निलम्बनमा परे थापा ?

कर्मा छिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचित भएको वैशाखमा दुई वर्ष पूरा भएको छ । लामो समय एन्फाको नेतृत्वमा रहेका गणेश थापाको समूहलाई पन्छाएर शेर्पा नेतृत्वमा आएका थिए । उनीहरुले आफूहरु निर्वाचित भएको दिन वैशाख २२ लाई एन्फा दिवस मनाउने निर्णय गरेका छन् ।

यसवर्ष बृहत रुपमा एन्फा दिवस मनाउने तयारी भएपनि कोभिड–१९ र लकडाउनकाकारण सम्भव भएन । एन्फा अध्यक्ष शेर्पाले दिवसको अवसरमा सन्देश दिए ।

वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले ए, बी र सी डिभिजन क्लबको भाइबर ग्रुपमा शुभकामना दिए । त्यसमा ललिपुर जिल्ला अध्यक्ष थापाले ‘आज एन्फा डे होइन, यो चोरहरुको श्री गणेश डे हो’ भनेर प्रतिक्रिया दिए ।

त्यहीँबाट विवाद सुरु भएको हो । अपशब्द लेखेको भन्दै थापालाई स्पष्टीकरण माग्दै एन्फाले वैशाख २४ गते पत्र पठाएको थियो । स्पष्टीकरणमा थापाले आफूहरुले चुनाव हारेको दिन कसरी एन्फा दिवस मनाउने ? कसरी निर्णय भयो लगायतका प्रति प्रश्न गरे । साथै फिफा वा एएफसीसँग आवद्ध भएको दिन वा अरु कुनै दिनलाई एन्फा दिवस मनाउन माग गरे ।

यद्यपि आक्रोशमा बोल्दा गल्ती भएको भए माफी माग्ने भन्दै वैशाख २६ गते जवाफ पठाए । त्यसको १० दिनपछि एन्फाले ललितपुर जिल्ला अध्यक्ष थापालाई निलम्बनको पत्र पठायो, जसमा ललितपुर जिल्ला संघका महासचिवलाई बोधार्थ दिइएको थियो ।

निलम्बन एन्फाको आगामी साधारणसभासम्म भनिएको छ । ‘एन्फाको आगामी साधारणसभासम्मा लागि थापालाई अस्थायी निलम्बन गरिएको हो’ एन्फाका एक पदाधिकारीले भने ।

निलम्बनमा परेका थापाले भने प्रतिशोधपूर्ण निर्णय भएको भन्दै त्यसविरुद्ध अपिल कमिटी र राष्ट्रिय खेलकुद परिषदमा जाने बताए । ‘चुनावी प्रतिशोधका कारण यो निर्णय भएको हो । यसविरुद्ध राखेप र एन्फामा अपिल गर्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment